काठमाडौं । चरम तरलता अभाव खेपेर ऋण दिनै नसक्ने अवस्थामा पुगेका बैंकहरुले फेरि कर्जा विस्तारलाई तीव्रता दिएका छन् । गत साउनमा मौद्रिक नीति आएपछि देखिएको तरलता अभावको स्थिति गत आइतबारदेखि केही सहज भएको अनुमान छ ।
खासगरी वित्तीय हस्तान्तरणमार्फत स्थानीय तहमा जाने रकमको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने र केन्द्रीय बैंकले १ खर्ब हाराहारी रकम पुनर्कर्जाका रुपमा वित्तीय प्रणालीमा फर्किएपछि कर्जा निक्षेप अनुपात केही खुकुलो भएपछि बैंक तथा वित्तीय संस्था फेरि ऋण विस्तारमा आक्रामक हुने संकेत गरेका छन् ।
बैंकहरुले ठूला र अन्य क्षेत्रका ऋणीलाई कर्जा दिन आनाकानी गरे पनि सेयर धितोमा ऋण लिन चाहनेहरुलाई भने फोन गरेरै कर्जा लिन बोलाउन थालेका छन् । बैंकरहरुका अनुसार पहिलो चरणमा सेयर धितो राखेर ५० लाख रुपैयाँभन्दा कम ऋण लिने योजना बनाएकाहरुलाई फोन गरेर ऋण लिन बोलाएका हुन् ।
वित्तीय बजारमा लगानी योग्य रकमको चरम अभाव हुँदा यसअघि बैंकहरुबाट स्वीकृत ऋणसमेत नदिइ बसेका थिए । वित्तीय संस्थाहरुले यसअघि स्वीकृत ऋणीहरुलाई रकम लिन बोलाउन थालेका हुन् ।
केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत कर्जा पुँजी निक्षेप (सीसीडी) अनुपात खारेज गरी कर्जा निक्षेप (सीढी) अनुपात ९० प्रतिशत कायम हुनुपर्ने व्यवस्था लागू गरेपछि वित्तीय संस्थाले तरलता संकट सामना गर्नुपरेको थियो । तर, केन्द्रीय बैंकको प्रयास र सरकारको नीतिगत निर्णयका कारण आइतबार सीडी अनुपात ९० प्रतिशतभन्दा कम आएपछि बैंकहरु आक्रामक देखिएका हुन् ।
बैंकरहरुले माघ लागेसँगै पुँजीगत खर्च वृद्धि हुनुका साथै कोरोना भाइरसको नयाँ लहर सुरु भएलगत्तै सुरु भएको ‘स्मार्ट लकडाउन’, सभासम्मेलन स्थगन, २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने जस्ता व्यवस्थाले अन्य क्षेत्र सुस्ताउने भएकाले सेयर धितोमा ऋण दिनु उपयुक्त निष्कर्ष निकालेका छन् ।
‘अन्य क्षेत्रले अहिलेकै परिस्थितिमा ऋण नमाग्ने सम्भावना बढेकाले सेयर धितोमा ऋण लगानी गरेर भए पनि तत्काल बैंकहरुले आम्दानीको बाटो खोजेका हुन्’, एक बैंकरले भने, ‘बढ्दो कोरोना भाइरसको संक्रमणले फेरि जनजीवन त्रस्त भएको छ । औद्योगिक उत्पादन, विकास निर्माण प्रभावित हुने सम्भावना छ । व्यापारमा कतिपय क्षेत्रमा कडाइ गरिएको छ । यसले तत्कालका लागि बैंकहरुको सुरक्षित क्षेत्र सेयर धितो कर्जा भएको छ ।’
उता, मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले एउटा बैंकबाट ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँ मात्रै कर्जा लिन सकिने व्यवस्था लागू गरेको थियो । यसले सेयर बजार प्रभावित पनि भयो । भदौ २ गते हालसम्मकै उच्च ३२२६ अंकमा पुगेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) निरन्तर घट्न थाल्यो ।
झन् सीडी अनुपात उच्च भएको र तरलता अभएको भन्दै बैंकहरुले ऋण लगानी बन्द गरेपछि सेयर बजार झनै प्रभावित भयो र मंसिर २७ गते २२५९ अंकसम्म झर्यो । त्यसपछि भने विस्तारै सेयर बजारमा सुधार आएको छ । सेयर बजार निरन्तर घट्दा सेयर लगानीकर्ताहरु अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका थिए । बजार बढ्न थालेसँगै सेयर लगानीकर्ताहरुको विरोधको आवाज पनि सुनिन छोडेको छ ।
पुस मसान्तमा बैंकले साँवा ब्याज पनि पाउँछन् । त्यो रकम पनि बैंकले लगानीको रुपमा प्रयोग गन सक्छन् । तरलता सहज बन्दै गएको र कोरोनाको संक्रमण दर बढ्न थालेपछि उछालिएको सेयर बजार सूचक पछिल्लो ३ दिनमा १४० अंकभन्दा बढी वृद्धि देखिएको छ । बुधबार पनि कारोबार सुरु भएको १ घण्टामा नेप्से सूचक ४० अंकले बढेको छ ।
यद्यपि, सीडी अनुपात बढेसँगै बैंकहरुले कात्तिक र मंसिरमा निक्षेपको ब्याजदर बढाए । कात्तिकमा अघिल्लो महिनाको ब्याजदरमा १० प्रतिशत ब्याज बढाएका बैंकहरुले मंसिरमा केन्द्रीय बैंकको निर्देशनअनुसार कात्तिक बैंकहरुको औसत ब्याजदरमा १० प्रतिशत मात्रै बढाएका थिए । ब्याजदर बढाउँदा चौतर्फी आलोचना भएपछि र सबै बैंकहरुको ब्याजदर समान तहमा आएपछि पुसमा भने बैंकहरुले निक्षेपको ब्याजदर बढाएनन् ।
यद्यपि कात्तिक र मंसिरमा बढेको निक्षेपको ब्याजदरको केही दबामा माघमा कर्जाको ब्याजदरमा पर्ने सम्भावना बढी छ । माघमा कर्जाको ब्याजदर बढेमा केही असहज स्थिति आउने सम्भावना रहेपछि ठूलो दबाब भने पर्दैन ।