काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) गिरावट भएर बन्द भएको छ। बुधबार २२ अंकले गिरावट भएको सेयर बजार आज १८ अंकले गिरावट आएको हो।
यसअघि मंगलबार पनि सेयर बजार १९ अंकले गिरावट भएको थियो। दसैंपछि खुलेको बजारमा निरन्तर गिरावट हुँदा नेप्से २४ सयको लाइनमा झरेको छ। सेयर बजारमा बिहीबार १८ अंकले गिरावट आउँदा २४८७ विन्दुमा झरेर बन्द भएको छ।
सेयर बजार घटेसँगै कारोबार रकमसमेत तीन अर्ब २७ करोडमा खुम्चिएको छ। यसअघि बुधबार तीन अर्ब १० करोड बराबरको सेयर किनबेच भएको थियो।
आज कारोबार भएकामध्ये ४५ वटा कम्पनीको सेयर मूल्य बढेको छ। जसमा हिमालयन पावर पाट्नर्स लिमिटेटको सेयरमा सर्किट लागेको छ।
यसैगरी, आज १९७ कम्पनीको मूल्य घट्दा ९ कम्पनीको मूल्य स्थिर बसेको छ। जसमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्यमा नकारात्मक सर्किट लागेको छ।
यस्तै, यूनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य पनि भारी मात्रामा गिरावट आएको छ।
कारोबार भएकामध्ये मुक्तिनाथ विकास बैंकको सेयर सबैभन्दा बढी १५ करोड मूल्य बराबरको किनबेच भएको छ। यस्तै, नेपाल रिइन्स्युरेन्स कम्पनीको सेयर १३ करोड मूल्य बराबरको कारोबार भएको छ।