×

स्टार हस्पिटलको आम्दानीमा छलाङ, २८३ प्रतिशतले बढेर पुग्यो ९० करोड  

images

काठमाडौं । निजी लगानीमा स्थापना भएको स्टार हस्पिटल लिमिटेडको सञ्चालन आम्दानीले छलाङ मारेको छ । सन् २०२१ मा हस्पिटलको सञ्चालन आम्दानी २८२.६२ प्रतिशतले बढेको छ ।

सन् २०२१ मा हस्पिटलले ९० करोड ३९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कोभिडको पीसीआर परीक्षण र अन्य उपचारको  मार्जिन बढेका कारण कम्पनीको सञ्चालन आम्दानीमा सुधार आएको हो । 

सन् २०२० मा स्टारको सञ्चालन आम्दानी २३ करोड ६० लाख रुपैयाँ थियो । एक वर्षको अवधिमा स्टारको सञ्चालन आम्दानी ६६ करोड ७० लाख रुपैयाँ बढेको छ । हस्पिटलको आम्दानी सन् २०१९ मा १८ करोड २० लाख र सन् २०१८ मा १४ करोड सञ्चालन आम्दानी गरेको थियो ।

सन् २०१९ मा पीसीआर परीक्षणबाट मात्रै ९४ प्रतिशत आम्दानीको हिस्सा रहेको छ । अस्पतालको अकुपेन्सी दर औसत ४० प्रतिशत रहेको अस्पतालले जनाएको छ ।  

काठमाडौं उपत्यकामा अधिक अस्पतालहरू सञ्चालनमा रहेकाले स्टारले तीव्र प्रतिस्पर्धाको सामाना गर्नुपरेको छ । पछिल्लो समय हेल्थकेयर उद्योग बढी प्रतिस्पर्धी देखिएको छ । प्रतिस्पर्धामा जान निजी अस्पतालले आफ्नो सेवामा विस्तार गरिरहेका छन् । 

सन् २००७ मा स्थापना भएको स्टार हस्पिटलको १०० बेड छ । स्थापना हुँदा ५० बेड थियो । सन् २०१८ मा अस्पताल आफ्नै भवनामा सरेको हो । सन् २०१९ मा अस्पतालको बेड संख्या दोब्बर बढाइएको हो ।

हस्पिटलले वाइड रेन्जको सर्जिकल, मेडिकल र डाइगोनस्टिक सेवा प्रदान गर्दै आएको स्टारले जनाएको छ । सन् २०१० मा हस्पिटल पब्लिक लिमिटेड बनेको हो । हस्पिटलमा ३७०० बढी सेयर लगानीकर्ताहरू छन् । 

हस्पिटलले ८५ करोड ७० लाख. रुपैयाँ ऋणको रेटिङ गरेको छ । इक्रा नेपाल लिमिटेडले इक्रा एनपी एलबी प्लस ए फोर रेटिङ दिएको छ । जसअनुसार हस्पिटलले दीर्घकाका लागि ८२ करोड ७० लाख अल्पकालिन ३० करोड रुपैयाँ ऋणको रेटिङ गरेको हो । 


 

आइतबार​ २५ बैशाख २०७९ ०५:३१ PM मा प्रकाशित

प्रतिक्रिया