निगमले तीन क्षेत्रको व्यवस्थापन विदेशीलाई दिने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असार २५, बुधबार  
निगमले तीन क्षेत्रको व्यवस्थापन विदेशीलाई दिने

काठमाडौं । नेपाल वायुसेवा निगमले तीन ओटा क्षेत्रको व्यवस्थापन मात्रै विदेशी कम्पनीलाई दिने भएको छ । निगमले  इन्जिनियरिङ, अप्रेसन र मार्केटिङको जिम्मेवारी मात्रै विदेशी कम्पनीलाई दिने तयारी गरेको हो । 

निगमका प्रवक्ता नवराज कोइरालाले व्यवस्थापन भित्र्याउने विषयमा बोर्डबाट निर्णय आउनेबित्तिकै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुमतिका लागि पठाउने जानकारी दिए । 

अनुमतिका लागि कुनै पक्षमा रोक नभएमा ग्लोबल टेन्डर गरी तीन महिनाभित्र नयाँ व्यवस्थान आउने प्रवक्ता कोइरालाको भनाइ छ ।

निगमको सबैभन्दा समस्याका रुपमा रहेको इन्जिनियरिङ, अप्रेसन र मार्केटिङको जिम्मेवारी दिने तयारी छ । स्व.पर्यटनमन्त्री रवीन्द्र अधिकारीले केही समय अघिबाटै निगममा विदेशी व्यवस्थापन भित्र्याउने बताउँदै आएका थिए । निगमको सुधारका लागि विदेशी व्यवस्थापनको आवश्यकता रहने बताउँदै उनले आवश्यक प्रक्रिया अगाडि बढाएका थिए ।

निगममा कार्यकारी अध्यक्षका रुपमा मदन खरेल आएसँगै उनले विदेशी व्यवस्थापन ल्याउने तयारी गरेका थिए । निगमले विदेशी व्यवस्थापन ल्याउनका लागि आशयपत्र तयार पारिरहेको छ । 

कुन मोडलमा व्यवस्थापन भित्र्याउने र कति वर्षलाई दिने भन्ने विषयमा आशयपत्र बनाउन निगमले विज्ञका रुपमा राजबहादुर केसीसहित ५ सदस्यीय विज्ञटोली गठन भई त्यसले गत साताबाट काम सुरु गरिरहेको छ । सो समितिले अबको १० दिनभित्र निगमलाई रिपोर्ट बुझाउने छ । 

निगमको व्यवस्थापन लिन कतार एयरवेज, लुफ्थान्सा र इथोपियन एयरलाइन्सले सुरुदेखि नै चासो देखाउँदै आएका छन् । यसअघि पनि निगमको व्यवस्थापन जिम्मेवारी फ्रान्स एयरले लिएको थियो ।

निगमले हाल दुइटा वाइडबडी ए ३३०–२००, दुइटा ए ३२०–२०० न्यारोबडी विमानद्वारा अन्तर्राष्ट्रियतर्फ ६ देशका ८ गन्तव्यमा उडान गर्दै आएको छ ।

आन्तरिकतर्फ दुइटा एम ६०, चार ओटा वाई १२ र तीन ओटा डीएसी ६ विमानबाट २२ ओटा विमानस्थलमा सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पर्यटन बाट थप

Top