×

काठमाडौंमा थपिँदै पर्यटकीय पूर्वाधार, निर्माण भयो दक्षिण एसियाकै पहिलो ‘स्काइवाक टावर’

images

काठमाडौं । काठमाडौंको कमलादीमा निर्माण भइरहेको दक्षिण एसियाकै पहिलो स्काइवाक टावरको निर्माणकार्य सम्पन्न भएको छ । यही दसैंको घटस्थापनामा उद्घाटन गर्ने गरी अहिले फिनिसिङको काम भइरहेको वन्डरर्स नेपाल प्रालिका अध्यक्ष आकर्षण पोखरेलले जानकारी दिए । 

images

नेपालकै पहिलो ‘स्काई वाक भ्यू टावर’को काम ७० प्रतिशत सकियो, वैशाखमा खुल्ने

२ अर्ब रुपैयाँ लागतमा निर्माण भइरहेको सो टावर नेपालकै पहिलो हो । टावर १८ महिना भित्रमा सञ्चालनमा ल्याउने गरी २०७६ साल मंसिरमा शिल्यान्यास भएको थियो ।

कोभिडका कारण निर्माणकार्य प्रभावित भए तापनि अहिले काम सकिइसकेको छ । यस्तै फिनिसिङको कामसमेत अन्तिम चरणमा पुगेको पोखरेलले जानकारी दिए ।

पर्यटकका लागि केही नयाँ चिज दिनका लागि भनेरै स्काइवाक टावर निर्माण भएको हो । पछिल्लो समय नेपालमा नयाँ–नयाँ र साहसिक पर्यटकीय गन्तव्यहरु निर्माण हुने क्रममा स्काइवाक पनि थपिएको हो । 

२ वर्षभित्रै सञ्चालनमा ल्याउने गरी २०७६ साल मंसिरमा शिल्यान्यास भएको थियो । तर, काम सुरु भएपछि विश्वव्यापी कोभिड महामारीका कारण समय अवधि लम्बिएको हो । 

अहिलेको तयारीअनुसार बीचमा कुनै समस्या नआएमा घटस्थापनामा उद्घाटन गर्ने तयारीका साथ काम भइरहेको छ । ‘अब धेरै समय लम्ब्याउने अवस्थामा हामी छैनौं’, अध्यक्ष पोखरेलले भने, ‘निर्माण अवधि लम्बिदा लागत पनि बढेको छ ।’ 

२ अर्ब रुपैयाँ लागतमा निर्माण भइरहेको सो टावरमा ११ जना लगानीकर्ता छन् । मनोरञ्जनका लागि नाइट क्लब पनि सञ्चालन हुने टावरमा १० वटा कोठा, मिटिङ हलसमेत हुनेछ । त्यसको माथि १०० जना अट्ने रेष्टुराँ र सबभन्दा टपमा स्काइवाक हुनेछ ।  

१३.२ रोपनी जग्गामा निर्माण भइरहेको सो टावर नेपाली भवनको ढाँचाअनुसार झन्डै २८ तलाबराबरको अर्थात् ७८ मिटर अग्लो टावर हुनेछ ।

टावर निर्माणमा स्ट्रगेस क्यानडा, इभर प्रोस्पर चीन र समर ग्रुप नेपाल परामर्श साझेदार रहेका छन् । सिसाको टावरमा पार्किङ, हेल्थ क्लब, रेस्टुराँ, स्विमिङ पुल, एयर रेस्टुराँ, पसल र एयर क्लब सञ्चालन हुने अध्यक्ष पोखरेलले जानकारी दिए ।टावरभित्र राखिने लिफ्ट जमिन सतहदेखि सीधै ६८ मिटर माथि पुगेर रोकिनेछ, जहाँ सिसाको हिँड्ने बाटो बनाइएको हुन्छ । 

उक्त टावर अमर कन्ट्रक्सन कम्पनीले बनाएको हो । स्टिल स्ट्रक्चरको जिम्मा सेफ स्टिलले पाएको छ । टावरको ७५ मिटर उचाइमा सिसामाथि हिँड्न सकिने बताइएको छ । टावरमा प्रवेश गर्दा निश्चित शुल्क लाग्नेछ भने टावरमा जानेहरुको सुरक्षा जाँच हुनेछ ।

टावरमा अन्डरग्राउन्डसहित १५० भन्दा बढी कार र ५ सयभन्दा बढी मोटरसाइकल पार्क गर्न सकिनेछ । टावरलाई सुरक्षित पर्यटकीय र मनोेरञ्जनको गन्तव्य बनाउने योजना कम्पनीको छ ।

स्काइवाक टावर दैनिक ४ हजार ४ सय जनालाई अवलोकन गराउन सक्ने क्षमताको हुनेछ । टावरमा फलामको काम सकिन लागेको र अब सिसा राख्ने काम भइरहेको छ । त्योसँगै टावरमा राख्ने रेस्टुराँहरुको पनि तयारी हुन थालेको जनाएको छ । प्रांगणमा व्यवसायिक सटरहरु पनि निर्माण भइरहेका छन् ।


 

बिहीबार ९ असार २०७९ ०७:५६ AM मा प्रकाशित

प्रतिक्रिया