×

बंगलादेशको आईएफआईसीको सर्त: नबिल बैंकसँग मर्ज भए एनबीको सेयर नबेच्ने

images

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकको संस्थापक सेयर बिक्री गरेर नेपालबाट बाहिरिन खोजेको बंगलादेशको आईएफआईसी बैंक नबिल बैंकसँग गाभ्ने/ गाभिने (मर्ज हुने) सर्तमा आफ्नो हिस्सा नबेच्ने भएको छ ।

आईएफआईसीले असार २९ गते एनबीमा रहेको आफ्नो संस्थापक सेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको थियो ।आईएफआईसीले सूचना प्रकाशित गरेपछि एनबीकै संस्थापक सेयरधनी लक्ष्मीबहादुर श्रेष्ठ समूहले सेयर खरिदका लागि प्रस्ताव पेस गरेको थियो । सेयर किन्न प्रस्ताव गर्ने लक्ष्मीबहादुरलाई आईएफआईसीका प्रतिनिधिले नबिलसँग मर्जमा जानका लागि सहयोग गर्न भनेका छन् ।

आईएफआईसीले एनबीको संस्थापक सेयर बिक्री गरेर बाहिरिने भएपछि नबिलसँग मर्ज हुने हल्ला चलेको थियो । एनबी बैंकलाई मर्जमा जान दबाब परेपछि बंगलादेशी बैंकले सेयर बिक्री गरेर फिर्ता हुने प्रयोजनका लागि आफ्नो हिस्सा बिक्रीको प्रस्ताव गरेको थियो ।

सेयर बजारलाई प्रभावित बनाउने उद्देश्यले सतहमा अनेकन अफवाहहरू ल्याउने गरिन्छ । लगानीकर्ताले वास्तविकता बुझेर मात्रै दोस्रो बजारमा मूल्य तय गर्नुपर्नेछ । यसअघि पनि नबिलसँग मर्ज गर्ने भन्दै एनबीको सेयर मूल्यमा उछाल ल्याइएको थियो ।

आईएफआईसीको एनबीमा ४०.९१ प्रतिशत स्वामित्व रहेको छ । उसले एनबीमा रहेको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता संस्थापक सेयर बिक्री गर्न सार्वजनिक आह्वान गरेको थियो ।

बैंकको ३७१ औं सञ्चालक समिति बैठकले आईएफआईसीले संस्थापक सेयर बिक्रीका लागि दिएको निवेदनलाई स्वीकृत गरेको थियो । एनबीमा लक्ष्मीबहादुर समूहको १०.७२ प्रतिशत सेयर हिस्सा छ भने सर्वसाधारणको ४८.३७ प्रतिशत छ । बाँकी बंगलादेशी बैंकको छ । 

यो पनि हेर्नुहोस 
बंगलादेशको आईएफआईसी बैंक एनबी बैंकबाट बाहिरिने, सबै ३ करोड ६८ लाख कित्ता सेयर बिक्रीमा

बुधबार १३ असोज २०७८ ०५:०६ PM मा प्रकाशित

प्रतिक्रिया