काठमाडौं । निरन्तर घट्दो बजारले २८०० बिन्दूमा टेको पाएको सन्देश प्रवाहित गरेको छ । बिहीबार २७९५ सम्म झरेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८१२.२६ बिन्दूमा रोकिएको छ ।
ब्याजदर बढ्ने चर्चा र सेयर धितो कर्जाको कडाईले पेनिक बनेको सेयर बजार केही राहत महसुस गर्ने चरणमा पुगेको संकेत गरेको छ । यद्यपि, सीमित ठूला लगानीकर्ताको खेलोफड्को, बजार घट्छ भन्ने ब्यापक अफवाह र नजिकिँदो चाडपर्वलाई ख्याल गर्दै रकम जोहो गर्नुपर्ने परिस्थितिमा रहेका साना लगानीकर्ताको बाध्यताको फाइदा उठाउँदै बजारलाई तल झार्ने कोसिस जारी छ ।
यही कोसिस आगामी साता पनि कायम रहेमा बजार अझ घट्न सक्छ । बिहीबार २७९० नछोइकन माथिबाटै बजार उक्लिने संकेत गरेकाले सम्भवत् बढ्न सक्छ । भदौ २ को ३१९८.६ बिन्दूबाट एक महिनामा करिब १२ प्रतिशतले बजार घटेको छ । बुलिस बजारको स्थितिमा रहेको परिवेशलाई ख्याल गर्दा अब बजारले नयाँ गति समाउने प्रबल सम्भावना हो । तर, लगानीकर्ताको मनोविज्ञान कमजोर रहेकाले अझै नघट्ला भन्न पनि सकिन्न । अबको घटाईले २७८० बिन्दूलाई पार गरेर तल झरेको खण्डमा २६०० बिन्दूकै हाराहारी पुग्न सक्छ । त्यसो भएमा लगानीकर्ता थप पेनिक बन्छन् ।
अब बजार घटे पनि एक चरण फेरि उकालो लागेर मात्रै घट्नुपर्ने हो । दबाबमा बसेका लगानीकर्ता थोरै बढ्दा पनि आत्तिएर बेच्ने परिस्थिति निर्माण भएमा बजार घट्न सहयोग पुग्छ । मंगलबार र बुधबार ५ अर्ब हाराहारी कारोबार भएकोमा बिहीबार ८० प्रतिशतले वृद्धि हुँदै ९ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । यसले पनि बजारमा थप लगानीकर्ता भित्रिएको देखाउँछ । यी लगानीकर्ताहरुले अब बजारलाई चलायमान बनाउन भूमिका खेल्ने भएकाले पनि करिब डेढ सय देखि २०० अंक बजार सूचक उचालिन सक्छ । त्यस्तो भयो भने लगानीको माहोल आकर्षित हुन्छ र बजारले नयाँ उच्च बिन्दू पच्छ्याउन सक्छ ।
सेयर धितो कर्जामा लगाइएको सीमा एउटा वित्तीय संस्थाबाट ४ र वित्तीय प्रणालीबाट १२ करोडको दबाब बजारले पचाइसकेको छ । बजारमा पछिल्लो दुई दिन ब्याजदर आतङ्क छाएको छ । ब्याजदर वृद्धिको आंतङ्कले लगानीकर्ता थप पेनिक बनेको स्थिति हो । निक्षेपमा ब्याजदर बढाउने होडबाजी सुरु भइसकेको छ ।
यसको प्रभाव स्वभाविक रुपमा कर्जाको ब्याजदरमा पनि पर्छ । तर, यो समय लाभांशको समय हो । सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रम सुरु भएको छ । र, यो क्रम पुससम्म अधि कम्पनीहरुको जारी रहन्छ । राम्रा कम्पनीहरुको सेयर होल्ड गरेका लगानीकर्ताहरुलाई लाभांश आउँदा घाटा खानु पर्दैन ।
अर्कोतिर अहिलेकै अवस्थालाई विश्लेषण गर्ने हो भने पनि ब्याजदर शून्य दशमलव ५ देखि १ प्रतिशतसम्म बढ्न सक्छ । त्यो भनेको सेयर बजारको प्रतिफल कम नै हो । यदि कर्जाको ब्याजदर बढेर दोहोरो अंक समाउने प्रक्रिया सुरु भएमा भने लगानीकर्ताले दबाब महसुस गर्नुपर्छ । १० प्रतिशतसम्मको कर्जाको ब्याजदर लगानीकर्तालाई खासै दबाब दिँदैन । किनभने स्मार्ट लगानीकर्ताले बजारबाट १० प्रतिशतको ब्याजको कर्जालाई ३/४ गुणासम्म फड्को लगाएर आम्दानी गर्न सक्छ । यसले लगानीकर्ता फाइदामै हुन्छन् र ब्याजमा चिन्ता लिँदैनन् ।
बुधबार २८८९ बिन्दूमा रोकिएको नेप्से बिहीबार पनि त्यहीबाट ओरालो लाग्न थाल्यो । बीच-बीचमा सामान्य वृद्धिको संकेतहरु देखाएको थियो । तर, अन्तिममा ७६.६५ अंकले बजार घटेको छ । घटेको बजारमा पनि मनकामना स्मार्ट लघुवित्तको १० प्रतिशतले नै मूल्य बढको छ भने राष्ट्रिय बिमा कम्पनीको सामान्य वृद्धि देखिएको छ । बिहीबार कर्पोरेट डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै ८.१७ प्रतिशतले मूल्य घटेको छ । उच्च मूल्य घट्ने कम्पनीहरुमा विकास बैंक, जलविद्युत् र फाइनान्स छन् । बिहीबार अरुण भ्याली हाइड्रो पावरको सबैभन्दा धेरै ३८ करोड ६० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।