×

मेलम्चीको सुरुङमा क्षमताभन्दा बढी पानी, मन्त्री चौधरी अवलोकन गर्न आयोजनास्थलमा 

images

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको अवलोकन गर्न खानेपानी मन्त्री उमाकान्त चौधरी बुधबार मेलम्ची पुगेका छन् । प्राविधिक तथा विज्ञहरुले आयोजनाको सुरुङमार्गमा १७ करोड लिटरभन्दा बढी पानी पसेको तथा मौसम सुरु हुन लागेको बताएपछि मन्त्री चौधरी मेलम्ची पुगेका हुन् । 

मन्त्री चौधरीका प्रेस संयोजक लिलाराज खनालकाअनुसार १८ गतेपछि जुनसुकै समयमा मेलम्ची खानेपानी आयोजना बन्द गर्नुपर्ने सुझाव प्राविधिकहरुको छ । 

‘१८ गते पछि यो वर्षको मौसम सुरु हुने भएकाले सुरुङमा पानी हाल्ने प्रक्रिया बन्द गर्नुपर्ने प्राविधिकहरुको सुझाव छ’, खनालले भने, ‘अहिले नै १७ करोड लिटरभन्दा बढी पानी सुरुङमा पस्न थालेको प्रविधिकहरुले बताएका छन् ।’ 

मेलम्चीबाट काठमाडौंमा दैनिक १७ करोड लिटर पानी आउने बताइएको छ । सोहीअनुसार सुरुङको क्षमता पनि १७ करोड लिटर पानी सप्लाई गर्न सक्ने मात्रै छ । 

तर, बर्खा लागेसँगै खोलामा पानीको मात्रा बढ्दा सुरुङसम्म बढी पानी जान थालेको हो । यद्यपि आयोजनाको ९ नम्बर गेटले १७ करोड लिटरभन्दा बढी पानी सुरुङभित्र पस्न भने दिँदैन । 

साथै अस्थायी रुपमा काठमाडौंमा पानी आएपछिको अवस्थाको निरीक्षण गर्न मन्त्री चौधरी मेलम्ची पुगेको बताइएको छ । यद्यपि मेलम्चीको पानी बन्द भए पनि वैकल्पिक बागमतीको १० करोड लिटर पानी काठमाडौं उपत्यकामा वितरण गर्ने तयरी खानेपानी मन्त्रालयले गरेको छ । 

जसका लागि खरिद प्रक्रिया सम्पन्न भई ठेक्का सम्झौता भइसकेको मन्त्रालयले जनाएको छ । गत वर्ष बाढीले आयोजनामा क्षति गरे पनि गत वैशाख ११ गते मेलम्चीको पानी अस्थायी रुपमा काठमाडौंमा ल्याइएको थियो । 

यसअघि जेठ १० गतेपछि मेलम्चीको पानी बन्द हुन सक्ने बताइए पनि हालसम्म बन्द भएको छैन । 

बिहीबार १२ जेठ २०७९ ०५:५१ PM मा प्रकाशित

प्रतिक्रिया