बिदालाई पुस्तक  : फुर्सदको समय किताब पढेर ज्ञान बढाउने अवसर

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ असाेज १७, शुक्रबार,०१:४०:PM  
बिदालाई पुस्तक  : फुर्सदको समय किताब पढेर ज्ञान बढाउने अवसर

दसैं आउन लाग्यो । लामो बिदाको समय पनि नजिकिँदै छ । यो बेला के गर्ने सोचमा हुनुहुन्छ ? कि घुम्न जाने सोच बनाउनुभएको छ ? अथवा घरपरिवारसँगै बसेर रमाइलो गर्ने मानसिकता बनाउनुभएको छ ? कि पुस्तक पढेर बिदाको सदुपयोग गर्ने सोचाइमा हुनुहुन्छ ? 

केही न केही योजना पक्कै बनाउनुभएकै होला । 

दसैंको छेको पारेर नेपालका विभिन्न पुस्तक प्रकाशन गृहले नयाँनयाँ कृति बजारमा ल्याउने गरेका छन् । पुस्तक पढ्ने बानीले मानिसमा समाज, अर्थशास्त्र, राजनीति, कला, साहित्य आदिबारे जानकारी प्राप्त हुन्छ । साथै विश्व राजनीतिमा भइरहेका घटनाक्रम रसाहित्यबारे पनि धेरथोर ज्ञान हासिल हुन्छ नै । 

यही वास्तविकतालाई आधार मानेर हामीले यो अङ्कमा केही त्यस्ता पुस्तकलाई यहाँ प्रस्तुत गरेका छौं, जसले नेपाली पाठकबाट राम्रो प्रतिक्रिया पाए । साथै उपयोगी छन् भनेर पढ्न सुझाए । यी पुस्तकले तपाईंहरुको ज्ञानको दायरा फराकिलो पार्न पक्कै सघाउनेछन् । २०७५/७६ सालमा पाठकमाझ प्रभाव छाड्न सफल पुस्तकलाई यहाँ वर्णानुक्रमका आधारमा समेटिएको छ । दसैं बिदामा तपाईं पनि पढ्नुस् है त, यी पुस्तक :

अन्तर्दृष्टि

डा. कमल लामिछानेको पुस्तक हो– अन्तर्दृष्टि । १२ वर्षसम्म विद्यालय नपुगेका लामिछानेले पुस्तकमा आफूले सङ्घर्षबाट हासिल गरेको उपलब्धिको चर्चा गरेका छन् । साथै बाल्यकालदेखि देशदेखि विदेशसम्म अध्ययन गर्न जाँदाका कठिनाइ, उनका सङ्घर्ष, मिहिनेत एवम् कामप्रतिको समर्पण पुस्तकमा प्रस्ट देखिन्छ । अपाङ्गता भएका व्यक्तिप्रतिको आम धारणालाई पनि पुस्तकले उजागर गरेको छ । 

पुस्तक पढिरहँदा लाग्छ, दृष्टिविहीहरु जीवनभर ध्यानमा रहन्छन् । र लामिछानेले पनि यो पुस्तक त्यही ध्यानसाधनाबाट लेखेका हुन् । 

पुस्तकमा गाउँघर, किसान, सहर, विकासलाई सूक्ष्म दृष्टिबाट प्रस्तुत गरिएको छ । साथै दृष्टिविहीन व्यक्ति, उनीहरुलाई समाज एवम् परिवारले हेर्ने दृष्टिकोण आदिबारे पनि मिहीन चित्रण गरिएको छ । पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो । 

गुलाबी उमेर

मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेको चौथो कृति हो– गुलाबी उमेर । 

पुस्तकमा लेखकले एउटी किशोरीको हुर्कंदो उमेरको कथा पस्किएका छन्, जहाँ बाल्यकालबाट किशोर अवस्थामा प्रवेश गर्दा एउटी किशोरीमा देखापर्ने मानसिक तथा शारीरिक परिवर्तन र उतारचढावको कथा बुनिएको छ । यही उमेरको कथा नै गुलाबी उमेर हो । 

यो पुस्तक विशेषगरी किशोर मनोविज्ञानमा आधारित छ । किशोरीहरुको मनोविज्ञान कसरी विकास हुन्छ, वर्षैपिच्छे उनीहरुको व्यवहार कसरी परिवर्तन हुन्छ र उनीहरुले आफ्नो परिवारसँग कस्तो व्यवहार गर्छन्, त्यो देखाउने प्रयास पुस्तकले गरेको छ । यसमा फ्रायड प्रतिपादित इलेक्ट्रा कम्प्लेक्सलाई चित्रण गरिएको छ । उपन्यास लेखनमा केही नवीनता रहेको र प्रत्येक अध्यायको उपसंहारका रुपमा अर्काे पाठक खडा गरिनुलाई पुस्तकमा नौलो अभ्यास मान्न सकिन्छ । 

लेखकले पुस्तकमा उमेरलाई पाँच भागमा विभाजन गरेका छन् । जन्मदेखि १२ वर्षसम्म पल्लवी उमेर, जो सबैभन्दा अबोध र निश्छल हुन्छ । १३ देखि १९ वर्षसम्म गुलाबी उमेर, जुन सबैभन्दा तरल र कल्पनाशील उमेर हो । र २० देखि ४० वर्षसम्म मखमली उमेर, जसलाई ऊर्जावान् र शक्तिशाली उमेरका रुपमा बुझ्न सकिन्छ । ४१ देखि ६० वर्षसम्म बैजनी उमेर, जुन सबैभन्दा चिन्तनशील र दार्शनिक उमेर हो । ६१ देखि मृत्युपर्यन्तको समयलाई लेखकले अस्मानी उमेरका रुपमा चित्रण गरेका छन्, जो सबैभन्दा आध्यात्मिक अवस्था हो । पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो । 

दरबारको दुःखान्त

१८ वर्षअघि भएको नारायणहिटी राजदरबार हत्याकाण्ड अझै पनि रहस्यमै छ । तत्कालीन राजा वीरेन्द्रको वंश नै सकाउने गरी भएको हत्याकाण्ड के थियो, कसरी भएको थियो भन्नेबारे धेरै कुरा बाहिर आएका छैनन् । विवेक शाहले लेखेको ‘मैले देखेको दरबार’मा केही कुरा खोतले पनि त्यसले रहस्यको पर्दाफास भने गर्न सकेको छैन । तर, पछिल्लो पटक नारायणहिटी हत्याकाण्डका प्रत्यक्षदर्शी सैन्य अधिकारी तत्कालीन राजा वीरेन्द्रका प्रमुख शाही पाश्र्ववर्ती (एडीसी) सुन्दरप्रताप रानाले त्यसको पर्दाफास गरेका छन् । 

तत्कालीन राजा, रानी र युवराजको एडीसीका रुपमा दरबारमा १७ वर्ष बिताउँदाका अन्य थुप्रै अनुद्घाटित घटनाका साक्षी पनि हुन् राना । त्यससम्बन्धी हालसम्म बाहिर नआएका निकै महङ्खवपूर्ण र रोचक प्रसङ्ग पुस्तकमा छन् । 

१९ ओटा अध्यायमा बाँडिएको यो पुस्तकमा रानाले देखेको जेठ १९ को घटना र त्यसपछिका दृश्यावलीको विस्तृत वर्णन गरेका छन् । बिलियर्ड हलको प्रलयकारी दृश्य, मेसिनगनको फायर हुँदाहुँदै राजालाई त्यहाँबाट निकाल्दाको क्षण, घाइते राजाको प्राण बचाउन दौडाउँदाको अवस्था र अस्पतालको कोलाहल आदिलाई पुस्तकमा सरल भाषाशैलीमा प्रस्तुत गरिएको छ । 

पुस्तक दरबार हत्याकाण्डको वरिपरि मात्र घुमेको छैन, तत्कालीन राजपरिवारका सदस्यहरुको स्वाभाव, शैली, राजा वीरेन्द्रकी रानी ऐश्वर्य, छोरा दीपेन्द्र र भाइहरु ज्ञानेन्द्र–धीरेन्द्रसँगका सम्बन्धलगायत थुप्रै निजी प्रसङ्ग पनि यसमा समाविष्ट छन् ।

राजा वीरेन्द्रले महत्त्वपूर्ण राजनीतिक निर्णय लिँदाको मनोविज्ञान, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, मदन भण्डारीलगायत नेतासँगको व्यक्तिगत सम्बन्ध, भारतसँगको टकराव, चीनसँग हतियार विमानभेदी अस्त्र किन्दाको पृष्ठभूमि, राजदरबारको आन्तरिक समीकरण आदिबारे पनि पुस्तकमा पढ्न पाइन्छ ।

समग्रमा राजपरिवारको जीवन र अन्त्यको वृत्तान्त हो– दरबारको दुःखान्त, जसले नेपालको निकट इतिहास बुझ्न सघाउँछ । पुस्तक किताब पब्लिसर्सले प्रकाशन गरेको हो ।

परराष्ट्रका पात्र 

विभिन्न कालखण्डमा नेपालको परराष्ट्र मामिला ककसले चलाए ? कसरी चलाए ? हाम्रो परराष्ट्र नीति कसरी तय भयो ? कुन नेता वा मन्त्रीको कार्यशैली कस्तो थियो ?

पूर्वपरराष्ट्रसचिव डा. मदनकुमार भट्टराईको पुस्तक ‘परराष्ट्रका पात्र : नेपाली कूटनीतिको सञ्चालन र सञ्चालक’ यी र यस्तै प्रश्नको जवाफमा केन्द्रित छ ।

किताब पब्लिसर्सले प्रकाशन गरेको यो पुस्तक विदेश अड्डाका प्रमुख सञ्चालकको भूमिका वरपर घुमेको छ । यो पुस्तकले नेपालको परराष्ट्र कार्यालय र यसका प्रमुख पात्रहरुको भूमिकाको व्याख्या गरेको छ । 

पुस्तकमा जैसीकोठा र मुन्सीखाना जस्ता नेपालका प्रारम्भिक वैदेशिक अड्डादेखि त्यसका सञ्चालकहरुबारे पनि थुप्रै नयाँ तथ्य समेटिएको छ । पुस्तकमा बीपी, गिरिजाप्रसाद र मातृकाप्रसाद कोइराला, सूर्यप्रसाद उपाध्याय, ऋषिकेश शाहलगायत कूटनीतिज्ञ र राजनीतिज्ञहरुबारे विश्लेषण छ । पुस्तक किताब पब्लिसर्सले प्रकाशनमा ल्याएको हो । 

शिलान्यास

इतिहास अध्येता सुजित मैनालीको नयाँ गैरआख्यान पुस्तक हो– शिलान्यास ः नेपाल निर्माणको नालीबेली । पुस्तकमा लेखक मैनालीले नेपाल निर्माणको जग कसरी बस्यो र देशलाई विदेशी उपनिवेश बन्नबाट तत्कालीन भारदारहरुले कसरी जोगाए भन्ने वर्णन गरेका छन् । नेपाल निर्माणको सन्दर्भमा पृथ्वीनारायण शाहको भूमिकालाई उनले विश्लेषण गरेका छन् ।

सरल एवम् सरसपूर्ण तरिकाले लेखिएको पुस्तक नेपालको ऐतिहासिक विषयवस्तुबारे चासो राख्नेहरुका लागि महङ्खवपूर्ण हुन सक्छ । किताबमा इतिहासको जगमा टेकेर वर्तमान नेपालबारे लेखकले आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् । पुस्तक क्रमबद्धताको नियममा बाँधिएको छैन । लेखकले आफ्नो रुचि र प्राथमिकताका आधारमा विषयवस्तुको छनोट गरेका छन् । नेपालको इतिहासको सरसर्ती ज्ञान लिन चाहनेहरुका लागि किताब उपयोगी हुन सक्छ । 

पृथ्वीनारायण शाहको विषयमा दुई किसिमका अतिवादी धारहरु प्रकट भइरहेको बेलामा लेखक मध्यविन्दुमा उभिएको देखिन्छ । लेखक मैनालीको यो दोस्रो कृति हो । यसअघि उनले सौरभसँगको सहलेखनमा ‘ब्रेकिङ नेपाल’ पुस्तक ल्याएका थिए । समाजशास्त्रका विद्यार्थी भए पनि मैनालीको इतिहासमा बलियो दख्खल छ । उनी ऐतिहासिक विषयवस्तुहरुलाई वर्तमानसँग जोडेर व्याख्या विश्लेषण गर्ने गर्छन् । पुस्तक बुकहिलले प्रकाशनमा ल्याएको हो ।

मृत्युको आयु

जनस्वास्थ्यविज्ञ तथा लघुकथाकार रवीन्द्र समीरको नयाँ कृति हो– मृत्युको आयु । वैदेशिक रोजगारीका लागि खाडी मुलक पुगेको एक व्यक्तिको मृत्युपश्चात् त्यस व्यक्तिको आत्माको दृष्टिकोणबाट लेखिएको यो कृतिले वैदैशिक रोजगारीमा जानेहरुको कारूणिक कहरलाई काल्पनिक भाषामा सुन्दर रुपमा प्रस्तुत गरेको छ । 

पुस्तकमा संरचनात्मक नयाँपनको खोजी गरिएको छ । लघुकथाहरुका रुपमा पढ्न सकिने ससाना कथाहरुलाई उनेर लेखकले उपन्यास बनाएका छन् । एउटा खास किसिमको फम्र्याटमा आइरहेको नेपाली आख्यान क्षेत्रमा मृत्युको आयु फरक खालको कथावाचन शैलीमा प्रस्तुत भएको छ । 

रेमिट्यान्सको भरमा टिकिरहेको नेपाली अर्थतन्त्र र त्यसले व्यक्ति, परिवार र समाजमा पारिरहेको भयावह प्रभावको सशक्त एवम् मार्मिक चित्रणले उपन्यासलाई समकालीन समस्यासित जोड्छ । ब्ल्याक ह्युमरको प्रयोग यो सूत्र उपन्यासको अर्को बलियो पक्ष हो ।

स्वैरकाल्पनिक शैलीमा लेखिएको यो उपन्यास चोटिलो र मर्मस्पर्शी छ । खाडी मुलकहरुबाट वार्षिक सयौंको सङ्ख्यामा रातो बाकस नेपाल आउँछन् । ती रातो बाकसमा उनीहरुको जीवनसँगै सपना र रहर पनि मृत भएर आउँछन् । यस्ता थुप्रै राता बाकसको प्रतिनिधित्व गर्ने एउटा रातो बाकसको कथा नै मृत्युको आयु हो । 

यहाँ लघुकथाहरुलाई बुनेर उपन्यास बनाउने प्रयोग गरिएको छ । पुस्तक फाइनप्रिन्टले बजारमा ल्याएको हो । 

लोकतन्त्र र आजको मार्क्सवाद 

समाजशास्त्री चैतन्य मिश्रले नेपाली भाषाले लेखेको तेस्रो पुस्तक हो– लोकतन्त्र र आजको मार्क्सवाद । पुस्तकले नेपाली राजनीतिको विगतको संश्लेषण गर्दै भविष्यको रेखाचित्र कोर्ने प्रयास गरेको छ । यसमा लेखकले नेपाली समाजको गतिशीलताका लागि सामाजिक प्रजातन्त्रको आवश्यकता औंल्याएका छन् । पुस्तकले ऐतिहासिक भौतिकवादको बुझाइबारे नै छलफलको आवश्यकता खोजेको छ । 

पुस्तकमा लोकतन्त्र, गणतन्त्रको अवस्थालाई चित्रित गर्दै त्रिविमा भीसी, रेक्टर, रजिस्ट्रार दलगत आधारमा भागबन्डा गरिएको विषय उठान गरेका छन् । नेपाली समाजको राजनीतिको अपहरण हुन लागेका प्रसङ्ग पुस्तकमा छन् । साथै समाजमा, क्याम्पसमा अराजनीति हाबी हुने कुराको पनि विश्लेषण गरिएको छ । 

महेन्द्रले चाहे जस्तो अराजनीतिकरण हाबी हुँदै गएको र त्यो नेपाली समाजका लागि हानिकरण हुने धारणा पुस्तकको छ । विभिन्न समयमा लेखकका छापामाध्यममा प्रकाशित लेखलाई एकीकृत गरी पुस्तकका रुपमा बजारमा ल्याइएको हो । पुस्तक बुकहिलले प्रकाशन गरेको हो । 

वरिपरि नै सर्वोपरि

स्वास्थ्यलाई विज्ञानको चेतसहित छेउछाउका परिवेशसँग जोड्दै आएका लेखक जीवन प्रसाईको तेस्रो पुस्तक हो– वरिपरि नै सर्वोपरि । पृथ्वीभरिका जीवात्माहरुको आहाराको मूल स्रोत हरियालीको कुरा उठाएर पुस्तक अघि बढेको छ । त्यसपछि हरियालीलाई यो किताबकै चुरो अर्थात् हाम्रो खानपिनसँग जोड्ने काम गरिएको छ । सबैले मानिआएको सर्वोपरि कुरालाई नै टेकेर पुस्तक तयार गरिएको छ । 

जैविक विविधताले हामी सम्पन्न भए पनि हाम्रा निम्ति अत्यन्त महङ्खवपूर्ण चिज हाम्रै वरिपरि छन् । पुस्तकले त्यही महङ्खवलाई बुझाउन खोजेको छ । 

मानिसले स्वस्थ्य जीवनका निम्ति वंशानुगत जिनबाटै थुप्रै गुण बोकेर आएका हुन्छन् । त्यसपछिको महत्वपूर्ण भनेको हाम्रो खानपिन, आनिबानी र वातावरण नै हो । त्यसैले यिनै कुरालाई मेडिकल केमिस्टका रुपमा वैज्ञानिक तर्कसमेत उभ्याउँदै लेखकले पुस्तकका रुपमा प्रस्तुत गरेका छन् । 

पुस्तकमा लेखकले हाम्रा वरिपरि प्रकृतिमै केकस्ता कुराहरु छन् र तिनले हामीलाई के लाभ मिलिरहेको छ भन्ने बयान गरेका छन् । साथै त्यस्ता कुरा लोप हुनबाट जोगाउनुपर्ने तर्क पुस्तकमा गरिएका छन् । यिनको बेलैमा संरक्षण गरिएन भने आउँदो पुस्तालाई हामीले कस्तो संसार छाडेर जानेछौं भन्दै लेखक प्रसाईंले सतर्क पनि गराएका छन् । पुस्तक नेपालयले प्रकाशनमा ल्याएको हो । 

क्यापिटल बिजनेस म्यागजिनबाट

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कला / साहित्य बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');