×

अटोमोबाइल व्यवसाय संकटमा

images

काठमाडौं। सात महिनादेखि इन्धन गाडी आयातमा लागेको प्रतिबन्धले दर्जनौं शोरुम बन्द भएका छन् भने धेरैको रोजगारी गुमिसकेको छ। हजारौंको रोजगारी गुम्ने खतरा बढ्दै गएको छ। 

विदेशी मुद्रा सञ्चिति कम भएको भन्दै गत वैशाखदेखि इन्धन गाडी आयातमा प्रतिबन्ध लगाइएपछि गाडीसँगै सम्बन्धित सबै व्यवसाय लगभग ठप्प अवस्थामा छन्।

हाल सञ्चालन भइरहेका शोरुम र त्यहाँका कामदारको अवस्था कोरोना महामारीका बेलाभन्दा कष्टकर छ। कोरोना महामारीपछि केहि गति लिन थालेको अटोमोबाइल व्यवसायमा आयात प्रतिबन्ध लागेदेखि धेरै कर्मचारीका तलब ३०  देखि ४० प्रतिशतसम्म कटौती गरिएको छ भने धेरैलाई कामबाट हटाइएको छ।

इन्धन गाडीसँग सम्बन्धित व्यवसायमा जोडिएका धेरैलाई महिनामा १५ दिन  कामम लागउने र आधा महिना छुट्टीमा बस्नुपर्ने बाध्यतासमेत सिर्जना भएको छ। 

तर, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार विदेशी मुद्रा सञ्चितिमा सुधार आएपछि निर्वाचनपछि आयात प्रतिबन्ध खुल्ने चर्चा भइरहेको छ।

राष्ट्र बैंकका अनुसार गत असोज मसान्तसम्म ८.३ महिनाका लागि वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति भएको छ। त्यही विषयलाई आधार बनाएर हाल आयात प्रतिबन्धमा रहेका गाडी, मोटरसाइकल, मोबाइल, टेलिभिजन र मदिरा गरी चार वस्तुमाथिको आयात प्रतिबन्ध निर्वाचनपछि खुल्ने चर्चा चलेको हो। तर, आयात प्रतिबन्ध खुल्ने वा नखुल्ने विषय अन्यौल नै रहेकाले इन्धन गाडी तथा मोटरसाइकलका शोरुम भने धमाधम बन्द भइरहेका छन्।

बन्द गर्ने अवस्था पहिल्यै भएको हो, जेनतेन धानेका छौं:टाटा मोटर्स 

नेपाली बजारमा इन्धनबाट चल्ने विभिन्न सवारीसाधन बिक्री वितरण गर्दै आएको टाटा मोटर्सले आयात प्रतिबन्धका कारण आफूहरु शोरुम तथा यसका शाखा बन्द गर्ने अवस्थामा पुगिसकेको पनि इज्जतकै लागि जेनतेन धानेर राखेको जनाएको छ।

बाहिरबाट ल्याउन नपाउने, स्टकमा रहेका साधन पनि बिक्री गर्न नपाउने र बिक्री नहुने विभिन्न कारण आर्थिकरूपमा टाटा मोटर्स संकटमा रहेको उसको धारणा छ। 

टाटा मोटर्सका बजार व्यवस्थापन प्रमुख रुपम श्रेष्ठ आफूहरूले भाडा बुझाइरहनुपरेको, कर्मचारीमा तलब खर्च भइरहेको अवस्थाले कोरोना महामारीको निषेधाज्ञा समयभन्दा निकै संकटपूर्ण अवस्था रहेको बताउँछन्। 

‘प्रतिबन्धका कारण धेरै शोरुम बन्द भइसकेका छन्। अब प्रतिबन्ध खुल्छ कि भन्ने आसा छ,’ श्रेष्ठले क्यापिटल नेपालसँग  भने, ‘निर्वाचनलगत्तै प्रतिबन्ध खुलेछ भने पनि पहिलाको अवस्थामा आउन लगभग एक वर्ष लाग्छ। जसले गर्दा हामी निकै कठिन अवस्थामा रहेका छौं।’ 

उनका अनुसार टाटा मोटर्सले कर्मचारी निकाल्ने र तलब कटौती गर्ने काम गरिनसकेको तर विभिन्न फरक विभागमा कर्मचारीलाई काम लगाएर राखिएको छ। 

आयात प्रतिबन्ध अझै लामो समय कायम रहिरहने हो भने बाध्य भएर सेवा बन्द गर्ने, कर्मचारी कटौत गर्नेजस्ता योजना बनाउनुपर्ने उनको भनाइ छ। जति ढिलो हुन्छ, त्यति थेग्न नसक्ने अवस्था आउने उनले बताएर

‘प्रतिबन्ध खुलेर पनि सरकारबाट सहयोग भएन भने माथि उठ्न सक्ने अवस्था छैन,’ श्रेष्ठले भने, ‘तुलनात्मक हिसाबमा टाटा मोटर्स बन्द गर्नुपर्ने अवस्थामा पुगिसके पनि इज्जतकै लागि हालसम्म बन्द नगरेका हौं। योभन्दा ठूलो बोझ बोक्न सक्ने अवस्था छैन। अटोमोबाइल सेक्टर इतिहासकै कमजोर र संकटग्रस्त अवस्थामा पुगेको छ।’

शोरुम बन्द र तलब कटौतीसम्म पुगेका छैनौं, अवस्था कठिन छ: सिजी मोटर्स

लामो समयदेखिको आयात प्रतिबन्धका कारण व्यवसाय ठप्प भएको तर हालसम्म कर्मचारी निकाल्ने, तलब कटौती गर्ने र शोरुम बन्द गर्ने काम नभएको मारुती सुजुकीको नेपालस्थित आधिकारिक विक्रेता सिजी मोटर्सले जनाएको छ। 

सिजी मोटर्सका बजार व्यवस्थापक करण शाक्यका अनुसार बजार ठप्प रहेकाले यही अवस्था रहे कहिलेसम्म धान्न सकिन्छ भन्ने अवस्था आएको बताए। 

‘६–७ महिना लामो प्रतिबन्धले बजार ठप्प छ,’ शाक्यले भने, ‘बजार ठप्प भए पनि हालसम्म व्यवस्थापन गरिरहेका छौं। शोरुम बन्द गर्ने र कर्मचारीको तलब कटौती गर्नेसम्म पुगिसकेका छैनौं।’ 

उनले हाल अटोमाबाइल क्षेत्रको अवस्था कोरोना महामारीभन्दा कठिन रहेको बताए। सम्बन्धित निकायले यस विषयमा ध्यान दिन निकै ढिला गरिसकेको उनको भनाइ छ। 

‘अब खुल्छ कि, अब खुल्छ कि भन्ने आशमा लामो समय बितिसकेको छ तर सरकारले चासो नदिँदा अटोमोबाइल व्यवसाय संकटमा परिसकेको छ,’ उनले भने।

चलाउने र बन्द गर्ने दुवै अवस्थामा छैनौं: होन्डा

नेपालको पुरानो इन्धन गाडी विक्रेता होन्डाले पनि लामो समयको प्रतिबन्धका कारण समस्यामा रहेको जनाएको छ।  होन्डाका बजार व्यवस्थापक मनिका रानाका अनुसार प्रतिबन्धले यति असर गरिसकेको छ कि अहिले व्यवसाय सञ्चालन गर्ने र बन्द गर्ने दुवै अवस्था छैन।

‘बन्द गरौं भने यति लामो समयदेखिको शाख एकैपटक सकिन्छ। नगरौं भने चलाउन सक्ने अवस्था छैन,’ रानाले भनिन्, ‘हामी वास्तवमा भनौं भने बन्द गर्न सक्ने र सञ्चालन गर्न सक्ने दुवै अवस्थामा छैनौं।’

उनले हालसम्म होन्डा शोरुम बन्द नभएको र कसैको रोजगारी नछुटाए पनि समस्यामा रहेको बताइन्। धेरै श्रमिकले रोजगारी गुमाएको, तलब कटौती गरिएको लगायत कुरा सुन्नमा आए पनि आफूहरूले हालसम्म त्यस्तो नगरेको तर त्यस्तो अवस्था आउन सक्दैन भन्ने अवस्था नरहेको उनको भनाइ छ। 

महिनामा आधा समय काम लगाउने र आधा छुट्टी दिएर सञ्चालन गर्ने कि भन्नेबारे छलफल भए पनि त्यसको निर्णयमा नपुगेको उनले जानकारी दिइन्। 

सञ्चितिमा सुधार देखिएकाले प्रतिबन्ध फुकुवा गर्न ढिला गर्नुहुन्न: नाडा 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पछिल्लोपटक विदेशी मुद्रा सञ्चितिमा सुधार देखिएको र अटोमोबाइल क्षेत्र थप ध्वस्त हुन नदिन पनि गाडी आयात प्रतिबन्ध फुकुवा गर्नुपर्ने जनाएको छ। 

नाडाका अध्यक्ष धु्रर्व थापाले हालसम्म १ सयभन्दा बढी शोरुम बन्द भएको बताए। अझै ढिला गरे अटोमोबाइल क्षेत्र कहिल्यै पनि पहिलेको अवस्थामा नफर्किने गरी बन्द हुनसक्ने आशंका व्यक्त गरे। प्रत्येक दिन कुनै न कुनै शोरुम बन्द हुने अवस्था आएको र गाडी, मोटरसाइकलसँग सम्बन्धित सबै व्यवसाय अप्ठ्यारोमा परेको उनले बताए। 

उनका अनुसार अटोमोबाइलसम्बन्धी धेरै व्यवसायमा कार्यरतको रोजगारी गुमेको छ भने कसैको आधा तलब कटौती भएर काम गर्नुपरेको छ। हालको यो अवस्था  सरकार, अटोमोबाइल व्यवसायी र योसँग जोडिएका सबैका लागि राम्रो खबर होइन। 

सरकारले गत वैशाखमा विदेशी मुद्रा सञ्चिति कम भएको भन्दै विभिन्न बिलासी वस्तु आयातमा रोक लागाउने निर्णय गरेको थियो। सरकारले वैशाखमा १० प्रकारका वस्तु आयात असारमसान्तसम्म लागू हुने गरी लागेको प्रतिबन्धमा थप कडाइ गर्दै बढाएर असार ३१ पु¥याएको थियो। 

भदौ १४ मा सरकारले कुरकुरे, हिरालगायत ६ प्रकारका वस्तुको प्रतिबन्ध फुकुवा गर्दै गाडी, मोबाइल, मदिरा र मोटरसाइकल गरी चार वस्तु आयात प्रतिबन्ध यथावत राखको थियो। त्यसयता आयता प्रतिबन्ध जारी छ। 
 

बिहीबार ८ मंसिर २०७९ ०७:०८ AM मा प्रकाशित

प्रतिक्रिया