×

विशाल सिमेन्टका पूर्वसञ्चालक अमित श्रेष्ठ जेल चलान, ४८ करोड जरिवाना र ७ वर्ष कैद माग

images

काठमाडौं । जिल्ला अदालत काठमाडौँले विशाल सिमेन्टका पूर्वसञ्चालक रहेका व्यवसायी अमित श्रेष्ठलाई क्रिप्टो करेन्सी (भर्चुअल मुद्रा)  को कारोबार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ ।

न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले मङ्गलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । उक्त कारोबार गरेको अभियोगमा पक्राउ परेका श्रेष्ठविरुद्ध ४८ करोड रुपैयाँ बढी बिगो माग दाबीसहित मुद्दा दायर भएको थियो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको एक समूहले गत असार २९ गते श्रेष्ठलाई काठमाडौँबाट पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा श्रेष्ठले हुण्डीमार्फत विदेशमा रकम पठाएको पत्ता लागेको थियो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ को उपदफा बमोजिमको कसुर गरेको उल्लेख गर्दै  श्रेष्ठविरुद्ध बिगोको तीन गुणासम्म जरिवाना र ७ वर्ष कैद सजायको समेत मागदाबी गरिएको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपालमा भर्चुअल मुद्राको कारोबार पूर्णरूपमा गैरकानुनी रहेको उल्लेख गर्दै राष्ट्र बैंकले २९ साउन २०७४ मा सूचना प्रकाशित गरेको थियो ।

पक्राउ परेका श्रेष्ठले अष्ट्रेलियाको वेल्थ बैंकमा १ लाख ९४ हजार २ सय ८५ अमेरिकन डलर, क्यानडाको रोयल बैंकमा १८ लाख ७४ हजार ४ सय २१, एभरेष्ट बैंक लिमिटेडको खाताबाट २ करोड ६ लाख ६ हजार ६ सय ९२ रूपैयाँ, एनआइसी एशिया बैंक लिमिटेडको खाताबाट ६५ लाख २४ हजार ९१० रूपैयाँ, नबिल बैंक लिमिटेडको खाताबाट क्यानेडियन ६७ हजार ५ सय ९६ र नेपाली ६५ लाख रूपैयाँ अवैध कारोबार गरेको पाइएको छ ।

काठमाडौं महानगरपालिका–१४ कलंकी तथा कामपा–३ लाजिम्पाटमा जग्गा र पानीपोखरीमा अपार्टमेन्टसमेत रहेको पाइएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

श्रेष्ठको साथबाट बरामद भएको २ थान मोबाइल र २ थान ल्यापटपबाट उक्त कारोबार पत्ता लागेको प्रहरीले जनाएको छ । सरकारी वकिलको कार्यालयबाट काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरी बहस पैरवी पश्चात जिल्ला अदालतको आदेशअनुसार श्रेष्ठलाई कारागार चलान गरिएको प्रवक्ता मैनालीले बताए ।  

मङ्गलबार २४ साउन २०७९ १०:०९ PM मा प्रकाशित

प्रतिक्रिया