काठमाडौं । बैंकहरुबाट प्रवाह भएका सबै किसिमका कर्जाले नेपाल राष्ट्र बैंकले ल्याएको सुविधा पाउने भएका छन । राष्ट्र बैंकले ल्याएको निर्देशनमा केही अस्पष्टता भएपछि नेपाल बैंकर्स संघले सबै किसिमका कर्जाले आगामी असारसम्म किस्ता तिर्नका लागि सुविधा पाएको स्पष्ट पारेको छ ।
संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवनकुमार दाहालले उद्योगी व्यवसायीलगायत कर्जा लिने सबैले किस्ता तिर्ने समय असारसम्म पाएको जानकारी दिए । किस्ता समयमा नितिरे पनि जरिवाना नलाग्ने उनले स्पष्टपारे । यस्तै चैतमा किस्ता बुझाउने सबैले १० प्रतिशत ब्याज छुट पाउने दाहालले बताए ।
‘केही कुरा अस्पष्टता आएपछि मैले सबै ऋणी तथा बैंकरहरुलाई संघ मार्फत स्पष्ट पारेको छु’ उनले क्यापिटल नेपालसंग भने ‘१ वर्षसम्म अवधिको कर्जालाई २ महिना अर्थात जेठ मसान्तसम्म र दीर्धकालिन कर्जा (टर्मलोन) को किस्ता अवधि असारसम्म हो ।’
मासिक र त्रैमाशिक रुपमा ब्याज भुक्तानी गर्ने सबैले पनि असारसम्मको सुविधा पाउने उनले स्पष्टपारे । सबै किसिमको चालुपुँजी कर्जाले ६० दिनसम्म किस्ता बुझाउन समय पाएको उनले स्पष्टपारे ।
राष्ट्र बैंकले जारी गरेको निर्देशनको बुँदा नम्बर ५ मा २०७६ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थालाई बुझाउनुपर्ने मासिक, त्रैमासिक किस्ताको (क्रेडिट कार्डको समेत) भुक्तानी २०७७ असार मसान्तसम्ममा हुनुपर्ने व्यवस्था मिलाउनुपर्ने छ । सो किस्ताको हकमा कुनै किसिमका हर्जाना लाग्ने छैन भन्ने उल्लेख छ ।
कोरोना भाइरसका कारण उद्योग व्यवसाय र वित्तीय क्षेत्र नकरात्मक प्रभाव पारेपछि यसलाई उद्धार गर्न केन्द्रीय बैंकले राहातको योजना ल्याएको हो । सरकारले लकडाउन गरेपछि उद्योग व्यवसाय ठप्प भएका छन ।
उद्योगी व्यवसायीहरुले राहातको प्याकेज दिन सरकारसंग माग गेरका थिए । राष्ट्र बैंकले चैत १६ गते जारी गरेको निर्देशनले उद्योगी व्यवसायी र बैंकरलाई सहुलियत सहितको योजना सार्वजनिक गरेको थियो ।