काठमाडौं । नयाँ बजेट ल्याउने विषयमा अर्थमन्त्री जनार्दन शर्माले केही पूर्वअर्थमन्त्रीसँग छलफल गरिरहेका छन् । उनले अर्थसचिव शिशिरकुमार ढुंगानालाई लिएर पूर्वअर्थमन्त्रीहरु सुरेन्द्र पाण्डे, शंकर कोइराला, वर्षमान पुनसँग छलफल गरिरहेको अर्थमन्त्रालय स्रोतले जानकारी दियो ।
शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बित्तिकै नयाँ बजेट ल्याउन सक्ने आशय व्यक्त गरेका थिए । त्यसका अलवा पूर्वअर्थमन्त्रीहरुले पनि संसद् बजेट पास गरेकाले नयाँ सरकारले बजेट ल्याउनुपर्ने सुझाव राखेका थिए । सोही अनुरुप अहिले शर्मा बजेट ल्याउने विषयमा छलफलमा जुटेका छन् ।
कोरोनाबाट थलिएको अर्थतन्त्रलाई माथि उकास्न राहतको प्याकेज ल्याउने यस अघि नै उद्घोष गरिसकेका अर्थमन्त्री शर्माले नयाँ बजेटका बारेमा गृहकार्य गरेका हुन् ।
यद्यपि, यस अघिको सरकारले निजी क्षेत्रले भनेअनुरुप बजेट ल्याएकाले त्यसैलाई कार्यान्वयन गरेर अघि बढ्न सरकारलाई अनौपचारिक रुपमा सुझाव दिँदै आएका छन् ।
‘तर, अर्थ मन्त्रालय अहिलेको भन्दा सानो आकार र वास्तविक बजेट ल्याउन लागेको र त्यसैमाथि केन्द्रित भएर आइतबार पूर्वअर्थमन्त्रीसँग वर्तमान अर्थमन्त्री शर्माले छलफल गर्नुभएको हो,’ अर्थका एक अधिकारीले भने ‘शर्माले पूर्वअर्थमन्त्री शंकर कोइराला, वर्षमान पुन, सुरेन्द्र पाण्डेलगायतसँग छलफल गरिरहनु भएको छ ।’
सरकारले विश्वासको मत पाएसँगै नयाँ बजेटको छलफललाई तीब्रता दिएको हो । संसदमा विश्वासको मत नपाए यही बजेटलाई कार्यान्वयन गर्ने र पाएको अवस्थामा नयाँ बजेट ल्याउने तयारी थियो ।
अर्थमन्त्री शर्माले सर्वाेच्च अदालतको फैसलाले बजेटमाथि गरिदिएको टिप्पणी र राजनीतिक परिस्थितिको विश्लेषण तथा कानुनी परामर्शमा छन् ।
हालै सर्वाेच्चको फैसलाअनुसार संविधानको धारा ७६(५) बमोजिमको सरकार गठन भएको छ । सरकारले धारा ७६ (६) बमोजिम संसद्मा विश्वास लिइसकेको छ ।
विश्वासको मत प्राप्त भई देउवा नेतृत्वको सरकारले निरन्तरता पाएपछि अर्थमन्त्री शर्माले नयाँ बजेटका लागि छलफल अघि बढाएका हुन् ।
बजेट पेस गर्नुपर्ने भनी संविधानमै किटानीसाथ उल्लेख गरिएको मितिभन्दा केवल हप्ता दिनअगाडि प्रतिनिधिसभा विघटन गरि तत्कालीन सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो ।