काठमाडौं । सरकारले पूर्व पश्चिम विद्युतीय रेलमार्ग अन्र्तगत सुनसरी इनरुवादेखि झापाको काँकडभिट्टासम्मको रेल निर्माणको काम सुरु गर्ने भएको छ । सरकारले नीति तथा कार्यक्रममा विद्युतीय रेल योजनालाई राखेपछि रेल विभागले निर्माण थाल्ने जनाएको छ ।
कोरोना भाइरस महामारीका कारण मुलुक बन्दाबन्दी (लकडाउन) मा गएपछि त्यसखण्ड निर्माणको ठेक्का अघि बढ्न सकेको छैन् । लकडाउन सकिएपछि लगत्तै टेन्डर गरी सो खण्डको काम सुरु गर्ने रेल विभागको तयारी छ ।
‘अहिले नीति तथा कार्यक्रममा आएको इनरुवादेखि काँकडभिट्टासम्मको १०६ किलोमिटर लामो मार्गको काम अघि बढाउने क्रममा छौं । लकडाउनले कति दिन लम्ब्याउछ, ढिलै भएपनि आगामी आर्थिक बर्षमा त्यो निर्माणमा जान्छ ।’ विभागका महानिर्देशक बलराम मिश्रले क्यापिटल नेपालसँग भने ।
स्थिति अनुकुल नहुँदा टेन्डर प्रक्रियाको योजनामा ढिलाइ भएको मिश्र बताउँछन् । रेलमार्ग बनाउन ९० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
झन्डै १०६ किलोमिटर लामो उक्त रेलमार्ग नेपालको पूर्वीखण्ड काँकडभिट्टाबाट काम सुरु हुने छ । ४ बर्षअघि सो रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनिसकेको थियो ।
सो खण्डकोे डीपीआर कोरियन कम्पनीले निर्माण गरेर रेल विभागलाइ यसअघि नै बुझाइसकेको छ । डीपीआर बनेको लामो समय हुँदासम्म पनि रेल निर्माणको काम सुरु हुन सकेको थिएन् । खासगरी वित्तीय लगानी तथा स्रोत सुनिश्चितता हुन नसक्दा परियोजना अघि बढाउन नसकिएको रेल विभागले जनाएको छ ।
विभागका अनुसार, आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा सो रेलमार्गका लागि सरकारले बजेट छुट्याउने जानकारी दिएको छ । त्यसपछि रेलमार्गको पूर्वीखण्ड काँकडभिट्टाबाट निर्माण सुरु गर्ने विभागको लक्ष्य छ ।
सो रेलमार्ग खण्ड ३ बर्षमा सम्पन्न गर्न सरकारको तयारी छ । सरकारले अहिले पूर्व पश्चिम विद्युतीय रेलमार्गको सम्पूर्ण खण्डको डीपीआर तयार गरिसकेको छ ।
राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको पूर्व पश्चिम विद्युतीय रेलमार्गको लम्बाइ ९४५ किलोमिटर छ । जसमध्ये महोत्तरीको बर्दिबासदेखि सर्लाहीको लालबन्दीसम्मको झन्डै ३५ किलोमिटरमा रेलमार्गको ट्रयाकवेल्ड तयार भइसकेको छ । बाँकी खण्डमा काम भइरहेको छ । केही बन तथा निकुञ्ज क्षेत्रमा रेलमार्ग निर्माण सुरु गर्न समस्या देखिएका छन् ।