काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना बनाउन हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
अपीले सो आयोजनाका लागि २०० प्रतिशत अर्थात २ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । आयोजनालाई स्वपूँजी (इक्विटी) जुटाउन हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाइसकेको छ । यस्तै धितोपत्र बोर्डबाट स्वीकृति पाउने तयारीमा रहेको कम्पनीका सञ्चालक सतिश न्यौपानेले बताए । उनले बोर्डबाट ढिलोमा २ साताभित्र स्वीकृति पाउने जानकारी दिए । हकप्रदबाट प्राप्त रकम प्रस्तावित माथिल्लो चमेलिया आयोजनामा लगानी गर्ने उनले जानकारी दिए ।
अपीले ८.५ मेगावाटको माथिल्लो नौगाड र ८ मेगावाटको नौगाड आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ । आयोजना आउँदो बैशाखदेखि सुरु गरी ३ वर्ष अर्थात २०७९ मा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
आयोजना बनाउन ७ अर्ब ४० करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । जसअनुसार ३० प्रतिशत अर्थात २ अर्ब २२ करोड रुपैयाँ सेयर लगानी र बाँकी ५ अर्ब १८ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको ऋण लगानी हुने छ । आयोजना बनाउन प्रतिमेगावाट लागत २० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
आयोजनाबाट २६ करोड ४१ लाख युनिट बिजुली उत्पादन हुने छ । चमेलियाबाट हिउँदमा ३० र वर्षादमा ७० प्रतिशत ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने बिजुली १३२ केभी बलाँच सवस्टेशनमा जोडिने छ ।
अपीले चमेलियाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणसंग खरिदबिक्री सम्झौता (पीपीए) गरिसकेको छ । विद्युत विकास विभागबाट पनि विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरिसकेको छ ।
यस्तै सरकारबाट ३ ओटा आयोजनासमेत गरी अपीको जडित क्षमता ५६.५ मेगावाट पुग्ने छ । अपीले स्वदेशी लगानीमा आन्तरिक माग पुरा गर्न आयोजना निर्माण गर्न लागेको हो ।
चमेलिया आयोजना दार्चुलाको अपी हिमाल गाउँपालिकामा पर्छ । आयोजनाको मुल संरचना चमेलिया खोलाको बायाँ किनारमा पर्छ ।
बाँध अपी गाउँपालिका र विद्युतगृह मार्मा गाउँपालिकामा रहेको छ । २०४ मिटरबाट पानी खसालेर ४० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य कम्पनीको छ ।\नेपाल विद्युत प्राधिकरणले ३० मेगावाटको चमेलिया आयोजनाबाट बिजुली उत्पादन गरिरहेको छ ।