काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सेयर कारोबार मापक नेप्से परिसूचक निरन्तर ओरालो यात्रामा नै छ । विगतमा राम्रो प्रतिफल दिएका कम्पनीको सूचक नै नकारात्मक भइरहेको बेला सेयर बजारमा एकैपटक ठूलो मात्रामा साधारण सेयर आउन लागेका छन् ।
नेपाल धितोपत्र बोर्डको तथ्याङ्कलाई नै हेर्ने हो भने भने पनि विभिन्न १२ कम्पनीका ४ अर्ब ४० करोड ६५ लाख ५९ हजार ६०० बराबरको ४ करोड ४० लाख ६५ हजार ५९६ कित्ता साधारण सेयर (आईपीओ) बिक्रीका लागि तयारी हालतमा छन् । त्यसमा सबैभन्दा बढी जलविद्युत् कम्पनी आईपीओ सेयर बिक्रीको तयारीमा छन् ।
नेप्सेमा सूचीकृत भएका ३२ जलविद्युत् कम्पनीमध्ये बिहीबारको कारोबारका आधारमा हेर्ने हो भने १८ वटा जलविद्युत् कम्पनीको सेयर दोस्रो बजारमा आधारभूत मूल्यभन्दा निक्कै तल छ । त्यो भनेको १०० रुपैयाँमा खरीद गरेको सेयर त्यो भन्दा निक्कै तल आइपुगेको अवस्था हो ।
विगतमा राम्रो लाभ दिने भनेर चिनिएको चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको सेयर मूल्यसमेत घटेर प्रतिकित्ता ३५५ रुपैयाँ हाराहारीमा आइपुगेको छ । आधारभूत मूल्यभन्दा माथि रहेका जलविद्युत् कम्पनीमा अपि पावर कम्पनी लिमिटेड १०२, अरुण काबेली पावर लिमिटेडको १२०, बुटवल पावर कम्पनी लिमिटेडको ३४४, नेपाल हाइड्रो १०४, ङ्यादी पावर ग्रुपको १०८, पाँचथर पावर कम्पनीको १०४, राधी विद्युत कम्पनीको १३८, सानीमा माईको १८० रुपैयाँमा दोस्रो बजारमा कारोबार भइरहेको छ ।
निर्माणाधीन अवस्थामा नै रहेका माथिल्लो तामाकोसीको सेयर मूल्य दोस्रो बजारमा २२४ मा कारोबार भइरहेको छ । यस्तै रसुवागढी जलविद्युत कम्पनीका १६३ र साञ्जेन जलविद्युत कम्पनीको १५३ मा कारोबार भइरहेको छ ।
बजारमा लगातार जलविद्युत् कम्पनीमा लगानी गर्ने लगानीकर्ता डुबिरहेको बेला बजारमा आउन लागेको आईपीओले बजारलाई कुन लय र गतिमा लैजाला भन्ने चासो पनि उत्तिकै छ । सेयर बजारलाई नजिकबाट नियालिरहेका भएका विश्लेषक प्रकाश तिवारीको विचारमा कमजोर कम्पनीलाई साधारण सेयर जारी गर्नै दिनुहुन्न ।
धितोपत्र बोर्ड, नेप्से, मर्चेन्ट बैंकर तथा प्रत्याभूतकर्ता कम्पनीले पनि अब सोच्ने बेला आएको तिवारीको भनाइ छ । जलविद्युत् प्रवद्र्धकले निर्माणको क्रममा नै आफूलाई फाइदा निकाल्ने र साधारण शेयरधनीलाई मर्कामा पार्ने प्रवृत्ति मौलाएका कारण पनि बजारमा जलविद्युतको सेयरले गति लिन नसकेको तिवारीको भनाई छ।
वित्तीयरुपमा कमजोर अवस्थामा रहेका जलविद्युत् कम्पनीले सेयरधनीलाई आर्थिक वर्ष २०७५/०७६ को मुनाफासमेत राम्रो दिन सकेका छैनन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रकाशित विवरणसमेतमा उनीहरुको अवस्था कमजोर देखिन्छ । एकाधबाहेक अधिकांश कम्पनीले शेयरधनीलाई राम्रो प्रतिफल दिन सकेको छैन । यसको प्रभाव दोस्रो बजारसमेतमा परेको छ ।
गत आवको पहिलो त्रैमासमा जलविद्युत् कम्पनीले ६८ करोड २५ लाख २४ हजार रुपैयाँ नाफा कमाएका थिए । चालु आवको पहिलो त्रैमासमा केही प्रतिशत नाफा बढेको देखिए पनि समग्रमा लगानीकर्ता घाटामा परेका छन् । आव २०७५÷०७६ को पहिलो त्रैमासको तुलनामा चालु आवको पहिलो त्रैमासमा करीब १९ प्रतिशतले नाफा बढेर ८१ करोड ५६ लाख रुपैयाँ पुगे पनि मूल्यवृद्धि तथा अन्य कारणले त्यसको सकारात्मक प्रभाव परेको देखिँदैन ।
हालसम्म प्रकाशित विवरणअनुसार २७ वटा जलविद्युत् कम्पनीको वित्तीय विवरण प्रकाशित भएको छ । त्यसमा सात वटा कम्पनीको हालत कमजोर नै रहेको छ । उदाहरणका लागि दिव्यश्वरी हाइड्रोपावर गत आवको पहिलो त्रैमासमा १३ लाख २७ हजार रुपैयाँ नोक्सनी व्योहोरेको थियो । चालु आवको पहिलो त्रैमासमा सो कम्पनीको नोक्सान बढेर ३५ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।
खानीखोला जलविद्युत् कम्पनीको गत आवको पहिलो त्रैमासमा ३ करोड ६५ लाख ४४ हजार रुपैयाँ नोक्सानमा थियो । चालु आवको सोही अवधिमा कम्पनीको नोक्सान ८.५२ प्रतिशतले घटेपनि ३ करोड ३४ लाख ३० हजार रुपैयाँमा रहेको छ ।
माउन्टेन हाइड्रोको गत आवको पहिलो त्रैमासमा २ करोड २६ लाख सात हजार रुपैयाँ घाटा खाएकामा चालु आवको पहिलो त्रैमासमा बढेर ४ करोड ५८ लाख ३० हजार रुपैयाँ पुगेको छ । कुनै समय राम्रो प्रतिफल दिने कम्पनीको रुपमा परिचित बुटवल पावर कम्पनीको नाफा ४७ प्रतिशतले घटेको छ ।
आगामी असारदेखि सोही कम्पनीले व्यवस्थापन गर्ने हिमाल पावरले सञ्चालन गरिरहेको ६० मेगावाट क्षमताको खिम्तीको ५० प्रतिशत हिस्सा नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा आउने भएपछि झन् घाटा बढ्ने देखिन्छ । यस्तै अरुण काबेली पनि ४ लाख ३९ हजार रुपैयाँ नोक्सानीमा रहेको छ ।
मनसुनको समयमा नै केही जलविद्युत् कम्पनीको विद्युत् बिक्री कम छ । त्यसमा कालिका पावर, खानीखोला, आँखुखोला, युनियन हाइड्रो, राधी रहेका छन् ।