×

नेपाल बैंक र त्रिविबीच अनुसन्धानमा सहकार्य गर्न सम्झौता, ५ जना विद्यार्थीलाई ३० हजार छात्रवृत्ति

images

काठमाडौं । नेपाल बैंक र त्रिभुवन  विश्वविद्यालय  व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धानसम्बन्धी कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । 

साे सम्झौताअनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय  विभागमा अध्ययनरत विद्यार्थीहरुले नेपाल बैंकमा इन्टर्नसिप गर्न पाउनेछन् भने सो विभागका विद्यार्थीहरु र प्राध्यापकहरूमार्फत नेपाल बैंकले आर्थिक तथा बैंकिङ क्षेत्रमा आफ्ना अनुसन्धानात्मक कार्यहरु सञ्चालन गर्नेछ । 

साे सम्झौताअनुसार बैंकको अनुसन्धानसम्बन्धी कार्यका लागि व्यवस्थापन विभागले विषय विज्ञको रूपमा प्राध्यापकहरूको सूची बैंकलाई उपलब्ध गराउनेछ । सो सूचीअन्तर्गतका प्राध्यापकहरुलाई​ आवश्यकताअनुसार बैंकले अनुसन्धानका लागि विषय विज्ञका रूपमा नियुक्त गर्नेछ । 

त्यसैगरी बैंकले  गरेका अनुसन्धान सम्बन्धी कार्यमा व्यवस्थापन विभागमा सञ्चालित शैक्षिक कार्यक्रमहरू एमबिए र एमबीएममा अध्ययनरत विद्यार्थीहरूलाई ग्राजुएसन रिसर्च प्रोजेक्ट(जीआरपी) अन्तर्गत शोधपत्र लेखनका लागि छात्रवृत्तिस्वरूप न्यूनतम ५ जना विद्यार्थीहरूलाई बैंकले प्रतिविद्यार्थी नगद ३० हजार रूपैयाँ प्रदान गर्नेछ ।

साे बैंकले व्यवस्थापन विभागमा एमबीए ईन कर्पोरेट लिडरसिपमा अध्ययन गरेका १ जना छात्र र १ जना छात्रा गरी दुई जना सर्वोत्कृष्ट विद्यार्थीहरूलाई प्रत्येक शैक्षिक सत्रमा  नगद र मेडलसहित “नेपाल बैंक कर्पोरेट लिडरसिप अर्वाड” समेत प्रदान गर्नेछ । 

यससम्बन्धी सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका निमित्त विभागीय प्रमुख सहप्राध्यापक  नवराज अधिकारी र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

बिहीबार २६ साउन २०७९ ११:२७ AM मा प्रकाशित

प्रतिक्रिया