काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर आइतबार बाहिरिएसगै निमित्त वा कायम मुकायमको जिम्मेवारी कसले लिने भनेर होडबाजी चलेको छ ।
सरकारले नयाँ कार्यकारी निर्देशक ल्याउनका लागि आवश्यक प्रक्रिया नै नथालेपछि निमित्त वा कायम मुकायम लिन प्राधिकरणका तीन जना व्यक्तिहरु शक्तिकेन्द्र धाउन थालेका छन् ।
तर, प्राधिकरणका उच्च तहमा रहेका कर्मचारीहरु वरिष्ठतमलाई निमित्त वा कायम मुकायम दिनुपर्ने बताउँछन् । ‘थिति बिगार्नु हुन्न्, वरिष्ठत्मलाई दिँदा राम्रो हुन्छ,’ एक अधिकृतले क्यापिटल नेपालसंग भने, ‘यसलाई उसलाई भन्दा पनि बरिष्ठतालाई मुख्य आधार मानेर कायममुकायम वा नित्तिम दिँदा राम्रो हुन्छ र यसले पछिल्ला दिनमा पनि नजिर बस्छ ।’
प्राधिकरण ऐन २०४१ र कार्यकारी प्रमुखको नियुक्ति सुविधा सम्बन्धि बिनियमावली तथा सार्बजनिक संस्थाको प्रमुख छनौट सम्बन्धि ब्यवस्थाअनुसार प्राधिकरणको कार्यकारी निर्देशक छनौट गर्न समय लाग्ने देखिन्छ ।
नियमानुसार छनौटको लागि मन्त्रालयले एक समिति गठन गर्नुपर्ने र मन्त्रिपरिषदबाट समितिले सिफासिर गरेको नाम अनुमोदन हुनुपर्ने हुन्छ । समितिले सार्वजनिक सूचना मार्फत निवेदन माग गरी प्राप्त निवेदन उपर कारबाही गरी मन्त्रालय मार्फत मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने र निर्णय पश्चात मात्र नयाँ कार्यकारी निर्देशकले नियुक्ति पाउनेछन् ।
तर, सरकारले भदौ २७ गतेसम्म प्रक्रिया सुरु नगरे पछि रिक्त पदमा प्रधिकरणकै १२ तहका कर्मचारीबाट निमित्त वा कायम मुकायम तोक्नु पर्ने बाध्यता रहेको छ । प्राधिकरणमा १२ तहमा कार्यरत बरिष्ठतम उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य हुन् भने त्यसपछिको क्रममा लेखनाथ कोईराला १ बर्षपछि निर्देशक भएका र हरराज न्यौपाने २ बर्ष पछि मात्रै निर्देशक भएका हुन् ।
कुलमान घिसिङ गएपछि प्राधिकरणको बागडोर सम्हाल्न अस्थायी नै भए पनि बिविध अनुभव र प्राविधिक विज्ञता भएको ब्यक्ति चाहिन्छ ।
शाक्य उत्पादन, प्रशारण र योजनामा विज्ञता सहित चिलिमे आयोजनाको शुरुआती दिनदेखि संलग्न प्राधिकरणभित्रको अलग्गै कम्पनीको कार्यकारी प्रमुखको जिम्मेवारी र नयाँ कम्पनीलाई सञ्चालन गरी सफलतामा पुर्याएको समेत अनुभव छ ।
त्यस्तै बरियतामा तेस्रो नम्बरमा रहेका हरराजले प्राधिकरणको आयस्रोत एवं देशभर छरिएर रहेका कार्यालयको सञ्जालको रुपमा रहेको वितरण तथा ग्राहक सेवामा कार्य गरेको अनुभव छ ।
‘संस्थामा कर्मचारी मध्येबाट छनौट गर्दा बरिष्ठतालाई सामान्यतया कायम गरिने र संगठन भित्रको ब्यवस्था नबिथोलियोस्’ प्राधिकरणका ती अधिकारीले भने ।
बिषेशगरी अहिलेको प्राधिकरणको बिशेष परिस्थितिमा सरकारले यो कुरा अझ बढी ख्याल राख्नु पर्ने हुन्छ्र । लोडसेडिङ हटाउने कार्य पूरा भए पनि झ्याप्प झ्याप्प बत्ति जाने समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने, लामो समयदेखि निर्माणाधीन र सम्पन्न हुन नसकेका प्रशारण लाइनहरु छिटो पूरा गर्ने र बर्षामा बढी हुने र जाडोमा कम हुने बिजुलीको ब्यबस्थापन गर्नु तत्कालको मुख्य चुनौति छ । यसलाई पनि अब आउने कार्यकारी निर्देशकले गम्भीर रुपमा लिनुपर्छ ।