बिहीबार, मंसिर १६ २०७८ ०४:१५ PM

×

बागमती प्रदेशमा गाडीको भाडा बढ्यो,चढ्ने बित्तिकै १८ रुपैयाँ 

images

काठमाडौं । सोमबारदेखि बागमती प्रदेशका १३ जिल्लामा सञ्चालित सार्वजनिक सवारी साधनमा भाडा बढेको छ । योसँगै काठमाडौं उपत्यकामा गाडी चढ्ने बित्तिकै यात्रुले १८ रुपैयाँ तिर्नुपर्ने भएको छ । 

गत असोज २० गते प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक १ गतेदेखि लागु हुने गरी भाडा बढाउने निर्णय गरेको थियो । सोहि निर्णयअनुसार आजबाट भाडा बढेको हो । 

प्रदेश सरकारले काठमाडौं उपत्यकामा किलोमिटर र उपत्यका बाहिर प्रतिशतको आधारमा भाडा बढेको जनाएको छ । प्रदेश सरकारकाअनुसार उपत्यकाभित्र ५ किलोमिटरसम्म १८ रुपैयाँ, १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ , २० किलोमिटसम्म ३० रुपैयाँ र २० किलोमिटर भन्दामाथि ३५ रुपैयाँ भाडादर कायम भएको छ । 

तर, सवारी धनीहरुले यात्रुसँग न्यूनतम २० रुपैयाँ भाडा लिने गरेका छन् । यसअघि पनि १३ रुपैयाँ भाडा रहेकोमा सवारी धनीहरुले १५ रुपैयाँ लिदै आएका थिए । 

त्यस्तै उपत्यका बाहिर बागमती प्रदेशभरी चल्ने सार्वजनिक सवारी साधनमा २३ प्रतिशत भाडा बढेको छ । साथै यात्रुले १५ किलोमिटरसम्म सामानको भाडा तिनु पर्दैन । तर, १५ किलोमिटर भन्दा बढी सामान बोकेमा प्रति १० किलो सामानको ५ रुपैयाँका दरले भाडा लाग्ने बताइएको छ । 

त्यस्तै यातायात व्यवस्था कार्यालयबाट डिलक्स सुविधा लिएको प्रमाणित भएका सवारी साधनहरुले प्रदेश सरकारले तोकेको भाडादरमा २० प्रतिशतसम्म थप गरी भाडा लिन पाउने व्यवस्था सरकारले गरेको छ । असार २९ गतेबाट लागु हुने गरी लामो दूरीमा चल्ने (अन्तर प्रदेश) सवारी साधनको भाडा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बढाइसकेको छ ।

यद्यपी प्रदेश भित्र चल्ने सवारी साधनको भाडा समायोजन सम्बन्धित प्रदेशले नै गर्नु पर्ने कानुनी व्यवस्था रहेको छ । सोहिअनुसार बागमती प्रदेशले भाडा बढाएको हो । सार्वजनिक सवारी साधनका चालक सह–चालक तथा व्यवसायीहरुले भाडा समायोजनासहितका विभिन्न माग राख्दै पछिल्लो समय आन्दोलन गर्दै आएका थिए । 


 

सोमबार १ कात्तिक २०७८ ०२:०५ PM मा प्रकाशित

प्रतिक्रिया