काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुलाई सहयोगका लागि आग्रह गरेका छन् ।
कोरोना भाइरसको महामारीले भएको क्षतिको परिपूर्ति नेपाल जस्ता कम क्षमता र स्रोत भएका मुलुकहरुका लागि अन्तरर्राष्ट्रिय वित्तीय संस्थाहरुले विशेष सहयोग गर्नुपर्ने बताएका हुन् ।
अर्थमन्त्री खतिवडाले भिडियो कन्फरेन्सबाट दक्षिण एशियाली राष्ट्रहरुका अर्थमन्त्री, अन्य सरकारी अधिकारी, अन्तरराष्ट्रिय मुद्रा कोष, विश्व बैंकलगायत अन्य अन्तरर्राष्ट्रिय वित्तीय संस्थाका पदाधिकारीबीच कोरोना भाईरसले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी मंगलवार भएको छलफलमा गरेका हुन ।
छलफलमा अर्थमन्त्री खतिवडाले कोरोना भाईरस महामारीबाट सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेको बताएका थिए । यस्तै निर्माण र रोजगारीको क्षेत्रमा तत्काल असर पारेको तथा अर्थतन्त्रमा दीर्घकालमा नकारात्मक असर पार्न सक्ने धारणा राखेका थिए ।
अर्थमन्त्रीले खतिवडाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसले नेपालमा परेको असर र नेपाल सरकारले सो को रोकथाम र नियन्त्रणका लागि हालसम्म गरेको प्रयास बारे जानकारी समेत गराएका थिए ।
उक्त छलफलमा अन्तर्राष्ट्रय मुद्रा कोषका डाईरेक्टर च्याञ्योङ्ग रि, विश्व बैंकका भाईस प्रेसिडेन्ट हार्टवग सेफर, अन्तर्राष्ट्रिय वित्त निगमका भाईस प्रेसिडेन्ट नेना स्टोजोभिक, बहुपक्षीय लगानी प्रत्याभूत संस्थाका भाईस प्रेसिडेन्ट तथा चिफ अपरेटिङ्ग अफिसर एस. विजय आईयरका अतिरिक्त दक्षिण एशियाका राष्ट्रहरुका एक्जुकेटिभ डाईरेक्टरहरु तथा एशियाली विकास बैंक, एशियाली पूर्वाधार लगानी बैंक जस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाका पदाधिकारीको समेत सहभागिता थियो ।
सो छलफलमा नेपालका तर्फबाट अर्थमन्त्री खतिवडासँगै अर्थ सचिव शिशिरकुमार ढुंगाना, राजस्व सचिव रामशरण पुडासैनी, नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणी शिवाकोटी, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह सचिव श्रीकृष्ण नेपाल तथा नेपाल स्थित विश्व बैकका कन्ट्री म्यानेजरको समेत उपस्थिति थियो ।