काठमाडौं । सरकारले गैरआवासीय नेपाली (एनआरएन) लाई डलरमा खाता खोल्न दिने भएको छ । एनआरएनले डलरमा खाता खोल्न दिन माग गरिरहेका बेला सरकारले उक्त मागलाई सम्बोधन गर्न लागेको हो ।
एनआरएनलाई डलरमा खाता खोल्न दिन अर्थ मन्त्रालयले प्रक्रिया अघि बढाइसेको र एक साताभित्र अर्थले निर्णय गर्ने कुरा अर्थ–सचिव मधुकुमार मरासनीले बताए । विदेशी मुद्रा सञ्चिति बढाउन र थप लगानी भित्र्याउनका लागि डलरमा खाता खोल्ने दिन लागेको उनको भनाइ छ ।
चालू आर्थिक वर्ष सुरु भएपछि आयात बढेर विदेशी मुद्रा सञ्चिति घट्न थालेपछि सरकारले डलरमा खाता खोलेर विदेशी मुद्रा भित्र्याउन खोजेको हो । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म विदेशी विनिमय सञ्चिति ५.७ प्रतिशतले घटेर असोज मसान्तसम्ममा १३ खर्ब १९ अर्ब ३२ करोड रुपैयाँमा झरेको छ ।
२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब २ करोड रुपैयाँबराबर रहेको कूल विदेशी विनिमय सञ्चिति थियो । आयात बढेर विदेशी मुद्रा सञ्चिति ५.७ प्रतिशतले घटेपछि साढे ७ महिनाको वस्तु तथा सेवा आयात धान्नेमा झरेको छ ।
यसअघि औसत १० देखि ११ महिनाको वस्तु तथा सेवा धान्ने गरी विदेशी मुद्रा सञ्चिति हुने गरेकोमा साउनयता घट्न थालेको हो । यता डलर आम्दानी गर्ने पर्यटन क्षेत्र पनि कोरोना महामारीले थलिएका कारण यसको असर सञ्चितिमा समेत परेको छ ।
विदेशी मुद्रा सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलरमा खाता खोल्न दिनुपरेको अर्थ–सचिव मरासनीको भनाइ छ । गैरआवासीय नेपालीले पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान पाउने सहज वातावरण निर्माण गर्ने तयारी अर्थ मन्त्रालयको छ ।
डलरमा खाता खोल्न दिने व्यवस्था कार्यान्वयनमा आएपछि एनआरएनले विदेशबाट अर्बौं डलर ल्याउने वातावरण बन्ने एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनलराज भट्टराई बताउँछन् ।
एनआरएनसँग नेपालको कुल गाहस्र्थ (जीडीपी) को दोब्बर डलरमा लगानी गर्ने पैसा रहेको बताउँदै खाता खोल्न दिएमा धमाधम विदेशी लगानी आउने बाटो खुल्ने उनले बताए ।
एनआरएन फन्डले पनि पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि विदेशमा रहेका गैरआवासीय नेपालीबाट ८ अर्ब रुपैयाँ उठाउँदै छ ।डलरमा खाता खोल्न दिएमा अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्नेे बुझाइ मरासिनीका छ ।