×

डेढ अर्ब लगानी थप गर्दै एसियन कंक्रिट,सरकारको असहयोगले विदेश निर्यातमा समस्या 

images

काठमाडौं । एसियन कंक्रिटो उद्योगले उत्पादन बढाउन थप डेढ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । १ वर्ष अघिबाट उत्पादन सुरु गरेको उद्योगले  सञ्चालन अवधिमा डेढ अर्ब रुपैयाँ लगानी गरिसकेको छ । भैरहवा–परासी औद्योगिक करिडोर अन्तरगत रामग्राम नगरपालिकाको हकुई १६ मा रहको उद्योगले २०७५ साउनदेखि उत्पादन सुरु गरेको थियो ।

उद्योगले पेभर्क, ब्लक, इँटा, कर्बस्टोन, होलोब्लक उत्पादन गरिरहेको छ । निर्माण सामाग्री बनाउने नेपालमै पहिलो उद्योगको रुपमा रहेको एसियनले अहिले दैनिक ५०० टन उत्पादन गरिरहेको छ । उद्योगले मासा नामक जर्मन प्लान्ट जडान गरेको छ । मासा  विश्वको ब्लक उत्पादन गर्ने उपकरण बनाउने कम्पनी मध्ये सबै भन्दा राम्रो प्रविधि प्रयोग गर्ने कम्पनी हो । 

मासाले नेपालको कम्पनी निगरानीको लागि ३६ ओटा क्यामेराहरु जडान गरेको छ । त्यसबाट प्रत्येक दिनको कामको निगरानी जर्मनीबाटै हुने गरेको छ । उद्योगमा लाग्ने सम्पूर्ण कच्चापदार्थहरुको आधुनिक ल्यावमा टेष्ट हुन्छ । त्यसपछि त्यो रिपोर्ट जर्मनी पठाइन्छ । ठिक छ भन्ने जानकारी आएपछि मात्र ती कच्चापदार्थहरु उत्पादनमा प्रयोग गरिने उद्योगले जनाएको छ ।

उद्योगले सतप्रतिशत कच्चापदार्थ नेपालकै प्रयोग गर्दै आएको छ । उद्योगले प्रयोगमा ल्याउने कच्चापदार्थहरु ९५ प्रतिशतभन्दा बढी नेपालमै उपलब्ध हुने भएकाले विगतमा नेपालवाट भारत निकासी हुने गिटी, बालुवा र ढुङालाई नेपालमै प्रयोगमा ल्याएर त्यसबाट विभिन्न वस्तुहरु उत्पादन र बजारीकरण गरी छिमेकी राष्ट्रमा निकासीगर्दा देशलाई नै बढी फाइदा हुने जनाएको छ ।

अत्याधुनिक प्रविधिको प्रयोग भएको उद्योगलाई सरकारले खासै वास्ता नगरेको अध्यक्ष मनिष रुंगटाको भनाइ छ । उनले सरकार मातहत बनेका भौतिक संरचनाका योजनाहरु सडक, सडकपेटी, पुल, विभिन्न किसिमका भवनहरुमा यो उद्योगबाट उत्पादन भएका उच्च गुणस्तरीय वस्तुहरु खासै प्रयोग नगरेको गुनासो गरे । 

उद्योगको उत्पादन क्षमता धेरै भएको कारण नेपालको मात्र बजारले नपुग्ने अवस्था आएपछि भारत, भुटान र बंगलादेशमा निकासी गर्ने सोच बनाएको छ । सरकारी स्तरबाट कुनै किसिमको समन्वय र सहयोग नहुँदा निकासीमा समस्या पैदा भएको उनले बताए । 

नेपालमा उपलब्ध यस्ता उत्पादनहरुको कम्प्रेसिव स्र्टेन्थ हालसम्म एम १०, एम १५ र एम २० मात्र रहेको छ । तर एसियनबाट उत्पादित बस्तुहरुको कम्प्रेसिव स्र्टेन्थन्यूनतम एम ३५ भन्दा बढी हुने भएकोले कम्तीमा १५० मेट्रिक टनको प्रेसरले च्यापेर बनाउने गरिएको जनाएको छ । उत्पादित बस्तुहरु मजबुत, बलियो, टिकाउ हुने गरेको उद्योगको दाबी छ ।

कम्प्रेसिव स्टे«न्थ भएका वस्तुहरुबाट पार्किङ, सडक, आगन, वेयरहाउस, मल, व्यापारिक भवन, होटल रिसोर्टहरुको बाहिर प्रयोग गर्न सकिने छ । एसियनको उत्पादित ब्लकहरु प्रयोगबाट सडक निर्माण गर्न  सकिएमा कम्तीमा २०/२५ वर्ष ढुक्क हुने उद्योको दावी छ । 

उत्पादित सामाग्रीहरुहरुलाई विदेशमा माग हुदाहुदै पनि निकासी गर्न नसक्दा भारतले यी वस्तुहरुको मूल्यांकन २५० रुपैया(भारु) प्रति बर्गफिट कायम गरेको छ । यसको वास्तविक मूल्य प्रति वर्गफिटमा ४० भारतीय रुपैयादेखि ६४ रुपैयासम्म पर्न आउने उद्योगले जनाएको छ ।

सरकाले यसको मूल्यांकनमा समन्वय गरेर वातावरण सहज बनाएमा भारतको उत्तरप्रदेश, विहार, दिल्लीदेखि बंगलादेशसम्म समेत निकासी गर्न सकिने अध्यक्ष रुंगटाको भनाइ छ ।

उद्योगबाट उत्पादित बस्तुहरुको कम्प्रेसिव स्र्टेन्थ लोकल मेसिन र फर्माबाट बन्ने अन्य लोकल उद्योगका वस्तुहरुको भन्दा तुलनात्मक रुपमा कम्तिमा ५ देखी ६ गुणा बढी भएकोले मूल्य केहि प्रतिशत बढी भएको उनले जानकारी दिए । मूल्य बढी भएकै कारण स्थानीय बजारमा कम खपत भएको उद्योगले जानकारी गराएको छ ।   

 

सोमबार ३० मंसिर २०७६ ०५:५५ PM मा प्रकाशित

प्रतिक्रिया