×

बारका पूर्वअध्यक्ष दाहालमाथि जग्गा काराेबारमा ८ करोड घुस लिएर हुन्डी गर्न सघाएको आरोप

images

काठमाडौं । जिल्ला अदालतका न्यायाधीश र अधिवक्ता रुद्र पोखरेलबीच वित्तीय ठगीकाे मुद्दाकाे आरोपमा पुर्पक्षका लागि थुनामा रहेका इच्छाराज तामाङलाई धरौटीमा छोड्नेसम्बन्धी डिल भएको अडियो बाहिरिएपछि वरिष्ठ अधिवक्ता एवं बार एसोसियसनका पूर्वअध्यक्षसमेत रहेका हरिहर दाहालको नाम हुन्डी प्रकरणमा मुछिएको छ ।

अधिवक्ता प्रेमसिंह धामीले वरिष्ठ अधिवक्ता दाहाल र अधिवक्ता युवराज भण्डारीमाथि छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएका थिए । तर, स्वयंले उक्त निवेदन सार्वजनिक गर्दै धामीले आयोगको ध्यानाकर्षण गराएका हुन् । 

धामीले ललितपुरस्थित एउटा जग्गा कारोबारमा भएको ३२ करोड रूपैयाँ हुन्डीमार्फत भारतलगायतका देशमा गएको र यसमा वरिष्ठ अधिवक्ता दाहाल नै संलग्न रहेको भन्दै अख्तियारमा निवेदन दिएका थिए ।

३ रोपनी ७ आना जग्गाको हकमा २०७४ पुस १७ गते अल्कानन्द सेन गुप्ताको वारेस अमृतकुमार केसीले ललितपुर जिल्ला अदालतमा विनेदनसहित २ करोड ३ लाख ४ हजार ८३६ रूपैयाँ नगद नै जम्मा गरेको र उक्त रकम वरिष्ठ अधिवक्ता दाहाल र अधिवक्ता भण्डारीको संयुक्त अफिसबाट नगद जम्मा भएको धामीकाे भनाइ छ । 

धामीले बिहीबार उजुरी सार्वजनिक गर्दै आफूले उल्लेख गरेको व्यहोरा साँचो रहेको र जग्गा मिलाइदिएबापत वरिष्ठ अधिवक्ता दाहाल र अधिवक्ता भण्डारीले कमिसनबापत दुवै पक्षबाट ८ करोड रूपैयाँ लिएकाे दाबी गरेका छन् ।

बिहीबार ९ असार २०७९ ०४:०७ PM मा प्रकाशित

प्रतिक्रिया