×

भारतीय पर्यटकका लागि फिल्म ‘उचाइ’ बन्न सक्छ कोसेढुंगा

images

काठमाडौं । नेपालको हिमाली क्षेत्रमा छायांकन गरिएको भारतीय फिल्म ‘उचाइ’ यति बेला विश्वभरका हलमा लागिरहेको छ।  फिल्मले विश्व बजारमा राम्रो प्रतिक्रिया पाइरहँदा नेपालप्रतिको चासो बढिरहेको छ। विशेष गरेर भारतीयहरूले नेपालका पर्यटकीय क्षेत्रहरूलाई हेरेर राम्रो प्रतिक्रिया दिइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसरी एउटा फिल्मले नेपालको पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गरिरहँदा सो फिल्म नेपाली पर्यटनका लागि कोसेढुंगा सावित हुन सक्ने विश्लेषणसमेत सुरु भएको छ। हुन त अहिले पनि नेपालमा धेरै भारतीय पर्यटकहरू सडक र हवाई मार्गमार्फत आउने गरेको छ।  अब यो फिल्म हेरेपछि हिमाली क्षेत्रका मनमोहक दृश्यहरूसँग खुसी साट्नका लागि भारतीयहरू धेरै आउने आंकलन पर्यटन व्यवसायीहरूले गर्न थालेका छन्।

काठमाडौं म्यारियटका सञ्चालक शशिकान्त अग्रवालले उचाइ फिल्म नेपालको पर्यटन क्षेत्रका लागि कोसेढंगा सावित हुन सक्ने बताउछन्। भारतीय फिल्म छायांकनका लागि सन् १९९५ देखि २००० सम्म न्युजिल्यान्ड सरकारले लिएको नीतिलाई उदाहरण दिँदै सञ्चालक अग्रवालले त्यसबाट नेपालले धेरै पाठ सिक्न आवश्यक रहेको बताए।

त्यो बेला न्युजिल्यान्ड सरकारले भारतीय फिल्म आफ्नो भूमिमा छायांकन गर्न आउनेहरूका लागि आन्तरिक भाडा सबै बेहोर्ने, सुरक्षाको जिम्मा सबै सरकारले लिने, होटलमा १० प्रतिशत मात्र सुटिङ युनिटले दिनुपर्ने बाँकी ९० प्रतिशत सरकारले नै तिरिदिने नीतिको स्किम निकालेको थियो ।

न्युजिल्यान्ड सरकारको त्यो सहुलियतलाई स्वीकार गर्दै ठूला बजेटका ८ देखि १० वटा फिल्महरू सुट भयो । जब, ती फिल्महरू भारतसहित विश्वभर प्रदर्शनमा आयो तब न्युजिल्यान्डमा भारतीयहरू घुम्नका लागि जानेको लर्को लागेको थियो। त्यही बेलादेखि न्युजिल्यान्डमा पर्यटकहरूको संख्या वृद्धि भएको र अहिले पनि लाखौं मानिस त्यहाँ पुग्ने गरेको उनको भनाइ छ।

अहिले त्यही खालको मौका नेपालले पनि पाएको र उचाइले थप प्रोत्साहन गरेकाले नेपालले ढिला नगरी त्यो खालको स्किम उनीहरूलाई दिन आवश्यक रहेको पर्यटन व्यवसायी निमा शेर्पाको भनाइ छ।

हुन त अहिले पनि खुम्बु क्षेत्रसहित हिमाली भूभागमा भारतीय पर्यटकहरू धेरै आउन थालेको छ। अझै अर्को सिजनमा उचाइमा देखाइएको दृश्यहरूका कारण धेरै भारतीयहरू बढ्न सक्ने आंकलन शेर्पाले गरेका छन्।

उचाइ जस्ता अन्य फिल्म सुटिङका लागि आउने विदेशीहरूलाई नेपालको तर्फबाट विशेष सहुलित र सुविधाहरू दिनुपर्ने व्यवसायीहरूको भनाइ छ। उनीहरूलाई नेपालमा आउनेबित्तिकै विमानस्थलमै विशेष स्वागत गरी उनीहलाई लिनका लागि छुट्टै गाडी पठाउने व्यवस्था गर्न सक्यो भने पनि उनीहरू थप प्रभावित हुने भनाइ छ।

सुरज बड्जात्याको निर्देशित फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा, डेनीलगायतका कलाकारको अभिनय छ। आफ्नो साथीको सपना पूरा गर्न सगरमाथाको आधार शिविरसम्म यात्रा गर्ने ३ पाका पुरुषको कथा हो ।

पर्यटन बोर्डले सम्मान गर्ने

नेपाल पर्यटन बोर्डले बलिउड फिल्म ‘उचाइ’का निर्देशक र कलाकारलाई सम्मान गर्ने तयारी थालेको छ । फिल्ममार्फत नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै पर्यटन बोर्डले निर्देशक र कलाकारलाई सम्मान गर्ने भएको हो ।

‘उचाइ’का निर्देशक र कलाकार नेपाल आउने अवस्था रहे राष्ट्रपति वा प्रधानमन्त्रीकै स्तरबाट सम्मान गरिने बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनन्जय रेग्मीले जानकारी दिए । नेपाल आउने अवस्था नभएमा भने मुम्बई पुगेरै सम्मान गर्ने उनले बताए ।


 

शुक्रबार​ ९ मंसिर २०७९ १२:२९ PM मा प्रकाशित

प्रतिक्रिया