×

हिमालयमा तीन सय कर्मचारीले चार जहाज चलाउँछन्, नेपाल एयरलाइन्समा २ हजार 

images

काठमाडौं । उस्तै प्रकृती, उस्तै काम । मात्र यति फरक हो की नेपाल एयरलाइन्स सरकारी स्वामित्वमा चलेको र हिमालय एयरलाइन्स निजी क्षेत्रले चलाएको । दुवै नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स हुन् । तर, यी दुई एयरलाइन्सको व्यवस्थापन हेर्ने हो भने सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्स र निजी क्षेत्रको स्वामित्वमा रहेको हिमालय एयरलाइन्समा फराकिलो भिन्नता देखिन्छ ।

ती दुवै एयरलाइन्समा अन्तर्राष्ट्रिय उडानका लागि चार÷चार वटा जहाजहरु छन् । नेपाल एयरलाइन्ससँग २ वटा वाइडबडी र २ वटा न्यारोबडी जहाज सञ्चालनमा छ भने हिमालयसँग चार वटै न्यारोबडी जहाज रहेको छ । हिमालयले चार वटा जहाज मार्फत पाँच वटा मुलुकको सात गन्तव्यमा उडान गर्नका लागि ३ सय जना कर्मचारीहरु राखेको छ भने नेपाल एयरलाइन्सले ८ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडानका लागि २ हजार जना भन्दा बढी कर्मचारीहरु रहेका छन् ।

तीमध्ये १ हजार २ सय स्थायी तथा करारमा कार्यरत छन् भने ८ सय जना कर्मचारीहरु भने आउटसोर्स गरिएको छ । सरकार परिवर्तनसँगै आफ्नो स्वार्थ अनुसारका कामहरु गराउन निगमको व्यवस्थापक (महाप्रबन्धक÷कार्यकारी अध्यक्ष) फेर्ने गरिन्छ । आफू निकटका व्यक्ति व्यवस्थापक भएमा आफ्ना कार्यकर्ताहरुलाई जागिरसहितका अन्य अवसरहरु सिर्जना गरी आर्थिक लाभ लिने भएकाले पनि कर्मचारीको संख्या अधिक हुन पुगेको पाइन्छ । यद्यपि निगमका कर्मचारीहरु ग्राउन्ड ह्यान्डलिङको काममा पनि संलग्न हुन्छन् ।

अधिक कर्मचारीहरु भएकै कारण नेपाल एयरलाइन्सको खर्च धेरै तलब भत्तामै जाने गरेको  छ । त्यति मात्र हैन नेपाल एयरलाइन्स भित्रका कर्मचारीहरु काम भन्दा बढी राजनीति गर्ने र नेताको आसेपासे भएकै भरमा जागिर पचाउने गरेको कारण समस्यामा पर्दै गएको एक पूर्व अध्यक्षले जानकारी दिए । एयरलाइन्सलाई व्यवसायीक रुपमा सवल र सक्षम बनाउने भन्दा आफ्नो पक्षका कति कार्यकर्ताहरुलाई जागिर खुवाउन सकियो भन्ने तर्फ हिसाव गर्ने भएकोले पनि कुनै मन्त्री र कार्यकारी अध्यक्ष, महाप्रवन्धकहरुले आश गरे अनुसारको काम गर्न नसकेको ती अध्यक्षको भनाई छ ।

नेपाल एयरलाइन्सले भारत, जापान, साउदी अरब, कतार, मलेसिया, दुबई, हङकङ्गमा उडान गर्दै आएको छ । यस्तै हिमालयले युएई, मलेशिया, साउदी अरेबिया, बंगलादेश र चीनको विभिन्न ७ वटा गन्तव्यमा उडान गर्दै आएको छ ।

मङ्गलबार २७ बैशाख २०७९ ०८:२१ AM मा प्रकाशित

प्रतिक्रिया