काठमाडौं । चालू आर्थिक वर्ष सकिँदै गर्दा सेयर बजारले फेरि उचाइको यात्रा सुरु गरेको छ । जेठ ३१ गते हालसम्मै उच्च ३०२५ अंकमा पुगेर फर्किएको बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक २७८६ सम्म पुगेको थियो ।
त्यसपछि बढ्न थालेको बजार २८४३ सम्म आएर फेरि घट्दै २८०१ सम्म आइपुगेको थियो । तर, त्यसपछि गत साता सामान्य वृद्धिको लय समातेको नेप्से सूचकले आइतबार भने छलाङ मारेको छ ।
यसदिन ७४.७१ अंकले बढेर २८९९.८२ बिन्दूमा रोकिएको छ । खासगरी, आर्थिक वर्षको समाप्तिको अन्तिम साता ११ महिनासम्मको बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण तुलनात्मक रुपमा राम्रो देखिएको, बिमा कम्पनीहरुको व्यवसाय बढेर नाफामा पनि सकारात्मक प्रभाव परेको लगायतका कारणले लगानीकर्ता फेरि बजारमा फर्किएका छन् ।
अर्कोतिर राजनीतिक माहोलमा हुन सक्ने स्थिरताको आँकलन र मौद्रिक नीतिमा सेयर बजारलाई खासै कडाइ नगर्ने नीतिगत व्यवस्थाको सम्भावना विकास बैंक तथा वित्ती कम्पनीलाई हकप्रद सेयर जारी गर्ने बाटो खुकुलो बनाउने आधार, जलविद्युत् कम्पनीहरुमा पनि हकप्रद सेयरलाई प्राथमिकता दिने नीति, वाणिज्य बैंकहरुको मर्जरलाई दबाबमा नराख्ने केन्द्रीय बैंकको संकेतजस्ता कारणले बजार उचालिएको हो ।
लामो समयदेखि ब्रोकर र ठूला लगानीकर्ताहरुले बजार प्रभावित बनाएर घटाउन गरिएको प्रयास नटिकेपछि बजार उकालो लागेको हो । बजार घटेर ४ अर्बमा सेयर खरिद बिक्री सीमित भएकोमा आइतबार ८ अर्ब नाघेको छ । यसअघि सबैभन्दा बढी कारोबार भएको दिन १९ अर्ब ९५ करोडसम्म पुगेको थियो । यसबीचमा सेयर भोल्यूममा पनि व्यापक गिरावट आएको थियो । तर, आइतबार करिब ३ करोड १६ लाख कित्ता सेयर किनबेच भएको छ ।
यसले लगानीकर्तामा थप उत्साह जगाएको छ । आगामी बिहीबारसम्म बजार सूचकले नयाँ गति समाउने संकेत गरेको छ । खासगरी, कर तिर्न, बैंकको किस्ता व्यवस्थापन गर्न यसअघि नै सेयर बिक्री गरेका लगानीकर्ताले नयाँ बाटो खोजेका छन् ।
असार मसान्तमा आउने मूल्यले त्यसको औसत मूल्यसमेत प्रभावित बनाउन सक्ने सम्भावना रहेकाले लगानीकर्ताहरु सकेसम्म बजार बढेर बन्द होस् भन्ने चाहन्छन् । साउन लागेपछि पुँजीगत लाभकर बढ्ने भन्दै ठूला लगानीकर्ताले यसअघि नै बजारबाट बाहिरिन खोज्दा बजार प्रभावित बनेका थियो ।
आइतबार श्री इन्भेष्टमेन्ट, आइसीएफसी र गोर्खाज फाइनान्सको १० प्रतिशतले बजार बढेको छ । त्यसैगरी, २२ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । उच्च मूल्य वृद्धि भएका २३ कम्पनीमा २० कम्पनी विकास बैंक र फाइनान्स छ । तीनवटा भने जलविद्युत कम्पनी छन् । बढेको बजारमा राष्ट्रिय बिमा कम्पनीको सबैभन्दा धेरै ४.३७ प्रतिशतले सेयर मूल्य घटेको छ । अधिकांश ऋणपत्रको मूल्य आइतबार घटेको छ । यसदिन एनआईसी एसियाको सबैभन्दा धेरै ३९ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।