समस्याले सिकाएको व्यवसाय 

अनलाइन बजारको एउटा थलो, हाम्रोबजार डटकम

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज ४, शनिबार,०९:००:AM  
समस्याले सिकाएको व्यवसाय 

जब आवश्यकता खट्किन्छ, त्यसलाई पूरा गर्ने जुनून पैदा हुन्छ । सुरु गरेको कामप्रति विश्वास र आशा जाग्छ । धैर्य कायम रहन्छ । आफ्नो दीर्घकालीन योजनामा परिवारको साथसमर्थन रहन्छ भने एउटा नवीन सोचले त्यति बेला मूर्त रुप लिने जग बसाउँछ । यस्तै लाग्छ, प्रबल साखःको व्यावसायिक जीवन हेर्ने हो भने । 


न्यूरोडमा भनको मूल्य र समयमा पुराना मोबाइल बिक्री नभएपछि प्रबल साखःलाई पुरानो मोबाइल बेच्न नपाउँदै अर्काे नयाँ मोबाइल किन्नुप¥यो । नयाँ मोबाइल किन्न नपाएका प्रबलको दिमागमा त्यसै बेला जन्मिएको थियो, ‘हाम्रो बजार डटकम’को विचार । 


पारिवारिक व्यवसायमा अधिकांशलाई रुचि हुन्छ । बाल्यावस्थादेखि नै देख्दै र सिक्दै आएको पारिवारिक व्यवसायमा साखः ग्रुपको पछिल्लो पुस्ता प्रबल साखःलाई पनि रुचि नभएको होइन । तर आफूलाई कतै खड्किइरहेको आवश्यकता परम्परागत पारिवारिक व्यवसायले धान्न नसक्ने देखेपछि सन् २००८ तिर उनले सुरु गरे, आफ्नै नयाँ व्यापार । यसका लागि उनले विश्वमा चलिरहेको इन्टरनेट प्लेटफर्ममा सामग्री खरिदबिक्री गर्ने ट्रेन्डलाई नेपाल भिœयाएर ‘हाम्रो बजार डटकम’ सुरु गरे । 


बिजनेस एडमिनिस्ट्रेसमा स्नातक र मार्केटिङ आट्र्समा स्नातकोत्तर गरेका प्रबलको शैक्षिक पृष्ठभूमिमा प्रविधि थिएन । यद्यपि परिस्थितिले सिर्जना गरेको बिजनेस मोडललाई मूर्त रुप दिन उनले कुनै कसर बाँकी राखेनन् । व्यवसाय सुरु गरेपछि सामना गर्नुपरेको प्राविधिक चुनौती चिर्न उनले प्राविधिक पृष्ठभूमि भएका दुई साझेदार भित्र्याए । 


‘तपार्इं जुन क्षेत्रमा लागिरहनुभएको छ, तपाईंलाई त्यो क्षेत्रको ज्ञान छैन । तर अब त्यो फिल्डबिना अबको भविष्य छैन जस्तो लाग्छ भने त्यस क्षेत्रमा ज्ञान भएको व्यक्तिलाई विश्वास गर्न सक्नुपर्छ,’ उनी भन्छन्, ‘चाहना छ भने तपाईं त्यो क्षेत्रको प्रविधिसँग दैनिक सम्पर्क गर्नुहुन्छ । कम्पनी सुरु गर्दाताका मलाई प्रविधिबारे त्यति ज्ञान थिएन । त्यसैले मैले दुई जना साझेदार भिœयाएँ । जसले राम्रोसँग प्राविधिक ज्ञान हासिल गरेका थिए । पछि मैले पनि उनीहरुबाट सिकें । अब मलाई पनि यसबारे ज्ञान भइसकेको छ ।’ 

हाम्रो बजारको सुरुवाती चरण आफ्ना लागि एकदमै अप्ठ्यारो रहेको उनी बताउँछन् । 


के थियो त त्यस्तो अप्ठ्यारो ? 


नयाँ किसिमको काम भएका कारण त्यसको प्रभावकारिता र औचित्यप्रति उनी आफैं द्विविधामा थिए । अर्को कुरा, मानिसहरुलाई यसबारे कन्भिन्स गर्न पनि गाह्रो थियो । 


‘त्यस समय हाम्रो बजार सबैका लागि नयाँ नसुनेको अचम्मको अवधारणा थियो । त्यसैले मान्छेहरुलाई बुझाएर साथमा ल्याउन निकै कठिन थियो । हाम्रो बजारको यो यात्रामा हामीले दुई चारवर्ष त मानिसहरुलाई यसको प्रभावकारिता सुनिश्चित गराएर कन्भिन्स गर्नमै खर्चियौं,’ उनी भन्छन् । 


जब बिस्तारै व्यवसायप्रति मानिसहरुको रुचि बढ्यो, विश्वास जाग्दै गयो, उनी बिस्तारै सफल भए । त्यसपछि उनलाई चुनौती थपियो, आफ्नो सेवालाई कसरी बढीभन्दा बढी मानिससँग पुर्याउने ? 


‘केहीले त हाम्रो सेवा प्रयोग गरेका थिए,’ उनी विगत सम्झिन्छन्, ‘तर अब यसलाई धेरैसमक्ष कसरी पु¥याएर विश्वास जित्ने हाम्रो दोस्रो चुनौती थियो ।’ त्यसपछि हाम्रो बजारमाथि विश्वास गरेर प्रयोग गर्छौं भन्ने वर्ग देखापरे । तर प्रविधिमा अभ्यस्त नभएका मानिसलाई कसरी सिकाउने भन्ने चुनौती पनि उत्तिकै थियो । 


त्यसपछिको कुरा हो, इच्छा हुनेहरुलाई प्रबल साखःको टोलीले घरमा पुगेर होस् वा कार्यालयमै किन नहोस्, जहाँ अनुकूल हुन्छ, त्यहीँ पुगेर सिकाउन थाल्यो । त्यसपछि हाम्रो बजारको सेवा प्रभावकारी बन्यो । विश्वास पनि जित्यो । त्यसपछि बजारमा प्रतिस्पर्धा सुरु भयो । हाम्रो बजारको सिको गरेर बजारमा अन्य कम्पनी पनि बिस्तारै आउन थाले । 


साखःले प्रतिस्पर्धालाई अन्वेषणका लागि ऊर्जाका रुपमा लिए । र अगाडि बढे । ‘हाम्रो देशमा इन्टरनेटसम्बन्धी कानुनको कमी छ । यससम्बन्धी कति कुरा सरकारको बुझाइमा पनि थिएन । तर अहिले यो अवस्थामा केही सुधार आएको छ,’ साखः भन्छन्, ‘सरकारले यो क्षेत्रको आवश्यकतालाई भविष्य यही हो । यसैमा अगाडि बढ्नुपर्छ भनेर बुझेको छ । र सहकार्यका लागि पनि वाचा गरेको छ । काम अघि बढेको त छैन, तर सरकारले कम्तीमा इच्छासम्म देखाएको छ ।’


यो बृहत् सामाजिक प्लेटफर्ममा लाखौं, करोडौं मानिसको सेवा र चाहनालाई पूर्ति गर्दा विवाद आउन सक्छ । त्यसलाई सुल्झाउन ऐनकानुन निर्माण नहुँदा साखःले कम्पनी सुरुवात गर्दाताका धेरै समस्या भोगे । तर अहिले यी कुराहरुमा सरकारले सकारात्मक कदम चालेको छ । ‘हामीप्रति सरकार सकारात्मक भएको हो कि भन्ने भान भएको छ,’ प्रबल भन्छन् । 


प्राविधिक पक्षलाई राम्रो बनाएर योजना कार्यान्वयन गराउन भिœयाइएका दुई जना साझेदारसँग प्राविधिक ज्ञान राम्रो थियो । उनीहरुले आएपछि भने प्रबललाई केही हलुका भयो । बजारीकरणको पाटो उनले सम्हालेकै थिए । त्यसमा दुई जना सहयोगी थपिएपछि बिस्तारै कम्पनीको पब्लिसिटी बढ्दै गयो । ‘यसरी नै हाम्रो बजारको यात्रा अघि बढ्यो,’ उनी भन्छन् । 


कम्पनी सुरु गरेदेखि लामो समयसम्म उनले यसबाट आम्दानी गर्न सकेनन् ।  हुन त उनी तत्काल आय हुन्छ भनेर यता लागेका थिएनन् । ‘तत्काल आयको अपेक्षा थिएन । आम्दानी नभए पनि सबैलाई आफूहरु सही दिशामा छौं भन्ने भइरहेको भने थियो,’ साखः सम्झिन्छन्, ‘त्यही विश्वासले हामीलाई धैर्य गर्न सघाएको थियो ।’ 


हाम्रो बजार खुला प्लेटफर्म हो । दैनिक पत्रपत्रिकामा आउने वर्गीकृत विज्ञापन जस्तै यसले अनलाइनमा बजार उपलब्ध गराउँछ । केवल यसलाई यहाँ डिजिटलाइज गरिएको छ । पत्रपत्रिकामा विज्ञापन दिनुपरे शुल्क लाग्छ । तर यसमा निःशुल्क हुन्छ । निःशुल्क गरिरहँदा पैसा कमाउन सकिँदैन । तर यसरी प्लेटफर्म निःशुल्क गरे पनि प्लेटफर्मको ‘भोल्यूम’ र ‘ट्राफिक’ बढेपछि यसमा विज्ञापनदताहरु बढेका छन् । यसले अहिले आर्य आर्जन हुन थालेको छ । 
सन् २००८ मा सुरु भएको कम्पनीले मुनाफा दिन थालेको ३ वर्ष जति भएको साखः बताउँछन् । 


मान्छेहरुले हाम्रो बजारबाट व्यापार गरिरहेका छन् । कतिपयले यसमा ई–कमर्स साइट नै राखेर सञ्चालन गरिरहेका छन् । यहाँ प्रयोगकर्ताले घर, कोठा, जग्गाबारे सबै जानकारी पाउँछन् । 


अहिले हाम्रो बजारको टोलीमा प्राविधिक हेर्न मात्र दुईतीन जना कर्मचारी छन् । यो पुरानो ‘सेल्फ साइकल’ भएको कारण यसलाई हेर्न धेरै मान्छे चाहिँदैन । सामाजिक प्लेटफर्म भएका कारण यसलाई व्यवस्थापन र ‘मेन्टेन’ गर्न मात्र प्राविधिक चाहिन्छ । अरु यहाँ सामान किन्ने, बेच्ने सबै व्यक्तिले नै गर्छन् । यसकारण यो आफैं चल्ने चक्र हो । 


जब उनी व्यवसाय गरिरहेका थिए, तब उनले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने एउटा सामान्य प्रक्रियालाई राम्ररी बुझे । र त्यसैलाई आफ्नो व्यवसायको ‘भिजन’ बनाए । ‘तपार्इंलाई चाहिने चिज अरुलाई नचाहिन सक्छ । तर तपाईंलाई नचाहिने चिज अरु कोहीलाई आवश्यक हुन सक्छ । तपाईंलाई अनावश्यक सामान घरमा थन्काएर राख्नुपर्यो भने तपाईंका लागि घाटा हो,’ उनले भने, ‘तर सँगै अर्थतन्त्रका लागि पनि ठूलो घाटा हो । तपाईंलाई प्रयोग नहुने सामान थोरै पैसा दिएर कोही अरुले चलाउन पायो भने पैसा फ्लो भएर जान्छ । यो साइकल नियमित भयो भने टर्नओभर हुनासाथ अर्थतन्त्रमा ठूलो असर पार्छ । यसकारण कसैले पनि घरमा सामान थन्काएर राख्नु नपरोस् बरु थोरै पैसामा किन नहोस्, जो आवश्यकतामा छ, त्यसले पाओस् भन्ने मेरो सोच थियो । हाम्रो बजारले त्यही गर्न सघाएको छ । तपार्इंले पाँच हजारको मात्र टर्नओभर गर्नुभयो भने त्यो बजारमा घुमेर अर्थतन्त्रमा ठूलो असर पार्छ ।’


साखःलाई आफ्नो व्यवसाय विस्तारमा परिवारको दबाब कहिल्यै परेन । यो नगर, ऊ नगर, यसो भएन, उसो भएन भनेर कसैले भनेनन् । बुबा, हजुरबुवाको सहयोग समर्थन सधैं मिल्यो । आफ्नो रुचिको क्षेत्रमा लाग्दा उनले केही कुरा बुझेनन् भने ‘मैले गरेको काम ठीक होला त ?’ भनेर परिवारसँग सोध्थे । त्यसबाट पाएका सुझाव उनलाई व्यवसाय अघि बढाउन सहयोगी हुन्थे । त्यसैले आफ्नो परिवारसँग उनी खुसी छन् । उनको पारिवारिक व्यवसाय स्टिलको हो । त्यस क्षेत्रलाई छोडेर आफूले बिल्कूलै नयाँ क्षेत्रमा जाँदा पनि उनले सहयोग सधैं सहयोग एवम् समर्थन पाए । 


त्यसैले त उनलाई सधैं अघि बढ्न प्रेरित गरिरह्यो । 


‘हामीले जति गर्न सक्नुपर्ने हो, त्यो सकेका छैनौं,’ उनले भने, ‘हाम्रो बजारलाई अझ थप विस्तार गर्ने हाम्रो योजना छ ।’ 

के गर्छ हाम्रो बजारले ? 

हाम्रो बजार डटकम पुराना तथा नयाँ सामान खरिदबिक्री गर्ने अनलाइन क्लासिफाइड मार्केट प्लेटफर्म हो । यो प्लेटफर्ममा सम्पूर्ण नयाँ तथा पुराना कपडा, अटोमोबाइल्स, सौन्दर्य तथा स्वास्थ सामग्री पुस्तक, कम्प्युटर तथा विद्युतीय सामग्री, होम फर्निसिङ तथा उपकरण, मोबाइल फोन तथा ग्याजेट, रियल स्टेट, रेन्टल रुम, खेलौना, घरपालुवा जनावर, सङ्गीतसम्बन्धी सामग्री, ट्राभल्स एन्ड टुर प्याकेज जस्ता सेवा खरिदबिक्री गर्न पाइन्छ । बिक्रेताले आफ्ना पुराना तथा नयाँ सामग्री सेवा बिक्री गर्न वर्गीकृत ठाउँमा निःशुल्क आफ्नो वस्तुको विज्ञापन गर्न पाउँछन् । सामान आफैंसँग राखेर कुनै तेस्रो व्यक्तिलाई नसुम्पिईकन बिक्रेताले आफ्नो सामान क्रेतालाई आपसी समझदारीमा बिक्रीवितरण गर्न पाउँछ । यसमा वस्तुको मूल्य तोक्ने, बिक्री गर्ने तथा क्रेता र बिक्रेताबीचको कुनै पनि सम्झौतामा हाम्रो बजारले हस्तक्षेप गर्दैन । यसले अनलाइनमा मार्केट प्लेटफर्म उपलब्ध गराइदिने काम मात्र  गर्दछ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी जीवनशैली बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');