×

सेयर कारोबार रोक्का निर्देशिका अन्तिम चरणमा, यसै साता लागू हुने 

images

काठमाडौं। नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको सेयर कारोबार रोक्का सम्बन्धी निर्देशिका तयारी अन्तिम चरणमा पुगेको छ। बोर्डले नेप्सेमा सूचीकृत कम्पनी मर्जर/एक्विजिसनमा गई रोक्का हुने कारोबार सम्बन्धी निर्देशिका यसै साता लागू गर्ने भएको हो। 

चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली २०७३ खारेजको घोषणा गरेको थियो। सोही घोषणाअनुसार यस विषयलाई बोर्डले नै टुंगो लगाउने भन्दै राष्ट्र बैंकले गएको असोजमा विनियमावलीको उक्त व्यवस्था खारेज गरेको छ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमा घोषणा भएलगत्तै बोर्डले पनि संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिकाको मस्याैदा तयार पारेको हो। साउनमै तयार भएको उक्त मस्याैदा सुझावका लागि भन्दै त्यति बेलै धितोपत्र बोर्डको वेबसाइटमा राखिएको थियो। मस्याैदा सार्वजनिक करिब ४ महिनासम्मपछि बोर्डले निर्देशिका लागू गर्न लागेको हो।

नेप्सेमा सूचीकृत कम्पनी मर्जर तथा एक्विजिसन गई हुने सेयर कारोबार रोक्का सम्बन्धी निर्देशिका यसै साता लागू गरिने बोर्डका अध्यक्ष रमेश हमालले क्यापिटल नेपाललाई जानकारी दिए। 

‘बोर्डको हालै बसेको सञ्चालक समितिले मस्याैदामाथि छलफल गरेको थियो,’ उनले भने, ‘यसै साताभित्र निर्देशिका लागू गर्ने तयारी छ।’ उनले मस्यौदामा उल्लेख गरिएका अधिकांश विषयहरू यथावत राखिएको बताए। बोर्डले अब मर्जर तथा एक्विजिसनमा जाने कम्पनीको सेयर कारोबार १५ दिनमात्रै रोक्का गर्नुपर्ने विषयलाई निरन्तरता दिने हमालले बताए।

मस्याैदामा मर्जर तथा एक्विजिसन गर्ने कम्पनीहरूको सेयर कारोबार १५ दिन मात्रै रोकिने सार्वजनिक गरेको थियो। अब मर्जर तथा एक्विजिसन गर्ने कम्पनीको एकिकृत कारोबार भएपछि १५ दिनमात्रै सेयर कारोबार रोक्का हुनेछ।

‘एकीकृत व्यवसायिक कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचीकरणलगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्नेछ,’ निर्देशिकामा भनिएको छ।’

यस्तै, बोर्डबाट गाभ्ने/गाभिने वा प्राप्तिका लागि स्वीकृति प्राप्त गरेका संगठित संस्थाले प्रचलित कम्पनी सम्बन्धी कानून बमोजिम एकीकृत व्यवसायिक कारोबारको स्वीकृति प्राप्त गरे पश्चात सोको जानकारीसहित एकीकृत व्यवसायिक कारोबार गर्ने मितिको जानकारी बोर्ड, धितोपत्र बजार तथा केन्द्रीय निक्षेप कम्पनीलाई दिनुपर्ने व्यवस्था निर्देशिकामा छ।

बोर्डले मर्जर तथा एक्विजिसनमा जाने कम्पनीले ६ महिनाभित्र एकिकृत कारोबार गर्नुपर्ने व्यवस्था पनि गरेको छ। ‘संगठित सस्थाको गाभ्ने र गाभिने वा प्राप्ति कार्य प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र सम्पन्न गरिसक्नु पर्नेछ,’ निर्देशिकामा लेखिएको छ।

मर्जर तथा एक्विजिशनमा जाने संस्थाले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना चुहाउन नपाउने भएका छन। ‘गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी जानकारी राख्ने संगठित संस्थाका सञ्चालक, कर्मचारी, तथा अन्य सम्बन्धित पक्षले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना तथा जानकारी सार्वजनिक गर्न पाइने छैन,’ उक्त निर्देशिकामा भनिएको छ।

यसअघि मर्जर तथा एक्विजिसनमा गएको बैंक तथा वित्तीय संस्थाको हकमा प्रक्रिया पूरा नभएसम्म नेप्सेले दोस्रो बजारमा सेयर कारोबार रोक्का राख्दै आएको थियो। मर्जर तथा एक्विजिसनकै कारण सोमबारसम्म नेप्सेले ३४ कम्पनीको सेयर कारोबार राकेको छ।

मङ्गलबार २२ कात्तिक २०७९ ०७:३८ AM मा प्रकाशित

प्रतिक्रिया