×

बिमा संस्थान र राष्ट्रिय बिमाको पुँजी वृद्धिमा ढिलाइ, कसरी जुट्ला ७ अर्ब ? 

images

काठमाडौं । सरकार स्वामित्वका दुई बिमा कम्पनीहरुले पाँच वर्ष अघिकै पुँजी वृद्धि योजना (क्यापिटल प्लान) पुर्याउन सकेका छैनन् । राष्ट्रिय बिमा कम्पनी र राष्ट्रिय बिमा संस्थानले पाँच वर्ष अघिको क्यापिटल प्लान पुर्याउन नसक्दा नियामक बिमा समितिले पुनः पुँजी वृद्धि गर्न निर्देशन दिएको छ । 

पाँच वर्षअघि जीवन बिमा कम्पनीको हकमा २ अर्ब र निर्जीवन बिमा कम्पनीले १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने थियो । तर, राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बिमा संस्थानले सो पुँजी पुर्याउन सकेका छैनन् । 

राष्ट्रिय बिमा कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख र राष्ट्रिय बिमा संस्थानको १८ करोड १० लाख पुँजी रहेको छ । राष्ट्रिय बीमा कम्पनीले समितिको तोकेको पुँजी पुर्याउन २ अर्ब १५ करोड र राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ८२ करोड रुपैयाँ लगानी थप्नुर्नेछ । 

पाँच वर्षअघि पुर्याउनु पर्ने पुँजी अहिलेसम्म पनि नसकेका यी दुई कम्पनीले आउँदो चैतसम्म पुर्याउने संभावना ज्यादै कम छ ।  ७ अर्ब रुपैयाँ पुँजी पुर्याउन असम्भव जस्तै देखिन्छ । हाल दुवै कम्पनीसँग  ४४ करोड ७६ लाख रुपैयाँ मात्र पुँजी छ । 

समितिले बिमा कम्पनीलाई चुक्ता पुँजी बढाएर जीवन बिमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बिमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको छ । 

चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा बिमा कम्पनीले पुँजी बढाएर समितिले तोकेजति पुर्याउन दबाब परेको छ । समितिले पुँजी पुर्याउन नसक्ने कम्पनीलाई विभिन्न छुटका व्यवस्था गरी मर्जमा जानसमेत जोड दिएको छ । यसबीचमा केही कम्पनीहरुले मर्जमा जान समझदारीपत्र (एमओयू) गरिसकेका छन् । 

हाल पुँजी पुर्याउन नसक्ने केही कम्पनीले मर्जमा जानको लागि बिमा समितिबाट स्वीकृतीसमेत पाइसकेका छन् भने केही मर्जको तयारीमा जुटेका छन् ।  समितिले बिमा कम्पनीलाई कस्दै गइरहेको अवस्थामा सरकारी स्वामित्व रहेका दुई कम्पनीले भने पुँजी वृद्धिको सुरसार नै गरेका छैनन् । 

राष्ट्रिय बिमा कम्पनी र राष्ट्रिय बिमा संस्थानले तोकिएको समयभित्र न्यूनतम पुँजी पुर्याउनु पर्ने समिति कार्यकारी निर्देशक राजुरमण पौडेलले बताउछन । ‘यी दुवै कम्पनीले पुँजी पुर्याउन नसके, सरकारको हो भन्दै सधै छुट दिनु हुँदैन’ उनले भने, ‘दुवै कम्पनीलाई क्यापिटल प्लान बनाउन भन्दै घच्घच्याइसकेका छौ ।’ 

संस्थानले बीमा प्राधिकरण ऐन आएपछि मात्रै क्यापिटल प्लान पुरा गर्ने जवाफ दिएको पौडेले बताए । उनका अनुसार निकट भविष्यमा ऐन आउने भएकाले अहिले नै पुँजी बढाउनेभन्दा पनि प्राधिकरण ऐन आएपछि सोहीअनुसार अगाडि बढ्ने भन्दै पत्र आएको पौडेले बताए । राष्ट्रिय बिमा कम्पनीले क्यापिटल प्लान पेस गरेको छैन । 

‘संस्थानको राष्ट्रिय बिमा संस्थान ऐन छ’ उनले भने, ‘ऐनले गर्दा पुँजी इनजेक्ट गर्न समस्या भएको हो । सरकारी कम्पनी भएकाले अब कानुन संशोधन गरी अगाडि बढ्छन ।’ सरकारले पनि व्यापार गरेर बस्ने भन्दा विस्तारै यसलाई पनि कम्पनी मोडल अनुसार सञ्चालन गर्न दिनु पर्छ, पौडेलले भने । 

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा राष्ट्रिय बीमा कम्पनीले ३४ करोड २६ लाख रुपैयाँ खुदनाफा गरेको छ । बीमा संस्थानले ४ करोड ९६ लाख रुपैयाँ नाफा गरेको छ । सेयर बजारमा राष्ट्रिय बिमा कम्पनी प्रतिकित्ता सेयरमूल्य करिब १४ हजार रुपैयाँ बढी छ । 

मङ्गलबार २४ जेठ २०७९ ०२:३५ PM मा प्रकाशित

प्रतिक्रिया