मङ्गलबार, कात्तिक २ २०७८ ०५:२० AM

×

एकअर्को बैंकमा ब्याज आउने गरी डलरमा खाता खोल्न नपाइने, झन गहिरिँदै तरलता संकट 

images

काठमाडौं । नेपाल राष्ट्र बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थाले ब्याज आउने गरी कुनै पनि प्रकारको निक्षेप खाता खोल्न नपाउने व्यवस्था गरेको छ । 

यसअघि स्वदेशी निक्षेप खाता खोल्न रोक लगाएको केन्द्रीय बैंकले सोमबार विदेशी मुद्रामा समेत ब्याज आउने गरी खाता खोल्न नपाइने व्यवस्था गरेको हो । 

बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप बढाउन विदेशी मुद्राको निक्षेपको चरम दुरुपयोग गरे पछि राष्ट्र बैंकले डण्डा चलाएको हो । यसअघि स्वदेशी मूद्रामा पनि यस्तै वदमासी गरेको भेटिए पछि वित्तीय संस्थाहरुलाई ब्याज आउने गरी निक्षेप खाता खोल्न प्रतिबन्ध लगाएको थियो । यतिबेला स्वदेशी मुद्राको अन्तर बैंक कारोबार मात्रै गर्न पाइन्छ । 

बैंकमा विकास बैंक र फाइनान्स कम्पनीले मागेको बखत फिर्ता पाउने प्रकारको खाता (कल डिपोजिट) खोल्न पाउने व्यवस्थालाई भने निरन्तरता दिइएको छ । विदेशी मुद्राको निक्षेपमा ब्याज नपाइने भए पछि अब सबैले आ–आफ्नो विदेशी मुद्रा निक्षेप फिर्ता लिन्छन । त्यसले लगानीयोग्य रकम (तरलता)मा पनि हिट गर्ने छ । 

पछिल्लो समय विदेशी मुद्राको निक्षेप ह्वात्ते बढे पछि बैंकहरुले नक्कली खाता (फेक अकाउन्ट) खोलेर निक्षेप बढाएको आशंका गरिएको थियो । एउटा बैंकमा भएको विदेशी मुद्राको निक्षेप त्रिकोणात्मक रुपमा बढ्दै गए पछि केन्द्रीय बैंकले कडाई गरेको हो । 

ब्याज आउने गरी विदेशी मुद्राको निक्षेप स्वदेशी बैंकमा राख्न नपाउने भए पछि बैंकहरुले आफ्नो निक्षेप फिर्ता लिन्छन् र त्यस्तो निक्षेपमा थोरै मात्रै ब्याज आउने भए पनि विदेशमै निक्षेपका रुपमा राख्छन् । अहिले विदेशी मुद्रा बलियो भएका कतिपय बैंकले आफ्नो आम्दानीको स्रोत विदेशी मुद्रालाई बनाएका थिए । तर, एकअर्कोमा सार्दै निक्षेपमा व्यापक क्रसहोल्डिङ भएको समस्या देखिए पछि केन्द्रीय बैंकले मुहाननै बन्द गरिदियो । 

यसबाट महँगो लागतमा लिएको मुद्रा कम आम्दानी हुने गरी विदेशी संस्थामा निक्षेप राख्नुपर्ने भएको छ । यात आम्दानी नै नहुने गरी आफ्नै खातामा रहन दिनुपर्ने छ । यसबाट महँगो स्रोत देश बाहिर जान्छ भने स्वदेशमा समग्र निक्षेप घट्दा बैंकहरुको लगानी क्षमता घट्छ ।

कर्जा निक्षेप (सीडी रेसियो) अनुपातमा विदेशी मुद्राको निक्षेप गणाना गर्न पाउने व्यवस्थाका कारण बैंकहरुले एक पछि अर्को गर्दै विदेशी मुद्रामा खेलेर ऋण लगानी बढाएका थिए । तर, नयाँ व्यवस्था पछि तरलतामा थप चाप पर्ने छ । बैंकरहरुका अनुसार नयाँ व्यवस्थाले करिब ६० देखि ७० अर्ब रुपैयाँ हाराहारी निक्षेप घट्ने छ । त्यसको सिधा असर सीडीमा पर्ने छ । विदेशी मुद्रालाई देखाएर सीडी अनुपात कायम गरेका बैंकहरु सबैभन्दा बढी अप्ठयारोमा पर्ने छन् । 

‘राष्ट्र बैंकले एउटा बैंकबाट दोस्रो बैंकमा जाने विदेशी मुद्रालाई गणाना गर्ने व्यवस्था गरेको भए प्रणालीगत जोखिम पनि कम हुन्थ्यो र हाम्रो स्रोत पनि उपयोग हुन्थ्यो,’ पूर्व बैंकर तथा एनआरएन नेपाल डेभलपमेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले भने, ‘पछिल्लो व्यवस्थाले हाम्रो महँगो स्रोत बाहिरिने भयो । राष्ट्र बैंकले विकृत्ति रोक्न आफूले गर्नुपर्ने कामलाई सिधै घटाएको देखियो ।’

अर्को जसले विदेशी मुद्रा कारोबार गरेर आफ्नो आम्दानीको स्रोत बढाउथे ती बैंकको आम्दानीमा धक्का लाग्ने छ । विदेशी मुद्राको निक्षेप ब्याज आउने गरी अर्कोलाई दिन नपाए पछि उनीहरुले थोरै ब्याज आए पनि हुने गरी विदेशमै निक्षेप गर्ने भए । यसबाट उनीहरुको आम्दानी घट्ने छ भने स्वदेशमा तरलता अभाव बढेर झन ठूलो संकट सिर्जना गर्ने छ । 

तरलता व्यवस्थापनका लागि यसअघि बढी विदेशी मुद्राको निक्षेप स्वीकार गरेका बैंकहरुले स्वदेशी निक्षेप उठाउन थप ब्याजदरको स्कीमहरु ल्याउनुपर्ने छ । यसले समग्र निक्षेपकै ब्याजदर बढाउने छ । विदेशी मुद्राको निक्षेप देखाएर कर्जा लगानी गरेका बैंकहरु थप अप्ठयारोमा पर्ने छन् । र यसको असर समग्र वित्तीय प्रणालीमा देखिने छ । 

राष्ट्रबैंकले यो निर्देशन मार्फत विदेशी मुद्रामा निक्षेप नभएका बैंकहरुले विदेशी मुद्रामा कर्जा लगानी गर्न पाउँदैनन् ।  यसअघि कतिपय बैंकले आफूसँग विदेशी मुद्राको निक्षेप नभएपनि अन्य बैंकसँग निक्षेप लिएर लगानी गरेको पाइन्छ । अब आफ्नो स्रोत बिना अरुको स्रोतमा भर परेर लगानी गर्न नपाइने भएको छ । 
 

सोमबार २५ असोज २०७८ ०४:४७ PM मा प्रकाशित

प्रतिक्रिया