काठमाडौं। राइड सेयरिङ कम्पनी स्थापनाको होडमा फेरि अर्काे सेवाप्रदायक प्रवेश भएको छ। इनड्राइभ, पठाओ, जुमजुम, सजिलो, टुटल, ईड्राइभ, ट्याक्सीमान्डुजस्ता दर्जनाैं एप यसअघि नै रहे पनि फेरि यांगो राइड सेयरिङले काठमाडौं उपत्यका प्रवेश गरेको छ। रुसी प्रविधि कम्पनी यान्डेक्सको सहायक ब्रान्ड यांगो नेपाली कम्पनी ट्याक्सीमाण्डुसँगको सहकार्यमा भित्रिएको हो।
राइड सेयरिङका नाममा धेरै कम्पनी खुल्ने तथा भित्रिने गरे पनि बजारमा केही मात्रै राम्रोसँग चलिरहेका छन्। केही कम्पनीले मात्रै बजारमा राम्रो उपस्थिति जनाइरहेको समय फेरि अर्काे कम्पनीको प्रवेश भएको हो। दुबईको युएईमा मुख्यालय रहेको यांगो ग्रुपद्वारा सञ्चालित यांगो एप काठमाडौंमा परीक्षण चरणमा सुरु भएको छ।
यांगोले टेक्नोलोजी–पाटर्नरसिपमार्फत स्थानीय ट्याक्सी र बाइक ड्राइभरलाई सहज रूपमा ग्राहकसँग जोड्ने काम गर्छ। एपमार्फत रियल–टाइम, ट्राफिक ट्रयाकिङ, २० बढी सुरक्षा सुविधा उपलब्ध गराएको छ।
यांगो नेपालमा विशेषगरी विद्यार्थी र युवा वर्गका मानिसलाई टार्गेट गरेर ल्याएको ट्याक्सीमाण्डुका प्रबन्ध निर्देशक अर्जुन केसी बताउँछन्। ‘नेपालको सडकमा हुने सकसपूर्ण यात्रालाई व्यवस्थित गर्ने उद्देश्यले विभिन्न कम्पनीले राइड सेयरिङ एप सञ्चालन गरेका छन्,’ प्रबन्ध निर्देशक केसीले भने, ‘तर, अहिले जनस्तरमा राइड सेयरिङको मूल्य एकदमै धेरै भएकाले कति मानिसरूले अफोर्ड गर्न सकिरहेका छैनन्। त्यसकारण जनताले सर्वसुलभ तरिकाले राइड सेयरिङ प्रयोग गर्न पाउन् भन्ने उद्देश्यले हामीले यांगो ल्याएको हो।’
नेपालमा यांगोले जुन अफर राखिरहेको छ, त्यो हेर्दा जनमानसमा राइड सेयरिङ पुगेको छ भन्ने महसुस भइरहेको छ। यांगोमा ट्याक्सीको कम्तीमा मूल्य १८० रुपैयाँ छ। सस्तो भएका कारण तीन चार जना साथी मिल्यो भने ट्याक्सीमा पनि यात्रा गर्न सकिने सुविधमा यांगोमा भएको प्रबन्ध निर्देशक केसी बताउँछन्।
यांगोको बाइकमा सुरू मूल्य ४० रुपैयाँ छ। यो भनेको विद्यार्थीदेखि लिएर निम्न वर्गका यात्रुले पनि अफोर्ड गर्न सक्ने मूल्य भएको उनको भनाइ छ। ‘यांगोले कसैसँग प्रतिस्पर्धाभन्दा पनि सबैले प्रयोग गर्न सक्ने गरी सेवा दिन खोजेको छ,’ केसीले भने, ‘अहिले नेपालमा यांगो ट्रायल फेजमा भएपनि एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ।’
अहिलेसम्म ४० हजार धेरै बाइक राइडर यांगोका छन्। ‘ट्याक्सीका राइडर ७ हजार पुगिसकेका छन्,’ प्रबन्ध निर्देशक केसी भन्छन्, ‘यांगोले नेपाल प्रवेश गरेको छोटो समयमै राम्रो प्रतिक्रिया आइरहेको छ। यांगोमा दैनिक एक लाखभन्दा धेरै प्रयोगकर्ताको अनुरोध छ।’
यांगो कम्पनी
यांगो एक विश्वव्यापी ‘टेक्नोलोजी’ कम्पनी हो, जसले अफ्रिका, ल्याटिन अमेरिका, युरोप र दक्षिण एसियालगायत क्षेत्रमा राइड, डेलिभरी, फुडटेक तथा डिजिटल सेवा प्रदान गर्दै आएको छ। अब यही प्रविधि नेपाली प्रयोगकर्ताको हातमा आइपुगेको हो।
यांगो यान्डेक्स ट्याक्सीअन्तर्गत ब्रान्डको रुपमा उत्पत्ति भएको कम्पनी हो। यो एप युरोप, अफ्रिका, मध्यपूर्व र दक्षिण एसियाका ३० भन्दा बढी देशमा सञ्चालन भइरहेको छ।
यांगोले टेक्नोलोजी–पार्टनरसिपमार्फत स्थानीय ट्याक्सी र बाइक ड्राइभरलाई सहज रूपमा ग्राहकसँग जोड्ने काम गर्छ।
यांगोले राइड हेलिङ, डेलिभरी र डिजिटल समाधानसहित विभिन्न सेवा दिँदै आएको छ। कम्पनीले प्रविधिमा आधारित सहज सेवा, प्रतिस्पर्धी भाडा दर र प्रयोगकर्ताको अनुभवलाई प्राथमिकता दिने बताउँदै नेपाली बजारमा आफ्नो स्थान बनाउन खोजेको छ। सेवा सञ्चालनको एक वर्षसम्म ३ प्रतिशतभन्दा बढी कमिसन नलिने घोषणा गरेको छ।
यांगोले पठाओ र इनड्राइभलाई चुनौती देला?
गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ सेवा र सेल्फ ड्राइभ प्रणालीलाई कानुनी मान्यता दिएको भन्दै गत महिना त्यस नियमावलीको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभर यातायात सेवा ठप्प बनाएको थियो। यस्तो अनिश्चितता देखिएकै समय नीति बन्ने मा विवाद भए पनि को समय पनि यस्ता कम्पनी खुल्ने/भित्रिने क्रम जारी छ।
असार ११ मा सर्वोच्च अदालतले राइड सेयरिङ सेवालाई बन्द नगर्न गण्डकी प्रदेश सरकारका नाममा आदेश जारी गरेपछि भने यो सेवा सञ्चालनको अवरोध हालका लागि हटेको छ।
हाल नेपालमा पठाओ, इन्ड्राइभ, टुटल, सहारा, जुमजुम, ट्याक्सीमाण्डुलगायतका कम्पनीले सेवा दिइरहेका छन्। अब यसमा यांगो पनि प्रतिस्पर्धीको रुपमा थपिएको हो। पठाओ, इनड्राइभ, टुटल र जुमजुमजस्ता प्लेटफर्मको नेतृत्वमा नेपालको राइड सेयरिङ बजार द्रुत गतिमा बढिरहेको छ।
पठाओले प्रमुख सहरमा राइड सेयरिङ, खाना डेलिभरी र पार्सल सेवा प्रदान गर्छ भने इनड्राइभले चालक र यात्रुबीचको भाडा वार्तामा काम गर्छ, जुन नेपालमा सबैभन्दा धेरै डाउनलोड गरिएको एप बनेको छ।
नेपालमा २०७३ देखि राइड सेयरिङ एप सुरु भएको थियो। यातायात क्षेत्रमा नयाँ आयाम थप्ने क्रममा पहिलो राइड सेयरिङ एपको रुपमा २०७३ मा टुटल सञ्चालनमा आएको थियो। यसले अनेकन सुविधासहितको सेवा ल्याएको थियो। तर, पछि प्राविधिक समस्याका कारण केही समय चल्न सकेन। अहिले यसले आफ्नो एप फिचरमा परिवर्तन गरी सञ्चालनमा ल्याएको छ।
टुटुलपछि नेपालमा धेरै राइड सेयरिङ एप सञ्चालनमा आए धेरै बन्द पनि भए। हाल राइड सेयरिङ एप बढ्दै गएको छ।नेपालमा ६० देखि ७० वटा राइड सेयरिङ एप खुले पनि धेरै राइड सेयरिङ एप बन्द भइसकेका छन्।
अन्य राइड सेयरिङभन्दा फरक के छ
यांगोको एक प्रमुख भिन्नता यसको कमिसन संरचना हो। यांगो प्रयोगकर्ताका लागि यो एकदमै सस्तोमा रहेको छ। पठाओ र इनड्राइभभन्दा फरक यांगोले प्रतिसवारीमा केवल ३ प्रतिशत मात्र कमिसन लिनेछ। यो कमिसन यांगो आफैंले नलिएर पाटर्नरले ३ प्रतिशत कमिसन लिनेछन्। यांगोको कुनै बार्गेनिङ सिस्टम छैन। पठाओजस्तै यसको पनि निश्चित मूल्य तोकिएको हुन्छ।
यांगोले स्थानीय ट्याक्सी अपरेटर र चालकसँग सहकार्य गर्ने र ग्राहकलाई सस्तो भाडा दिने योजना बनाएको छ। हाल सञ्चालनमा रहेको पठाओ तथा इनड्राइभले सीधै राइडरसँग डिल गरेर काम गर्ने गर्छ तर यांगो योभन्दा फरक रहेको प्रबन्ध निर्देशक केसीको तर्क छ। विश्वमै यांगोको मोडालिटी भनेको स्थानीय भेन्डरसँग सहकार्य गरेर काम गर्ने हो।