काठमाडौं । एसियाली राजमार्गले नेपाललाई छोएको छ । नेपाल–भारत सीमाअन्त्रगत सडकसँगै ६ लेनको मेचीपुल निर्माण भएपछि झापाको मुख्य नाका काँकडभिट्टालाई छोएको हो ।
यो सडक विस्तारसंगै नेपाल औपचारिक रुपमा एसियाली राजमार्गमा जोडिएको छ । यसअघि काँकडभिट्टा र भारतको पानीट्याङकी जोडने दुई लेनको पुल जीर्ण भएसँगै आवतजावतमा घन्टौं समय लाग्ने गरेको थियो ।
२०७४ सालबाट औपचारिकर निर्माण शुरु भएको पुलको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ ।सो सडक बागडोरादेखि सिलिगुडीसम्म ६ लेनको फ्लाइओभर पनि हुने छ ।
२०७३ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले पुल निर्माणका लागि सम्झौता गरेका थिए ।
त्यसपछि निर्माण शुरु भएको सो पुलको ९० प्रतिशत बढी काम सम्पन्न भइसकेको छ ।पुल चल्दा व्यापारिक कारोबारमा परिवर्तनसँगै पूर्वी नेपालको समृद्धिमा हुने आशा गरिएको छ ।
सधैं भीडभाड र अव्यवस्थित आवागमन देखिने काँकडभिट्टा पानीट्याङकी सडकलाई नयाँ पुलले काँचुली फेरिदिएको छ । ५०० मिटर लामो पहुँच मार्ग निर्माणका लागि पुराना संरचना सबै भत्काइएपछि बनाइएका फराकिलो र चिटिक्क परेको सडक सबैको आकर्षणको केन्द्र बनेको छ ।
एसियाली विकास बैंक (एडीबी) को १ अर्ब ३ करोड ७८ लाख भारु लागतमा निर्माण भएको पुल ६ लेन चौडाइ क्षमताको ६७५ मिटर लामो छ । भारतको दिनेशचन्द्र आर अग्रवाल कन्ट्रक्सन प्रालिले ३६ महिनाको अवधिमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।
पुलमाथिको काम लगभग सकिए पनि एसिन हाइवेअन्तर्गत करिब एक किलोमिटर एप्रोच सडक निर्माणको कार्य अन्तिम चरण पुगेको छ ।
पुलदेखि काँकडभिट्टा बसपार्क क्षेत्रसम्म चार लेन सडक, ढलसँगै विद्युतीय पोल राख्ने काम सम्पन्न भएको छ । नेपाल तर्फको सडमा कार्यालयले सहजीकरण गरेको छ । पुलको उद्घाटन चाँडै हुने भएको छ ।