काठमाडौं। भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता ६ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पाइपलाइनबाट आयात भएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ। नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको ६ वर्ष पूरा भएको छ।
पाइपलाइनबाट हालसम्म ६ अर्ब १४ करोड ३५ लाख लिटर डिजेल, २० करोड १५ लाख लिटर पेट्रोल र ४१ लाख लिटर मट्टीतेल आयात भएको प्रादेशिक प्रमुख प्रलयंकर आचार्यले जानकारी दिए। अहिले मोतिहारीबाट पाइपलाइनमार्फत अमलेखगञ्जसम्म पेट्रोल, डिजेल र मट्टितेल आयात भइरहेको छ।
पाइपलाइनबाट २०७६ देखि नै डिजेल आयात भइरहेको छ। २०८१ असोज २४ देखि पेट्रोल र २०८१ मंसिर १९ देखि मट्टीतेल पाइपलाइनबाट ल्याउन थालिएको हो। दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजनाको कुल लम्बाइ ६९ दशमलव दुई किलोमिटर छ। यसमध्ये भारततर्फ ३३ किलोमिटर र नेपालतर्फ ३६ दशमलव दुई किलोमिटर छ।
पेट्रोल, डिजेल र मट्टीतेल आयात गर्न सकिने गरी ‘मल्टी प्रोडक्ट पाइपलाइन’ निर्माण गरिएको छ। पाइपलाइनबाट आयातीत पेट्रोलियमले नेपालको करिब ७० प्रतिशत माग पूर्ति हुँदै आएको छ।
अमलेखगञ्जबाट काठमाडौं, विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगञ्ज, जनकपुरस्थिति डिपोमा इन्धन आपूर्ति हुँदै आएको छ। अमलेखगञ्जबाट स्थानीयस्तरका पम्पका लागि पनि पेट्रोलिमय पदार्थ बिक्रीवितरण हुँदै आएको छ।
पेट्रोलियम पाइपलाइन परियोजनाको पहिलो चरणअन्तर्गत भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म पाइपलाई बिच्छयाइएको थियो। दोस्रो चरणमा अमलेखगञ्जमा पेट्रोलियम भण्डारण क्षमता अभिवृद्धिसँगै ‘अटोमेसन’को काम सम्पन्न गरिएको हो।
अमलेखगञ्जमा भण्डारण क्षमता विस्तार गरी १७ हजार ५०० किलोलिटर पेट्रोल, २७ हजार ५०० किलोलिटर डिजेल र २ हजार २०० किलोलिटर मट्टीतेल राख्न सकिने बनाइएको छ।
मुलुकमा पेट्रोलियम सहज आपूर्ति र वितरण प्रणालीलाई सुनिश्चित गर्न २०३० मा अमलेखगञ्ज डिपो निर्माण सुरु गरिएको थियो। करिब ६७ हजार ७२४ वर्गमिटरमा फैलिएको डिपो निर्माण सम्पन्न गरी २०३३ माघबाट सञ्चालनमा आएको थियो। देशकै सबैभन्दा ठूलो डिपोका रूपमा रहेको छ।
पेट्रोलियम ढुवानीका क्रममा लाग्ने ठूलो खर्च पनि जोगिएको छ। पाइपलाइनबाट तेल आउन थालेपछि वार्षिक ३ अर्ब ढुवानी खर्च बचत भएको छ। पाइपलाइनबाट दैनिक ६ हजार किलोलिटर पेट्रोलियम अमलेखगञ्ज ल्याउन सकिने भए पनि माग नबढ्दा पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको प्रमुख आचार्यको भनाइ छ।