×

ब्राउनसुगरसहित ४ भारतीय नागरिक पक्राउ

images

झापा  । झापाको छुट्टाछुट्टै तीन स्थानबाट लागूऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  भद्रपुरबाट एक भारतीय नागरिक, बिर्तामोडमा एक र दमकबाट दुई जनालाई बुधबार ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–३ झोलुङ्गे पुलबाट भारतबाट नेपालतर्फ आउँदै गरेका भारत पश्चिम बंगाल दार्जिलिङ थाना खुरीबारी भेलकोजोतका ४२ वर्षीय निखिल विश्वासलाई तीन ग्राम ८ सय मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

त्यसैगरी बुधबार बेलुका ७ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–२ स्थित चारपानेबाट सोही स्थानका ३६ वर्षीय बद्री राजवंशीलाई तीन ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

यस्तै बुधबार राति ८ बजे दमक नगरपालिका–९ स्थित इटाभट्टाबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले २५ ग्राम ब्राउनसुगर र नगद रु १० हजारसहित दुई जनालाई पक्राउ गरेको थियो ।

को२९प २२३४ नंको मोटरसाइकलमा सवार गौरादह नगरपालिका–१ का ३३ वर्षीय भीमबहादुर श्रेष्ठ र ३२ वर्षीय मोहन सिलवाललाई ब्राउनसुगरसहित पक्राउ गरिएको हो । ब्राउनसुगरसहित पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिहीबार २६ साउन २०७९ ०१:४२ PM मा प्रकाशित

प्रतिक्रिया