मोबाइल एप्समा आधारित ट्याक्सी सेवा, ‘इजीट्याक्सीनेपाल’ एप्सबाट ५ मिनेटमा घरमै  ट्याक्सी

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार १९, बिहीबार  
मोबाइल एप्समा आधारित ट्याक्सी सेवा, ‘इजीट्याक्सीनेपाल’ एप्सबाट ५ मिनेटमा घरमै  ट्याक्सी

काठमाडौं । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले मोबाइल एप्समा आधारित ट्याक्सी सेवा दिन सुरु गरेको छ । उपत्यकाका ५ हजारभन्दा बढी स्वरोजगार ट्याक्सी चालक आबद्ध समाजले आफ्ना यात्रुको सुविधाका लागि प्रविधिमा आधारित ट्याक्सी सेवाको सुरुवात गरेको हो ।


प्रविधिको बढ्दो प्रयोगलाई अङ्गीकार गर्दै समाजले मोबाइल एप्स ‘इजीट्याक्सीनेपाल’मार्फत वैशाखदेखि नै यात्रुहरुलाई दिने सेवाको परीक्षण गर्दै आएको छ । अब भने समाजले इजीट्याक्सीनेपालमार्फत आबद्ध ट्याक्सीहरुमार्फत प्रविधिमा आधारित रहेर यात्रुले सेवा लिन सकिने घोषणा गरेको हो ।


इजीट्याक्सीनेपाल ट्याक्सी सेवा हाल काठमाडौं उपत्यकाभरि सञ्चालनमा आइसकेको छ । यसका लागि ‘इजीट्याक्सीनेपाल एप्स डाउनलोड गरेर आफूलाई दर्ता गर्नुपर्ने हुन्छ । यात्रुले लगइन गरेपछि त्यसमा रियलटाइम म्यापमा आफू बसेको स्थान देखिन्छ भने जाने गन्तव्य छनौट गर्नुपर्दछ ।


यात्रुले एप्समा गरेको अनुरोधका आधारमा सो क्षेत्रनजिक भएका ट्याक्सीचालकले सोही एप्समार्फत सो अनुरोधलाई स्वीकार गर्नेछन् । र त्यसमा भएको यात्रुको मोबाइल नम्बरमा फोन गरेर यात्रु भएको स्थानमा गएर सेवा दिनेछन् ।


‘अब नेपालमा पनि प्रविधिमा आधारित ट्याक्सी सेवा सुरु भएको छ,’ उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वा छानेले भने, ‘सरकारले २० लाख पर्यटक भित्र्याउन भिजिट नेपाल २०२० अभियान गर्दैछ भने इजीट्याक्सीनेपाल एप्सले पनि सो अभियानलाई साथ दिन प्रचार प्रसार गर्दै स्वदेशी र विदेशी पर्यटकलाई यात्रुमैत्री सेवा प्रदान गर्नेछौं ।’


पहिलो चरणमा २७ सयभन्दा बढी ट्याक्सीमार्फत सेवा सुरु गरिएको छ भने अन्य ट्याक्सी तथा चालकहरु सो एप्समा जोडिँदै गएको अध्उक्ष छानेले भने ।

 
हालका लागि यात्रुले सो एप्समा लगइन गरेर यात्रा गर्दा नगदमा नै भुक्तानी गर्न सक्नेछन् भने छिटै डिजिटल वालेटमार्फत पनि भाडा भुक्तानी गर्न सक्ने सुविधाको तयारीमा कम्पनी लागेको छ ।


उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव पूर्णलाल मोक्तान (तामाङ), ले काठमाडौंको अहिलेको सेवा शुल्कमा प्रविधिमा आधारित रहेर ट्याक्सीसेवा सञ्चालन गर्न निकै कठिन भए पनि चालकहरुका साथै सबैको सहयोगमा इजीट्याक्सीनेपाल एप्स सञ्चालनमा ल्याएको बताए ।


‘अहिलेको ट्याक्सीको भाडादर वैज्ञानिक छैन् भने धेरै वर्षदेखि ट्याक्सी भाडादर समायोजन गरिएको छैन्, तर पनि एप्समार्फत यात्रुहरुलाई उचित मूल्यमा सेवा दिने प्रयास गरेका छौं,’ महासचिव मोक्तान (तामाङ) ले भने । 


यो एप्समा आबद्ध चालक र यो एप्समार्फत सेवा लिने यात्रु दुवैको ५ लाख रुपैयाँको दुर्घटना बिमा गरिएको छ । समाजले इजीट्याक्सीनेपाल एप्समा आधारित ट्याक्सी सेवा आगामी दिनमा अन्य सहरी क्षेत्रहरुमा पनि बिस्तार गर्ने योजना लिएको छ ।


इजीट्याक्सीनेपाल एप्स हाल एन्ड्रोयड प्ले स्टोरमा मात्र छ । निकट भविष्यमा नै एप्पलको एपस्टोरमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top