काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरण प्रकाशित गर्ने समय बढ्ने छनकसँगै सेयर बजारमा करेक्सनको संकेत देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै असल कर्जामा थप शून्य दशमलव ३ प्रतिशत कर्जा नोक्सानीबापत (प्रोभिजन) राख्ने व्यवस्थासहित भदौ १५ गतेसम्मको आम्दानीलाई गत आर्थिक वर्षको आम्दानीमा बाड्न पाउने व्यवस्था गरेपछि वित्तीय विवरण प्रकाशनमा ढिलाइ हुने संकेत देखिएको छ । वित्तीय विवरण प्रकाशनमा ढिलाइ हुने भएपछि लगानीकर्ताहरु एक चरण नाफा बुक गर्ने होडमा लागेका छन् ।
जसको असर सेयर कारोबारमा समेत परेको छ । साताको अन्तिम दिन बिहीबार कारोबार रकम पनि घटेर १० अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ । यसदिन सेयर सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.१४ अंकले ३०७९.८१ बिन्दूमा ल्याइपुर्याएका छन् । बुधबार १५ अंकले नै सेयर बजार बढेको थियो ।
केन्द्रीय बैंकको निर्देशनका बाबजुत मंगलबार सेयर सूचक २९ अंकले बढेर ३०७९.६७ विन्दूमा पुगेको थियो । बुधबारको ३०९४.९५ विन्दू भने हालसम्मकै उच्च रेकर्ड हो ।
यद्यपि, यस बीचमा मंगलबार जलविद्युत् कम्पनीको मूल्यमा उछाल आउँदा उच्च अंकको वृद्धि देखिएको थियो भने बुधबार र बिहीबार जलविद्युत र बैंकिङ समूहमा मूल्य घटाउने चाप परेको छ । यद्यपि, बिहीबार होटल तथा पर्यटन र विकास बैंक समूह सूचक बाहेक अन्य सबै समूहसूचक ओरालो लागेको छ ।
बुधबार र बिहीबारको कारोबार प्याट्रन विश्लेषण गर्दा आगामी साता बजार अझ खच्किन सक्ने देखाउँछ । वित्तीय विवरण प्रकाशनमा ढिलाइ हुँदा त्यसअघिको अफवाहलाई चिर्दै लगानी गर्नु लगानीकर्ताका लागि हितकर हुन्छ ।
नयाँ बजेटको चर्चा, मौद्रिक नीतिमा देखिएको विलम्ब र असल कर्जामा थप कर्जा नोक्सानीको व्यवस्थाले लगानीकर्ताहरुलाई एक चरण खेल्ने ठाउँ दिएको छ ।
घट्दो बजारमा पनि रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ९.५ अंकले बढेको छ । यसदिन सबैभन्दा बढी मूल्य घटेको गुडविल फाइनान्सको सेयर कारोबार पनि बढी भएको छ । ७.२१ प्रतिशत मूल्य घटेको गुडविलको ३१ करोड २८ लाख रुपैयाँ बरारबको सेयर किनबेच भएको छ ।