काठमाडौं । सेयर बजार सूचक(नेपाल स्टक एक्सचेन्ज) नेप्से साताको दोस्रो दिन सोमबार करेक्सन आएको छ । आइतबार ५४ अंक बढेर हालसम्मकै उच्च ३०५८.६४ विन्दुमा पुगेको नेप्से सूचक सोमबार ८.२४ अंकले घट्दै ३०५०. ४३ विन्दुमा रोकिएको छ ।
गत जेठ ३१ गते हालसम्मकै उच्च ३०२५.८३ अंकमा रहेको नेप्से सूचक त्यसपछि घट्दै असार १६ मा २७८६ पुगेको थियो । त्यसपछि सुधारको क्रममा देखिएको नेप्से सूचकले पुरानो रेकर्ड तोड्दै आइतबार नयाँ उचाइ लिएको हो ।
आइतबार बैंकिङ समूहले नेप्से सूचकलाई उचाल्न मद्दत गरेको थियो । तर, सोमबार बैंकिङ समूहमा उच्च गिरावट आएपछि सूचक ओरालो लागेको हो । लामो समयपछि केही सुधारको क्रममा देखिएको बैंकिङ समूह आइतबार सकारात्मक पाटो पच्छाएको थियो ।
तर, सोमबार टिक्न सकेन् । लामो समयदेखि बैंकिङमा नाफा बुक नगरेका लगानीकर्ताले सोमबारलाई अवसरको रुपमा प्रयोग गर्दा यसको असर बैंकिङमा परेको छ । सोमबार बैंकिङ समूह मात्रै ४३.७८ अंकले घटेको छ । बैंकिङलाई सहयोग गर्दै विकास बैंक, म्युचुअल फण्ड, लगानी र अन्यसमूह सूचकमा पनि सामान्य गिरावट देखिएको छ ।
सोमबारको कारोबार संरचना र प्रवृत्ति केलाउँदा मंगलबार सुरुमा बजार बढ्ने र त्यसपछि केही करेक्सनको बाटो समाउने सम्भावना छ । सुरुवाती कारोबारमा ३०७४.५१ सम्म पुगेको नेप्से सूचक १५ मिनेट नपुग्दै ३०४५ मा झरेको थियो । लगत्तै उचाइ समाउन खोजेको सूचकले पुरानो अंक नछुदै तल झर्न थाल्यो । मध्यसमयमा घटेर ३०४२ सम्म पुगे पनि अन्तिम समयमा केही सुधारिएर बजार बन्द भएको छ ।
घटेको बजारमा पनि ७ वटा कम्पनीमा सर्किट लागेको छ । उच्च मूल्य वृद्धि हुने १० कम्पनीमा ७ वटा जलविद्युत कम्पनी छन् । सोमबार कारोबार रकम भने केही खस्किएको छ । कारोबार रकम र कारोबार कित्ता केही खस्किएको छ । यसदिन ३ करोड ७० लाख ६३ हजार कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आइतबार ४ करोड ३९ लाख कित्ता सेयर किनबेच हुँदा १४ अर्ब २३ करोडको कारोबार भएको थियो । यसमा सबैभन्दा बढी ङादी ग्रुप पावरको सबैभन्दा बढी ३९ करोड ३० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने सबैभन्दा बढी मूल्य घट्ने एनआईसी एसिया डिबेन्चरको ७ प्रतिशत छ । सेयर मूल्य घट्ने १० कम्पनीमा ५ वटा बैंकिङ समूहका छन् । यद्यपि, सेयर मूल्य घटाई ४ प्रतिशतभन्दा तल छ ।