काठमाडौं । सहरी विकास मन्त्री बनेका मोहम्मद इस्तियाक राईले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका छन् । समाजवादी पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका राइले झन्डै २० महिना मन्त्रालयको जिम्मेवारी सम्हाले । समाजवादी पार्टीले सरकार छोडेपछि उनले पनि राजीनामा गरेका हुन ।
निकै शान्त स्वभावका मन्त्री राइको कार्यसम्पादन प्रति प्रधानमन्त्री स्वयम पनि सन्तुष्ट हुन सकेका थिएनन् । उनले सहरी क्षेत्रको विकासका लागि केही योजना अघि सुरु गरे । तर, विगतमा घोषणा भएका योजनालाइ निरन्तरता दिन बाहेक देखिने गरी काम गर्न सकेनन् ।
खासगरी सहरी विकासका योजना अघि सारेपनि कुन योजना अघि बढाउने भनेर अल्मलिए । विगतका क्रमागत र घोषित नयाँ सहर र स्मार्ट सिटी परियोजना अघि बढाउनु नै थियो । त्यसमा पनि खासै उपलव्धिमूलक कार्यसम्पादन गर्न सकेनन राइले ।
निकै चर्चामा रहेका नयाँ सहर आयोजना, स्मार्ट सिटी, हरित सिटी र मेगा सिटीको विकासका क्षेत्रमा त्यति राम्रो प्रगति देखिदैन् । बरु हिमाली क्षेत्र पनि नयाँ सहर विकास गर्ने भन्दै ५ ओटा ठाउँलाई नयाँ सहरका रुपमा विकास गर्ने योजना थप्ने काम उनै मन्त्री राइले गरे ।
अहिलेसम्म मध्यपहाडी लोकमार्ग आसपासमा १२, हुलाकी राजमार्ग आसपासमा १० ओटा, १३ ओटा स्मार्ट सिटी आयोजना विभिन्न समस्यामा छन् ।
त्यस्तै सुरक्षित नागरिक आवास, सघन सहरी कार्यक्रम, एकीकृत नमुना वस्ती निर्माण लगायतका आयोजना त्यति प्रभावकारी हुन सकेनन् । यसअघिका सरकारले घोषणा गरेको सहरी योजनालाई कार्यान्वयन गर्नुभन्दा पनि नयाँ सहरको संख्या थप्ने मात्र काम राइले गरे ।
काठमाडौं उपत्यकामा निकै महत्वपूर्ण मानिएको बाहिरी चक्रपथ आयोजनालाई मन्त्री राइले वेवास्ता गरे । ठूलो पूँजी र लगानी अभाव देखाउँदै चक्रपथ योजना पन्छाउने काम गरे । पुराना चक्रपथ तथा नदी आसपासमा बन्ने करिडोर निर्माण पनि अहिले लथालिङ्ग अवस्थामा छन ।
मुआव्जा विवादले बाहिरी चक्रपथसँगै बागमती नदीको सौन्दर्यता कायम राख्न अघि बढाएको आयोजना पूरा हुन सकेको छैन् । बागमती नदी क्षेत्रमा पर्ने पीडितहरु मुआब्जा नपाएको भन्दै बर्षौ अघिदेखि विरोधमा छन् ।