स्पेयर पार्ट्सको ५० प्रतिशत बजार हिस्सा तस्करको कब्जामा, बजाज र होण्डाका पार्ट्स सबैभन्दा बढी तस्करी

account_box सुजन ओली ,
प्रकाशित: २०७६ भदाै ३, मङ्गलबार,०८:०१:AM  
स्पेयर पार्ट्सको ५० प्रतिशत बजार हिस्सा तस्करको कब्जामा, बजाज र होण्डाका पार्ट्स सबैभन्दा बढी तस्करी

काठमाडौं । खपत हुने कुल स्पेयर पार्ट्समध्ये ५० प्रतिशत चोर बाटोबाटै नेपाल भित्रिने गरेको खुलेको छ । खुला सीमानाको फाइदा उठाउँदै तस्करहरुले नेपालको ५० प्रतिशत स्पेयर पार्ट्सको बजार कब्जा गरिरहेका छन् । 

स्रोतका अनुसार वैधानिक बाटोबाट आउने स्पेयर पार्ट्स र अवैधानिक बाटोबाट नेपाल भित्रिने स्पेयर पार्ट्सको बजार हिस्सा बराबरी छ । नाकामा बस्ने राजस्व अनुसन्धानको टोलीले प्रभावकारी रुपमा काम नगरेकाले तस्करले सहजै रुपमा भारतबाट स्पेयर पार्ट्स ल्याएर नेपाली बजारमा बेचिरहेका छन् । 

अटोमाबाइल व्यवसायीका अनुसार नेपालमा सबैभन्दा बढी बजाजको स्पेयर पार्ट्स चोरी भएर आउने गरेको छ । बजाजको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द्रले वार्षिक रुपमा एक अर्ब ५० करोड रुपैयाँ बराबरको बजाज मोटरसाइकलका स्पेयर पार्ट्स ल्याउने गरेको छ । त्यति नै मूल्य बराबरको बजाजको स्पेयर पार्ट्स तस्करले पनि नेपाल भित्र्याउने स्रोतको दाबी छ । 

नेपालमा बजाजको मोटरसाइकल पनि धेरै बिक्री हुने र त्यसैको स्पेयर पार्ट्स पनि चोरी पैठारी भएर भित्रिने गरेको हो । त्यसैगरी, होन्डाको पनि ठूलो परिमाणमा स्पेयर पार्ट्स चोरी भएर भित्रिने गरेको छ । होन्डापछि नेपालमा यामाहाको पनि स्पेयर पार्ट्स चोरी भएर आउने गरेको छ । 

दुई पाङ्ग्रे मात्र नभई नेपालमा चारपाङ्ग्रे सवारी साधनको स्पेयर पार्ट्स पनि ठूलो परिमाणमा चोरी पैठारी भएर भित्रिने गरेको छ । टाटा, हुन्डाई, सुजुकी, महिन्द्रालगायत गाडीको स्पेयर पार्ट्स ठूलो परिमाणमा चोरी पैठारी भएर भित्रिने गरेको छ । 

सरकारले स्पेयर पार्ट्स आयातमा १५ प्रतिशत भन्सार, ५ प्रतिशत अन्तशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको छ । वैधानिक तवरबाट नेपाल भित्र्याउने कम्पनीले करिब ३५ प्रतिशत राजस्व सरकारलाई तिरिरहेका छन् । तर, स्पेयर पार्ट्सको ५० प्रतिशत बजार तस्करको कब्जामा रहेको ठूलो मात्रामा राजस्व समेत सरकारले गुमाइरहेको छ । 

यो पनि पढ्नुहोस्ः
स्पेयर्स पार्ट्समा  व्यापक कर छली, वर्कसप र स्पेयर्स पार्ट्स कारोबारीको तथ्याङ्क...
तस्करको कब्जामा स्पेयर्स पार्ट्सको बजार, अर्बौ रुपैयाँ राजस्व छली
‘कुलेश्वर, कालीमाटी, टेकु र त्रिपुरेश्वर’ मा बेचिन्छन् चोरीका स्पेयर पार्ट्स

एकातिर सरकारले राजस्व गुमाइरहेको छ भने अर्कोतिर नक्कली स्पेयर पार्ट्स नेपाल भित्रिँदा उपभोक्ता पनि ठगीएका छन् । तस्करले सस्तोमा नक्कली सामान ल्याएर उपभोक्तासँग महँगो मूल्यमा बेचिरहेका छन् । 

सीमामा रहेका राजस्व अनुसन्धानको टोलीले सुक्ष्म रुपमा काम नगर्दा राज्यले वार्षिक करोडौं रुपैयाँ राजस्व गुमाइरहेको छ । एकातिर चोरी पैठारीबाट नेपालमा स्पेयर पार्ट्स आउँछ भने अर्कोतिर न्यूनविजीकरणमार्फत पनि यस्ता सामान भित्रिने गरेका छन् ।

‘कम मूल्याङ्कन गराउने ठूला परिमाणमा सामान भित्र्याउने खेल अहिले पनि रोकिएको छैन्,’ एक अटोमोबाइल व्यवसायीले भने, ‘एकातिर चोरी पैठारी भएर आएका सामानले बजार कब्जा जमाएका छन्, न्यूनविजीकरण भएर भित्रिएका सामानको बजार पनि सानो छैन ।’ 

वास्तविक मूल्य देखाएर सामान भित्र्याउने व्यवसायी तस्कर र न्यूनविजीकरण गर्नेको चेपुवामा परेका छन् । 

‘तस्करले चोर बाटोबाट सामान भित्र्याउँदा राज्यलाई तिर्नुपर्ने ३५ प्रतिशत सिधा जोगियो’ ती व्यवसायीले भने, ‘त्यस्ता सामानसँग प्रतिस्पर्धा गर्नै सकिन्न ।’ त्यसमाथि पनि न्यूनविजीकरण भएर भित्रिने सामानसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने अहिलेको बाध्यता भएको व्यवसायीहरु बताउँछन् । 

सुजन ओली

क्यापिटल नेपालका संवाददाता हुन् । 

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');