काठमाडौं । गत साता अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारलाई फुलेको बेलुनसँग तुलना गरेसँगै त्यसको असर सेयर बजारमा परेको छ । निरन्तर गिरावटकै अवस्थामा रहेको सेयर बजारमा अर्थमन्त्रीको भनाइसँग असहमत हुँदै सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तेस्रो पटक सय अंकभन्दा बढीले घटेको छ ।
यसअघि सेयर बजार सूचक २०७७ मंसिर २१ गते १२३ र भदौ २० गते १०८ अंकले घटेको थियो । भदौ २० मा सुरुमा १४७ अंकसम्म घटेको नेप्सेपछि सम्हालिँदै सो बिन्दूमा रोकिएको थियो । यसअघि २०७७ मंसिर २१ मा १२३ घटेकाे थियाे । जुनबेला बजार बुलिस ट्रेन्डमा थियाे । १ बजेर ३९ मिनेट जाँदा ११३ अंकले घटेर २६९९.२३ बिन्दूमा अाइपुगेकाे छ ।
गत साता नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था आइक्यानको कार्यक्रममा अर्थमन्त्री शर्माले भनेको थिए ‘मलाई सेयर बजारका बारेमा नबोल्न भनिएको छ, अहिलेको सेयर बजार हावा भरिएको बेलुन जस्तै फुलेर भरिएको छ । जुनसुकै बेला फुट्न सक्छ ।’
यो भनाइसँगै लगानीकर्ताहरुले सामाजिक सञ्जालमार्फत तीब्र आक्रोश पोखेका थिए । अर्थमन्त्री शर्माको भनाइसँगै पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री डा. बाबुराम भट्टराईसँग तुलना गर्दै माओवादी सेयर बजार प्रति नकारात्मक रहेको भाव व्यक्त गरिरहेका छन् ।
केही लगानीकर्ताहरुले अर्थमन्त्री शर्मा र गभर्नर महाप्रसाद अधिकारीको राजीनामा/बर्खास्ती माग गर्दै नेप्से प्राङ्गण अघि आमरण अनशन बसेका थिए । आमरण अनशनमा प्रहरी हस्तक्षेपसमेत भएको थियो ।
खासगरी, मौद्रिक नीतिमार्फत सेयर धितोमा एकल ग्राहक कर्जा सीमा प्रतिवित्तीय संस्था ४ करोड र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँ तोकेसँगै बजार निरन्तर ओरालो छ । सेयर सूचक घटेसँगै कारोबार रकम भने वृद्धि देखिएको छ । यसले बजार अझै ओरालो लाग्छ भने संकेत गर्छ ।