अलपत्र विदेशी पर्यटकको उद्धार हुँदै, जहाज चार्टर गर्ने तयारीमा जर्मन दुतावास

account_box सुवास योञ्जन ,
प्रकाशित: २०७६ चैत १३, बिहीबार,११:०३:AM  
अलपत्र विदेशी पर्यटकको उद्धार हुँदै, जहाज चार्टर गर्ने तयारीमा जर्मन दुतावास

काठमाडौं । लकडाउनपछि अलपत्र परेका पर्यटकहरुलाई सम्वन्धित देशका दुतावासले उद्धारको तयारी थालेका छन । कोरोना भाइरसको संक्रमण देखिएसँगै सरकारले बुधबारबाट एक साताका लागि लकडाउन गरेपछि विभिन्न देशबाट आएका सयौं पर्यटकहरु अलपत्र परेका हुन । 

संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले अलपत्र परेका पर्यटकहरुको यकिन तथ्याँक आइनसकेको जानकारी दिए ।

“डाटा संकलन गरिरहेका छौं,पर्यटन सचिव अधिकारीले क्यापिटलसँग भने,सम्वन्धित देशका राजदुतावासको सिफारिसका आधारमा गृह मन्त्रालयको अनुमतिमा उनिहरुलाई उद्धार गर्न लागिरहेका छौं ।”

लुक्लामा १२५ भन्दा बढी पर्यटक अलपत्र नामावली सहित 

अहिले गृहको स्वीकृतिमा मात्र जहाज चार्टर गरेरपर्यटकको उद्धार गर्न पाइन्छ । बिहिबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले विभिन्न देशका पर्यटकहरुलाई उद्धार गरेर आफ्ना देशमा पठाउने निर्णय गरेको थियो ।

आफ्नो देशका नागरिकलाई उद्धार गरेर लैजान विभिन्न दुतावासले आइतबार भित्रमा जहाज ल्याएर लैजाने तयारी गरिरहेको उनले बताए । अहिले सरकारले नै विभिन्न ठाउँमा रहेका पर्यटकहरुलाई काठमाडौंसम्म ल्याइदिने र त्यसपछि सम्वन्धित देशको जहाज आएर लैजाने तयारी भएको छ ।

फ्रान्स,अस्ट्रेलिया,जर्मन र अमेरिकाले जहाज चार्टर गरेर लैजाने तयारी गरिरहेको उनले जानकारी दिए । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का महानिर्देशक राजन पोखरेलले लुक्ला र पोखराबाट पर्यटकहरु उद्धारका लागि बुध्द र तारा एयरले अनुमति लिइसकेको जानकारी दिए ।

तारा एयरले लुक्लाबाट पर्यटकहरु लिएर आउने छ ।  बुध्दले पोखराबाट पर्यटक ल्याएर आउने भएको छ । पर्यटक उद्धारका लागि सम्वन्धित देशका दुतावासले गृहको स्वीकृति लिनुपर्छ ।

जर्मन दुतावासले क्यानलाई दिएको प्रारम्भीक तथ्यांक अनुसार युरोपियन मुलुकबाट करिब ८०० पर्यटकहरु देशका विभिन्न भागमा रहेको जानकारी दिएका छन् । अहिले युरोपियन मुलुकको समन्वय जर्मन दुतावासले गरिरहेको छ ।

ट्रेकिङमा गएका पर्यटकहरु अहिले सोलुखुम्बुको लुक्ला, जोमसोम, मुक्तिनाथ, पोखरा लगाएतका क्षेत्रमा आएर बसेका छन् । केही पर्यटकहरु आउने क्रम जारी छ ।

लुक्ला विमानस्थलका प्रमुख इमानाथ अधिकारीका अनुसार बिहीबार रातीसम्म लुक्लामा १३६ जना विदेशी पर्यटकहरु आएर बसेका छन् । अहिले त्यस क्षेत्रमा कति पर्यटकहरु छन् भन्ने यकिन जानकारी नआएको उनले बताए ।

लुक्लामा रहेका पर्यटकहरु अहिले होटलमा बसिरहेका छन् । ती पर्यटकहरुलाई उद्धार नभएसम्म होटलमै राखिने र यदी खर्च सकिएर भोकै हुने अवस्था आएमा त्यहाँको गाउँपालिकाले खानाको व्यवस्था गरिदिने र होटलले कोठा निःशुल्क दिने तयारी गरेको छ ।

टान पोखराका अध्यक्ष हरि भुजेलले पोखरामा मात्र करिब १५० भन्दा बढि पर्यटकहरु अलपत्र परेको जानकारी दिए ।
अहिले हिमाली भेगबाट पर्यटक अलपत्रमा पर्ने भयो भन्ने विषयमा खबर आइरहेको उनले बताए ।

अहिले जोमसोमबाट ३५ जना र मुक्तिनाथबाट ३५ जना पर्यटकहरुलाई त्यहाँको जिल्ला प्रशासनले गाडीको व्यवस्था गरेर काठमाडौं पठाइसकेको जानकारी प्राप्त भएको भुजेलले जानकारी दिए ।

अन्नपूर्ण क्षेत्रमा २०/२५ जना पर्यटकहरु रहेको र तीनिहरुलाई पोखरामा ल्याएर काठमाडौं पठाउने उनले जानकारी दिए ।

अलपत्र परेका पर्यटकहरुलाई उद्धारका लागिअहिले पोखराको प्रमुख जिल्ला अधिकारीसँग पर्यटन व्यवसायीहरुले छलफल गर्न लागेको उनले बताए ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी पर्यटन बाट थप

Top