काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा आफ्ना अधुरा काममा कुनै अवरोध खडा नगर्ने अर्थसचिवको खोजीमा छन् । शर्मामात्र हाेइन बालुवाटारसमेत अवरोध खडा नगर्ने अर्थसचिवको खोजीमा जुटेको छ ।
शर्मा फेरि अर्थमन्त्री भएपछि अर्थसचिव मधुकुमार मरासिनी अर्थसचिव पदबाट बिदा लिएर घुमफिरका लागि निस्किएका छन् । उनी नभएकाे माैका छाेपेर अर्थमन्त्री शर्मा र बालुवाटार आफ्ना अधुरा काम फत्ते गर्न सहयोग गर्ने अर्थसचिव खोजी रहेकाे छ ।
अर्थस्रोतकाअनुसार हतियार खरिद, नयाँ स्टक एक्सचेञ्ज र हेलिकोप्टर खरिदमा कुनै अवरोध खडा नगर्ने सचिवलाई अर्थमा भित्र्याउन पहलकदमी भइरहेको छ । बालुवाटार र अर्थमन्त्री शर्मा चुनावअघि तीन कुरा फत्ते गर्न चाहन्छन् । हतियार खरिद, नयाँ स्टक एक्सचेञ्ज र हेलिकोप्टर चुनवाअघिको कार्यसूचीमा छ । यी कार्य निर्वाध रुपमा सहजीकरण गर्ने अर्थसचिवको खोजी भइरहेको हाे ।
अहिले राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी र सञ्चार सचिव डा. बैकुन्ठ अर्यालमाथि बालुवाटार र अर्थमन्त्री शर्माको नजर परेको छ। तर, दुई सचिवहरु कुनै पनि सर्त मान्न तयार देखिएका छैनन् । अर्थ सचिवको जिम्मेवारी लिनेले चुनावअघि गर्नुपर्ने तीन कार्य सक्न सहजीकरण गर्नुपर्ने बालुवाटार र शर्माको पहिलो सर्त रहने अर्थका अधिकारीहरु बताउँछन् ।
अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको र अहिलेको अवस्थालाई सहज अवतरण गराउनुपर्ने नयाँ अर्थसचिवको जिम्मेवारीभित्र पर्छ । तर, अर्थमन्त्री शर्मा र बालुवाटार स्रोत अर्थतन्त्र सुधार्ने भन्दा पनि अधुरा काम पूरा गर्न कानुनी रुपमा सहजीकरण गरिदिने सचिव ल्याउन चाहन्छन् ।
बालुवाटार स्रोतकाअनुसार अर्थमन्त्री शर्माले राखेको सर्त नमान्नेलाई अर्थ सचिवको रुपमा नभित्र्याउने बरु हालका राजस्व सचिव कृष्णहरि पुष्करलाई नै अर्थ सचिवमा ल्याउने शर्माको भित्री इच्छा छ । पुष्कर अर्थमन्त्री शर्माको इच्छाअनुरुप कार्य गर्न सहमत देखिएका छन् । तर, उनी अत्यन्तै जुनियर सचिव भएकाले शर्मा र बालुवाटारको इच्छा वरिष्ठ सचिवलाई नै अर्थमा ल्याउने उनीहरुबाटै आफ्ना इच्छा पूरा गर्ने दाउमा छन्।
यदि अर्याल र भण्डारी सर्त मान्न तयार नभए पुष्कर नै अर्थसचिव हुने पक्का पक्की छ । पुष्कर अर्थसचिव बन्न बालुवाटारदेखि खुमलटारसम्म पुग्न थालेका छन् । शर्माका त पुष्कर प्रिय नै छन् । अर्थस्रोतकाअनुसार पुष्करले अर्थमन्त्री शर्मा र बालुवाटारको इच्छाअनुरुप काम गर्ने प्रतिबद्धतासमेत जनाइसकेका छन् ।