×

बिमा कम्पनीले अब सीधै जलविद्युतलगायत पूर्वाधारमा लगानी गर्न पाउने 

images

काठमाडौं । बिमा कम्पनीहरूले राम्रो प्रतिफल दिने पूर्वाधारका क्षेत्रमा लगानी गर्न पाउने भएका छन् । सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा बिमा कम्पनीले आफ्नो लगानीको निश्चित प्रतिशत पूर्वाधार विकास आयोजनामा लगानी गर्नुपर्ने व्यवस्था मिलाइने उल्लेख छ । 

बजेटमा भएको व्यवस्थाअनुसार जलविद्युत र सडकलगायत प्रतिफल दिनसक्ने अन्य पूर्वाधारमा लगानी खुला गर्ने तयारी गरेको हो । सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बिमालाई उत्पादन तथा उत्पादकत्वसँग जोड्ने उल्लेख गरिएको छ । 

सोही व्यवस्थाअनुसार सरकारले बजेटमार्फत बिमा कम्पनीलाई पूर्वाधार क्षेत्रमा लगानी खुला गर्ने नीति लिएको हो । सरकारले पूर्वाधारमा मात्र लगानी खुला गर्ने भने पनि नियामक बिमा समितिले प्रतिफल दिने पर्यटन र कृषिका आयोजनामा लगानी गर्न दिने भएको छ ।

सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा निश्चित प्रतिशत पूर्वाधारमा लगानी गर्न पाउने कुरा समेटिएसँगै बिमा कम्पनीहरूले आफ्नै लगानीमा जलविद्युत आयोजना निर्माण गर्न सक्ने बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन्  । उनले निर्देशिका बनाएर पूर्वाधारलगायत अन्य क्षेत्रमा लगानी खुला गर्ने जानकारी दिए ।

पौडेलका अनुसार यसअघि बिमा कम्पनीहरूले संकलन गरेको बिमा शुल्क (प्रिमियम) को आधा रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा राख्ने गरेका थिए । बिमा कम्पनीहरू बैंकहरूको ठूला संस्थागत निक्षेपकर्ता पनि हुन् । बिभिन्न जीवन तथा निर्जीवनका साथै पुनर्बिमा कम्पनीहरूको मुद्दती निक्षेपमा ४ खर्ब ९६ करोड रुपैयाँ बढी छ ।

 यो बाहेक कम्पनीहरूले ऋणपत्र, सेयर बजार, सरकारले ल्याएको विभिन्न बन्डहरूमा लगानी गर्दै आएका छन् । कम्पनीहरूको आम्दानीमा बैंकको ब्याजदरले असर गर्दै आएको छ । मुद्दती निक्षेपको ब्याजदर बढी भएका बेला बिमा कम्पनीहरूको आम्दानी धेरै हुने गरेको छ । यस्तै कम भयो भने आम्दानी घट्ने गरेको छ । 

ब्याजदरले नै बिमा कम्पनीहरूको आम्दानी बढ्ने वा घट्ने निर्भर हुने गरेको छ । बिमा कम्पनीहरूले मुद्दतीमा राखेको रकम बैंक तथा वित्तीय संस्थाहरूले विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन् । बजेटमा भएको नयाँ व्यवस्थाअनुसार अब बिमा कम्पनीले सोझै पूर्वाधार, कृषि र पर्यटनमा लगानी गर्न पाउनेछन् । 

बिमा कम्पनीको लगानी विविधिकरण गरी सहवित्तीयकरण (कन्सोर्टियम) का माध्यमबाट पुँजी एकीकृत गरी इन्भेष्टमेन्ट कम्पनी खोलेर पूर्वाधार क्षेत्रमा गर्न लगानी गर्न सक्ने भएका छन् ।

उनका अनुसार बिमा कम्पनीले कन्सोर्टियम गरेर बिमा कै पैसाले नै जलविद्युत आयोजना बनाउने हो वा तोकिएका अन्य सडक लगायतका पूर्वाधारका क्षेत्रमा लगानी गर्न सक्छन् । हालसम्म बिमा कम्पनीकोे प्रिमियम संकलनको पैसा वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्र जाने गरेको पौडेलले बताउँछन् । 

‘बजेटले पूर्वाधार क्षेत्रमा बिमा कम्पनीले निश्चित प्रतिशत लगानी गर्नपर्ने कुरा समेटेको छ’, उनले भने, ‘अब बिमा कम्पनीले वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्र राख्ने गरेको पैसा पूर्वाधार क्षेत्रमा लगानी हुनेछ ।’
बिमा कम्पनीको फन्डलाई पूर्वाधार क्षेत्रमा लगानी गर्ने सरल बनाउने पौडेलले बताए । 

बिमालाई उत्पादन र उत्पादकत्वसँग आबद्ध गर्ने उद्देयसहित बिमा कम्पनीलाई कृषि क्षेत्रको उत्पादन प्रवर्धन गर्न कृषि कोल्ड स्टोरमासमेत लगानी गर्ने व्यवस्था गरिने पौडेलले बताए । साथै बिमा कम्पनीलाई कृषि, पर्यटन र पूर्वाधारका क्षेत्रमा लगानीको अलि सहज गरिने पौडेले जानकारी दिए । 

‘बिमा कम्पनीलाई कन्सोर्टियममा जाउ भनेर भनिरहेका छौं’, उनले भने, ‘कन्सोर्टियम गर पुँजी एकीकृत गरेर पूर्वाधार क्षेत्रमा लगानी गर्न भनेका छौं ।’ 
पौडेलका अनुसार जीवन बिमा कम्पनीले संकलन गरेको बिमा शुल्कको दायित्व लामो समय हुने भएकाले संवेदनशील हुन्छ, जीवन बिमा कम्पनीको पैसा केही अवधिपश्चात् बोनससहित फिर्ता गर्नुपर्ने भएकाले त्यसको दायित्व बढी हुन्छ । 

‘निर्जीवन बिमा कम्पनी दायित्व एक वर्षको अवधिको हुन्छ’, उनले भने, ‘जीवन बिमाको लगानी पुँजी बढी हुन्छ, निर्जीवनको थोरै हुन्छ जसकारण लाइफको पैसा अस्पताल, शिक्षा तिर लगानी गर्ने बिमा कम्पनीले सोच्नुपर्छ ।’ थप समितिले सहजीकरणको काम गर्छ, पौडेले भने । 

ठूला पूर्वाधारमा लगानीको अभाव छ । नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) ले प्रतिफल राम्रा भएका पूर्वाधार आयोजना छनौट गरेर इन्स्योरेन्स बन्ड निष्कासनको तयारी गरेको छ । 

सोमबार १६ जेठ २०७९ ०२:३३ PM मा प्रकाशित

प्रतिक्रिया