×

‘द एड्रेस लाउन्ज’ जहाँबाट देखिन्छ काठमाडौंको ३६० डिग्री भ्यू

images

कंक्रिटको सहर काठमाडौं व्यस्त र कोलाहलमय छ । यो कोलाहललाई एकैछिन बिर्सेर शान्त वातावरणमा रमाउन खोज्नेहरु धेरै छन् । घरघरैले भरिएको उपत्यकामा राम्रोसँग एक ठाउँबाट अर्को ठाउँ हेर्न मुस्किल हुन थालिसकेको छ ।  

यिनै गगनचुम्बी भवनहरुको भीडमा छ, ‘द एड्रेस लाउन्ज’ । डिल्लीबजारको पिपलबोटबाट बायाँ मोडिएर करिब ५० मिटर अगाडि पुग्नेबित्तिकै एउटा अग्लो भवन देखिन्छ । त्यसैको १४ औं तलामा छ यो लाउन्ज । 
लाउन्मा पुग्नासाथ प्रायःको मुखबाट अनायासै एउटा शब्द निस्किन्छ– वाउ ! काठमाडौं ।

सम्भवतः काठमाडौंभित्रकै सबैभन्दा अग्लो ठाउँमा रहेको लाउन्जसहितको रेष्टुँरा हो यो । सहरको मनमोहक दृश्यमा मोहित हुँदै स्वादिष्ट खानेकुरा खाँदाको जस्तो मजा अरु केमा होला र ? साँझ लाउन्जको मज्जा, बिहान र दिउँसो कफीको चुस्कीसँगै खुला आकाशमुनिबाट उपत्यका नियाल्नुको मजा । यति हुँदा  जो कोहीको मन पक्कै लोभिन्छ । झन् काठमाडौंको सुन्दरतालाई नजिकबाट नियाल्दै कफीको चुस्की लिने र मदिराको तालमा झुम्न चाहनेहरुका लागि गतिलो गन्तव्यको रुपमा विस्तार भइरहेकोे छ, द एड्रेस लाउन्ज ।

सन् २०१७ देखि सञ्चालनमा आएको सो लाउन्जले पूर्वराजा ज्ञानेन्द्र शाहदेखि उच्च ओहोदाका व्यक्ति, व्यावसायिक घराना, कर्पोरेट हाउसलगायत युवावर्गको मन जितिसकेको छ । रेस्टुराँको वातावरणबाट प्रभावित भइरहँदा यहाँको उत्कृष्ट सेवा र लाइभ म्युजिकलाई पनि बिर्सिन सकिँदैन । त्योसँगै स्वादिष्ट परिकारको अनुभव लिँदै काठमाडौं उपत्यकालाई ३६० डिग्री भ्यूबाट समेत नियाल्दै मजा लिन सकिन्छ । 

युरोपियन स्टाइलको किचन । र, किचनमा प्रयोग हुने हरेक सामान युनिक छन् । यहाँको आकर्षक र लक्जरियस इन्टेरियर डिजाइन एवं फर्निचरले सबैको ध्यान खिचिहाल्छ । सीमित व्यक्तिहरुबीच मात्र गेट–टुगेदर गर्न चाहनेहरुका लागि पनि अलग्गै ठाउँको व्यवस्था छ । यो सब देख्दा यस्तो लाग्छ, मानौं पार्टी गर्न तथा साथीभाइसँग जमघट गर्न यत्तिको उपयुक्त ठाउँ काठमाडौंमा अन्यत्र कतै छैन । 

काठमाडौंकै सबैभन्दा अग्लो बिल्डिङमा खुलेको रेष्टुराँ नै पहिलो भएको दाबी सञ्चालक अमन पोदारको छ । २८ वर्षीय पोदारले नै लाउन्जको लिड गर्दै आएका छन् । आफंै पनि युवा भएकाले युवावर्गले कस्तो किसिमको म्युजिक, वातावरण र खाना रूचाउँछन् भन्ने राम्रो नलेज राखेकै कारण छोटो समयमै चर्चाको शिखरमा पुगेको देखिन्छ ।

नेपालमा अन्य ठाउँमा नपाइने इन्डियन परिकारहरु पनि द एड्रेसमा पाइने भएकाले पारखीहरुको रोजाइमा पनि एड्रेस नै परेको छ । साथै दैनिक रुपमा डिजे र लाइभ म्युजिक पनि चल्छ । अलटाइम रेगुल बलिउड म्युजिक सुन्न पाइने भएकाले पनि धेरै युवायुवतीको रोजाइमा यो लाउन्ज पर्ने गरेको छ ।

लाउन्जको अर्को विषेशता हो, हुक्का । विदेशमा धेरै लोकप्रिय भएको हुक्का नेपाली युवाहरुमाझ पनि निकै लोकप्रिय छ । विभिन्न फ्लेभरमा हुक्का तान्नेहरु पनि यहाँ आउने गरेको पोदार बताउँछन् । युवाहरुकै लागि भनेर हुक्का स्पेनबाट ल्याइन्छ । 

यसरी खुल्यो लाउन्ज
यो बिल्डिङ सिल्भर सिटी अपार्टमेन्टको दोस्रो फेज हो । तर, यसलाई भने अपार्टमेन्टको रुपमा बिक्री नगरी सर्भिस अपार्टमेन्टको रुपमा अघि बढाउने सोचका साथ निर्माण भएको हो । एक दिन बुबा विमल पोदारसँग कामको सिलसिलामा मुम्बई गएका बेला अमन फोर सिजन होटलमा बसे, जुन डिलक्स फाइभ स्टार होटल हो । त्यहाँ बस्दा उनीहरुले सोही होटलको रूफटपमा रेष्टुराँसहितको लाउन्ज देखे । त्यहाँबाट मुम्बईलाई खुला आकाशबाट नियाल्न सकिन्थ्यो ।

उक्त ठाउँ आफैंले निर्माण गरेको भवनसँग मिल्दोजुल्दो थियो । गोलाकार भवन भएकाले बाबुछोराले यस्तै खालको लाउन्ज काठमाडौंमा पनि खोल्ने भनेर त्यही डिसिजन गरे । काठमाडौंस्थित भवनको छतबाट पनि काठमाडौंलाई घुमीघुमी हेर्न मिल्ने गरेको सम्झिँदै तत्कालै काम अघि बढाउने निधो मुम्बईबाटै गरे ।

काठमाडौंमा रहेका इन्जिनियरहरुलाई फोन गरेर आइडिया सुनाउँदै सोहीअनुसारको डिजाइन तयार पार्न लगाए । साथै सोही होटलका सञ्चालकसँग पनि समन्वय गरी डिजाइनहरु नै मुम्बईबाट काठमाडौं झिकाएर काम सुरू गरे ।

बीचमा थप अध्ययनका लागि अमन युके गए । त्यहाँ रहँदा पनि फुर्सद हुनासाथ विभिन्न लाउन्ज र पपहरुमा जाने र डिजाइन, इन्टेरियरहरुको आइडिया लिने काम गर्थे । काठमाडौंमा काम भइरहेकाले आफूले बनाउने लाउन्जमा पनि कुनै कमी नहोस् भन्ने सोच राखेर डिजाइनहरु थप्दै जान्थे । 

लाउन्जमा प्रयोग भएका अधिकांश सामानहरु युरोपलगायतका देशबाट ल्याइएको छ भने लाइट र फर्निचर चीनबाट ल्याइएको छ । अमनले अध्ययन सकाएर फर्किएलगत्तै लाउन्ज सञ्चालनमा ल्याए । र, २०१७ को डिसेम्बर २४ (क्रिसमस डे) मा विधिवत रुपमा सुरूवात गरे ।

‘सुरूमा सेफहरु भारतबाट ल्याइएको थियो । तर, मेनु भने नेपाली विज्ञापन एजेन्सीले नै बनाएको हो’, सञ्चालक पोदार भन्छन्, ‘नेपाल र पन्जाबका सेफहरुको सहकार्यमा थालनी गरिएका कारणले इन्डियन खाना खास बन्यो । सूचना प्रविधिले फड्को मारिसकेको समयमा लाउन्जको प्रचार प्रसारका लागि कुनै समस्या भएन । फेसबुक, इस्टाग्रामकै प्रचार पर्याप्त भयो । लाउन्जमा आउनेहरुले गरेको प्रचारले नै अहिलेसम्म ग्राहक तानिरहेको छ । 

सञ्चालनमा आएको २ वर्षसम्म त थेगिनसक्नु थियो । दैनिक रुपमा डिजे आउने र कार्यक्रमहरु निरन्तर हुने भएकाले पनि बढी भीडभाड हुन्थ्यो । तर, अचानक विश्वव्यापी रुपमा देखा परेको कोभिडले लाउन्ज बन्द भयो । यद्यपि होमडेलिभरी भने जारी रह्यो । यसले गर्दा कर्मचारीलाई तलब खुवाउन कुनै समस्या नभएको अनुभव सुनाउँछन् । 

बीचबीचमा रेष्टुराँ खोल्दा धेरै मान्छेहरु आँउथे । कोभिडपछि केही सुस्तायो । त्यसलाई पुनर्ताजगी दिन लाउन्जमा मेनु परिवर्तनको तयारी भइरहेको छ । विषेशगरी इन्डियन खानाका पारखीलाई लक्षित गरी लाउन्जसँगै रेष्टुराँलाई फोकस गर्न लागिएको पोदार बताउँछन् । ‘लाउन्ज भनेको साँझ मात्र चल्ने हो ।  बिहान र दिउँसोका ग्राहकहरुलाई लक्षित गरी रेष्टुराँमा खानामा फोकस गर्न लागिएको हो’, उनले भने ।

लाउन्जसँगै लक्जरियस जिम र स्पा पनि सञ्चालनको तयारीमा छ । जिममा आउनेहरुलाई मनोरञ्जन दिन क्लबजस्तै बनाउने योजना रहेको उनले सुनाए । त्यसले माहोल परिवर्तन गर्ने र लामो समयसम्म बस्न सहज हुने उनले सुनाए । जिम पनि युकैकै अवधारणामा सञ्चालन गर्ने तयारी भइरहेको छ । 

नाम पछाडिको कथा
लाउन्ज सञ्चालनको अन्तिम चरणमा पुगिसक्दा पनि नाम के राख्ने भन्ने दुविधा बाबुछोरालाई नै प¥यो । विभिन्न नाम लिए र डिजाइनहरु पनि थरीथरीका बनाए । तर, कसैलाई चित्त बुझेन । ब्रान्डका कर्मचारीहरुदेखि धेरैसँग सल्हाह गर्दा पनि सोचेजस्तो नाम नजुर्दा अमनका बुबाले आफूहरु कहाँ गइरहेका छौं, कहाँ छौं भन्ने परिचय दिने ठाउँलाई फोकस गरेर ‘द एड्रेस लाउन्ज’ राख्ने निधो गरे । उनले जुराएको नाममा सबैले सहमति जनाए । र, त्यहीअनुसारको लोगो डिजाइन गरे । 

‘खासगरी विदेशीहरुको मानसपटलमा काठमाडौं भन्नासाथ सानो सहर, होचा घरहरु होलान् भन्ने हुन्छ । त्यसैलाई चिर्नका लागि सा–साना घरहरु र बीचमा अग्लो घर, जहाँ एड्रेस लाउन्ज देखाउने लोगो राखिएको छ ।
लाउन्जको लोगो ब्ल्याक र गोल्डेन कलरमा राखिएको छ । लाउन्जका स्टाफको डे«सअपदेखि त्यहाँका हरेक सामान ब्ल्याक र गोल्डेन कलरमा छन् । ह्यापेनिङका लागि ब्ल्याक र गोल्डेन कलर छानिएको अमनको भनाइ छ । योसँगै खाना सर्भ गर्न आवश्यक भाँडाहरु युरोप र चीनबाट ल्याइएको छ । ‘खानासँगै प्रयोग हुने भाँडाहरु पनि युनिक हुनुपर्छ’, अमनले बताए । 

ट्रेडको बिजनेस छोडेर रियलस्टेट हुँदै हस्पिटालिटीमा प्रवेश
अमनका हजुरबुबाको पालादेखि नै नेपालमा बिजनेस सुरू गरेका हुन् । उनका हजुरबा स्व.राजेन्द्र पोदारले न्युरोडको बजारलाई केन्द्रित गरी इलेक्ट्रिक सामानहरु चीनबाट आयात गर्ने गरेका थिए । भीसीडी, डीभीडीदेखि चीनबाट आउने अधिकांश इलेक्ट्रिक सामानहरु उनकै हजुरबुबाले ल्याएर न्युरोडका व्यापारीलाई बेच्थे । न्युरोडसहित तराई र पहाडी क्षेत्रमा पनि उनैले सामान पठाउँथे ।

हजुरबुबाले सुरू गरेकोे व्यवसाय उनका बुबा विमलकुमार पोद्दारले पनि लामो समयसम्म इलेक्ट्रीक आयातको काम गरे । तर,उनले भने विस्तारै रियलस्टेट क्षेत्रमा हात हाले । डिल्लीबजारमा व्यवसायी दिपक मल्होत्रासँगको साझेदारीमा सिल्भरसिटी अपार्टमेन्ट बनाए । त्यसपछि भने इलेक्ट्रिक सामान निर्यातको काम लगभग लगभग बन्द गरेर रियलस्टेट हुँदै हस्पिटालिटी क्षेत्रमा प्रवेश गरिरहेका छन् ।

रेष्टुराँमा आउने ग्राहकको संख्या बढ्दैछ
अमनका अनुसार रेष्टुराँमा आउने कल्चर बिस्तारै बढ्दै गएको छ । यहाँ माउथ टु माउथ प्रचार धेरै हुन्छ । जहाँ राम्रो सेवा–सुविधा भयो त्यहाँ गइहाल्ने कल्चर बढी छ । यस्तै विदेशमा भन्दा नेपालमा रेष्टुराँ र लाउन्जमा इभेन्ट बेसमा ग्राहकहरु धेरै आउँछन् ।

यहाँको समस्या भनेको सबैभन्दा बढी कर्मचारी अभाव नै हो । रेष्टुराँमा काम गर्ने अधिकांश कर्मचारीहरु युवा हुने भएकाले ५÷६ महिना काम गर्नेबित्तिकै विदेश जान्छन् । कति कर्मचारीहरु त सिकाउँदा सिकाउँदै पनि जान्छन् । कम्तीमा उनीहरुले २ वर्ष काम नगरे उनीहरुमाथि गरेको लगानी नै नउठ्ने अमन बताउँछन् ।  यस्तै लाउन्जमा आउनेहरुलाई छुट्टै लिफ्टको व्यवस्थासमेत छ । 

नेपाली ढुंगा
लाउन्जमा टायल र मार्बलको ठाउँमा नेपाली ढुंगा राखिएको छ । हरियो दुबो र कालो कलरको ढुंगाको कम्बाइन मिलाएर राखिएको छ । लाउन्जमा धेरै सामान विदेशबाट आयात गरेर राखिएकाले नेपाली टिपिकल सामान प्रयोगकै लागि ढुंगा राखिएको हो । 

विदेश पलायन हुने सोच कहिल्यै आएन
कक्षा १२ सम्म काठमाडौंमै अध्ययन गरेका अमन भारतको बैंगलोरबाट सिभिल इन्जियरिङमा ब्याचलर्स हुन् । त्यही बेला उनका बुबाले काठमाडौंमा रियलस्टेट क्षेत्रमा लगानी विस्तार गरिरहेका थिए । अमन आफैंलाई पनि रियलस्टेट क्षेत्र मन पर्ने भएकोले उनले पढाइ पनि इन्जियरिङकै गरे । इन्जिनियरिङले मात्र नपुग्ने भएकोले मास्टर अफ इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको कोर्स लन्डनबाट गरे । त्यहाँ अध्ययन गर्दा पनि उनले नेपालमा गर्ने व्यवसायको बारेमा धेरै चासो लिन्थे । यस्तै लाउन्ज र सर्भिस क्षेत्रको विषयमा पनि अध्ययन गरेका थिए ।

परिवार नै बिजेनसमा आबद्ध भएकाले सानैदेखि हजुरबुबाले गरेको कामलाई नजिकबाट नियालेका थिए । हजुरबुबा र बुबाको व्यस्तता देखेर पनि बिजनेसप्रतिको मोह र उत्साह त्यति बेलादेखि नै जागेको थियो । उहाँहरुले बनाएको बाटोलाई पछ्याउँदै पढाइ सकाउनासाथ नेपालमा आएर बुबाले गरिरहेको कामलाई सहयोग गर्दै लाउन्जको लिड गरिरहेका छन् । त्यससँगै सोही बिल्डिङ चारतारेस्तरको लक्जरियस होटलको समेत व्यवस्थापन सम्हाल्दै छन् ।

अमनका अनुसार लन्डन र नेपालको लाइफ आकाश–पातालको फरक छ । त्यहाँ काम गर्न धेरै सहज छ । यद्यपि, विदेशमा भन्दा आफ्नो पुर्खाले नै सुरू गरेको कामलाई नेपालमै गर्ने सोच उनको छ । ‘पढ्ने र अनुभव बटुलेर नेपालमै काम गर्ने सोच आउँथ्यो’, उनी भन्छन्, ‘कहिल्यै पनि विदेश पलायन हुने सोच आएन । धेरैजसो बिजनेसम्यानका छोराछोरीहरु विदेशमा अध्ययन गर्न जाने र उतै पलायन हुने गर्छन् । हामीले हाम्रो पुर्खाले गरेको दुःखलाई नै निरन्तरता दिने हो ।’


 

शनिबार १४ साउन २०७९ ०८:२९ AM मा प्रकाशित

प्रतिक्रिया