काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बन्दाबन्दी (लकडाउन) लम्बिँदै गएकाले असारपछि ऋणको किस्ता तिर्ने समय थप्ने संकेत गरेका छन ।
असारमा कर्जाको पुनरतालिकाकरणलगायत अर्थतन्त्रमा परेका सबै विषय अध्ययन गरेर किस्ता तिर्ने समय थप्ने तयारी भइरहेको उनले जानकारी गराएका हुन । लकडाउनले गर्दा व्यवसाय खुल्न नसकेको भन्दै उनले ऋणीहरुलाई कर्जा तिर्नका लागि केही ग्रेस पिरियड र मोराटरियम आवश्यक देखिएको बताए ।
उनले केन्द्रीय बैंकले यसतर्फ ध्यान दिने बताएका छन । राष्ट्र बैंक देखिएका सबै समस्या समधान गर्न तयार रहेको बताए । जुन कुरा गरेर समस्या समधान हुन्छ त्यसमा केन्द्रीय बैंकले प्रयास गर्ने उनले स्पष्टपारे ।
नेपाल उद्योग परिसंघले सोमबार आयोजना गरेको भिडियो कन्फरेन्समा बोल्दै गभर्नर अधिकारीले केन्द्रीय बैंकले कर्जा सस्तो बनाउन निक्षेपको ब्याजदर घटाएको जानकारी दिए । निक्षेपको ब्याजदर कम भएपछि आधारदर घटन गई ब्याजदर सस्तो हुने उनको भनाई छ ।
‘उद्योगी व्यवसायीलाई असफल गराएर बैंक चल्दैन, बैंक असफल भएर उद्योग व्यवसाय पनि चल्दैन’ उनले भने ‘खर्चलाई कसरी व्यवस्थापन गर्ने ? अहिलेको समय भनेको एक आपसमा समझदारी भएर नियामक लचक भएको छ ।’ अहिलेको समस्यासंग जुध्न राष्ट्र बैंकले सबैखाले उपकरण प्रयोग गर्न अभ्यास गरिरहेको उनले जानकारी दिए ।
सो अवसरमा परिसंघका उपाध्यक्ष अनुज अग्रवालले कार्यपत्र प्रस्तुत गर्दै संकटको बेलामा उद्योग व्यवसायलाई अघि बढाउन ब्याजदर कम हुने पर्ने बताए । उनले ब्याजदर घट्दा कर्जाको माग बढ्ने र यसले अन्तत अर्थतन्त्र विस्तारमा सघाउ पुग्ने विचार व्यक्त गरे ।
आधारदर २ प्रतिशत घटाउने प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी) ८० बाट ८५, वैधानिक तरलता अनुपात १० बाट ८ प्रतिशत कायम गर्नुपर्ने सुझाव राष्ट्र बैंकलाई दिएका छन । घाटामा गएका उद्योगलाई बचाउन ५ प्रतिशत ब्याजमा पुनरकर्जा सुविधा दिन उनले राष्ट्र बैंकको ध्यानकर्षण गराएका थिए ।
कारोना महामारीले धेरै उद्योगहरु नोक्सानमा जाने भएकाले पुनरकर्जा कोषको सीमा अझ बढाउनुपर्ने उनको सुझाव थियो । उद्योग व्यवसाय क्षेत्रलाई कर्जाको ब्याज घटाउने, पुनरतालिकीकरण र पुनरसंरचान आवश्यक भएको अग्रवालले औल्याएका थिए ।