काठमाडौं । घोराही सिमेन्टले माटो मिसाएर बनाएको सिमेन्ट गाउँ गाउँमा पठाइएको सरकारी परीक्षणबाट देखिएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले बागलुङ जिल्लामा बिक्री भइरहेको घोराहीको ओपीसी सिमेन्टको परीक्षण गरेपछि यस्तो खुलेको हो ।
घोराहीले चलाखीपूर्ण काम गर्दै गुणस्तरी सिमेन्ट बनाएर काठमाडौं लगायत सहरमा पठाएको र गुणस्तरहीन सिमेन्ट गाउँ गाउँमा पुर्याएको भेटिएको हो ।
‘घोराहीले दुई थरी गुणस्तर बनाएर सिमेन्ट बजारमा पठाइरहेको देखिएको छ,’ विभााग स्रोतले भन्यो ‘बागलुङबाट लिइएको नमूना परीक्षण गर्दा सिमेन्टमा माटोको मात्रा अत्यधिक पाइयो भने काठमाडौंबाट लिएको नमूना परीक्षण सिमेन्ट गर्दा मापदण्डअनुसार नै रहेको भेटिएपछि घोराहीले चलाखी गरेको देखिएको हो, ।’
गाउँ गाउँमा पुगेको सिमेन्टको गुणस्तर नियमित रुपमा हुँदैन । देशका मुख्य सहरमा नियमित रुपमा सिमेन्टको परीक्षण हुन्छ । तर, अहिले विभागले सहर भन्दा पनि गाउँ गाउँबाट नमूना लिएर परीक्षण गर्दा गाउँमा पुगेको घोराहीको सिमेन्ट गुणस्तरहीन भएको फेला परेको हो ।
सिमेन्टमा माटोको मात्रा अत्यधिक भएपछि उद्योगको उत्पादन लागत कम हुने र महँगोमा बेच्दा बढी नाफा गर्न पाइने ध्येयले घोराहीले यस्तो गरेको विभागको अनुमान छ ।
सरकारी अधिकारी, अनुगमन गर्ने निकायको ध्यान गाउँमा भन्दा बढी सहरमा केन्द्रीत हुन्छ । सहरमा जनशक्ति पनि बढी हुन्छ । त्यही भएर उद्योगीले अहिले चलाखीपूर्ण काम गर्न लागेको विभागको बुझाइ छ ।
अहिले सहरमा भन्दा गाउँमा सिमेन्टको माग र खपत बढी हुने भएकाले घोराहीले ग्रामीण क्षेत्रका उपभोक्तालाई गुणस्तरहीन सिमेन्ट बेचिरहेको देखिएको हो ।
घोराहीले दाङ, बुटवल, पोखरा, पाल्पा, गुल्मीलगायत पश्चिम तथा सुदूरपश्चिमका गाउँमा घोराहीले माटो मिसिएको सिमेन्ट बेचिरहेको विभागले जनाएको छ । पछिल्लो समय विभागले सहर भन्दा गाउँ केन्द्रीय अनुगमनलाई तीब्रता दिएपछि यस्तो फेला परेको हो ।