काठमाडौं । हिमालयन बैंकमा बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी ग्रुप) को प्रवेश अनिश्चित भएको छ । विश्वव्यापी कोरोना भाइरसको संक्रमण बढेपछि हिमालयनमा सीडीसीको प्रवेश तत्कालका लागि टरेको छ ।
पाकिस्तानको हबिव बैंकले सीडीसीलाई २० प्रतिशत स्वामत्वि बिक्रीको काम अन्तिम चरणमा पुगेको छ । हविवले हिमालयनमा २७ वर्ष लामो यात्राको अन्त्य गर्दै छ ।
कोरोनाका कारण हविव बैंकका प्रतिनिधि नेपालमा आउन नसकेपछि गत सोमबार भिडियो कन्फरेन्सबाट सञ्चालक समितिको बैठक गरिएको थियो । कोरोनाका कारण तत्काल सीडीसी आउन नसक्ने अवस्था आएको हिमालयनका अध्यक्ष तुलसी गौतमले बताए ।
उनले महामारी सकिएपछि प्रक्रिया अघि बढ्ने जानकारी दिए । सञ्चालक समिति बैठकले अशोकशम्शेर राणालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरन्तरता दिएको छ । सीडीसीलाई ल्याउनका लागि उनलाई निरन्तरता दिइएको बुझिएको छ ।
हिमालयन बैंकको चलअचल सम्पत्ति दायित्व मूल्याँकन (डीडीए) को काम सकिएको छ । हबिवले सीडीसीसँग प्रतिकित्ता २.५२ अमेरिकी डलर अर्थात हालको प्रचलित मूल्यअनुसार २८० रुपैयाँमा खरिदबिक्रीको सहमति गरिसकेको छ । यो खरिदबिक्री दर भने सार्वजनिक गरिएको छैन ।
हिमालयनले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । हिमालयनले गत आर्थिक वर्षमा २ अर्ब ८४ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
बोनस सेयर वितरणपछि हिमालयनको चुक्तापुँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार ६०० रुपैयाँ छ । हिमालयनमा हबिबको १ करोड ८७ लाख ४४ हजार ५६३ कित्ता सेयर पुगेको छ । प्रतिकित्ता २८० रुपैयाँलाई मान्दा सीडीसीले लिने २० प्रतिशत स्वामित्वको मूल्य ४ अर्ब ७७ करोड १३ लाख ४३ हजार रुपैयाँ हुनेछ ।
वेलायतको सीडीसीले हबिवको संस्थापक स्वामित्व खरिद गरेर औपचारिक रुपमा नेपालको वित्तीय क्षेत्रमा प्रवेश गर्न लागेको हो । सीडीसीले कोरियन र नेपाली लगानीमा निर्माण हुन लागेको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा ५ करोड डलर अर्थात ५ अर्ब रुपैयाँ ऋण लगानी गर्नका लागि सहमति जनाएको छ ।
यस्तै वल्र्ड लिंक कम्युनिकेसनमामा सीडीसीले १ अर्ब १२ करोड रुपैयाँ लगानी गरेको छ । सीडीसीले एनएमबी बैंकलाई १ अर्ब ५० करोड रुपैयाँ ऋण दिइसकेको छ । सीडीसी बेलायत सरकारको पूर्ण स्वामित्वको बैंक हो ।