काठमाडौं। समस्याग्रस्त १९ सहकारीको कर्जा असुलीका लागि असारसम्मको समयावधि दिइएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सूचना प्रकाशित गरी समस्याग्रस्त सहकारी संस्थाका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई ऋण तिर्न असार मसान्तसम्मको समयसीमा दिएको हो।
तोकिएको म्यादभित्र दायित्व राफसाफ नगरे समस्याग्रस्त घोषणा मितिदेखि असुलीको दिनसम्मको साँवा, ब्याज, हर्जानासमेत ऋणमा गणना गरिने समितिको सूचनामा उल्लेख छ। आउँदो साउन १ देखि असुली थालिनेछ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका निम्ति चिठ्ठी लेखेपछि ऋण असुली प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ।
पटक–पटक सार्वजनिक सूचना प्रकाशन गर्दासमेत दायित्व भुक्तानी नगरिएकाले अन्तिम पटक सूचना प्रकाशन गरिएको समितिको सूचनामा उल्लेख छ।
सरकारले ओरेन्टल को–अपरेटिभ, गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी, स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट को–अपरेटिभ, प्रभु बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ।
यस्तै, नेपाल सहकारी वित्तीय संस्था, लुनिभा बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, सोसाइटल बहुउद्देश्यीय सहकारी संस्था, भेगास बचत तथा ऋण सहकारी संस्था, तुलसी बहुमुखी सहकारी संस्था, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था, कन्जुमर बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्तमा परेका छन्।
कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले समस्याग्रस्त सहकारी घोषणा गरेर कारबाही अगाडि बढाएको छ।