काठमाडौं। अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसिद्ध ब्युटी एकेडेमी आइएसएएसको नयाँ शाखा नयाँ बानेश्वरमा सुरु भएको छ। करिब चार करोड ५० लाख लगानीमा सञ्चालनमा आएको उक्त शाखाको अभिनेत्री वर्षा सिवाकोटीले उद्घाटन गरिन्।
ब्युटीसम्बन्धी अन्तर्राष्ट्रिय कोर्स अध्यापन गराउने उद्देश्यले कम्पनीले भारतका विभिन्न सहर, दुबई र श्रीलंकासँगै नेपालमा पनि स्कुल स्थापना गरेको हो।
आइएसएएसमा ब्यूटीसम्बन्धी छोटा तथा लामो अवधिका तालिम दिइनेछ। एकेडेमीमा तालिमप्राप्त जनशक्तिले विभिन्न क्षेत्रमा रोजगारी प्राप्त गर्न सक्ने जनाइएको छ।
अभिनेत्री वर्षा सिवाकोटीले आइएसएएस उद्घाटन गर्दै महिला सशक्तीकरणको अभियानअन्तर्गत उनीहरुलाई सीपमूलक रोजगारी हासिल गर्न एवं उद्यमी बनाउन पनि एकेडेमीले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्।
अन्तर्राष्ट्रिय सौन्दर्य शिक्षाको क्षेत्रमा प्रसिद्ध ग्लोबल ब्युटी आइकन भक्ति साप्केले सुरु गरेको अन्तर्राष्ट्रिय ब्रान्ड हो। करिब दुई दशकभन्दा लामो अनुभव भएकी साप्के ‘सिडेस्को सेक्सन युएइ’की अध्यक्षसमेत हुन्।
साप्केको नेतृत्वमा आइएसएएसले ११ आउटलेट विस्तार गरेको छ। साथै अमेरिकामा पनि शाखा खोल्ने तयारी अघि बढाएको उनको भनाइ छ।
एकेडेमीमा कोस्मेटोलोजी, मेकअप, नेल टेक्नोलोजी, स्पा थेरापी, सलुन तथा स्पा व्यवस्थापन, आइल्याश एक्सटेन्सनलगायत ४५ बढी अन्तर्राष्ट्रिय स्तरका पाठ्यक्रम पढाइ हुनेछ। यी कोर्स पूरा गरेपछि विद्यार्थीले सिडेस्को (स्विट्जरल्यान्ड), पिभोट पोइन्ट (अमेरिका), एलएटिटी (लन्डन), केएचडिए र डिएचए (दुबई) तथा टिभिइटी (यूएई)जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय निकायको परीक्षा दिएर प्रमाणपत्र प्राप्त गर्न सक्नेछन्।