काठमाडौं । आगामी आर्थिक वर्ष राजस्व संकलनमा गम्भीर चाप पर्ने देखिएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले विलासी वस्तुमा लगाउँदै आएको भन्सार दरलाई वृद्धि गर्ने देखिएको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार कुन कुन वस्तुमा थप भन्सार बढाउन सकिन्छ भन्ने बारेमा बजेट निर्माणमा जुटेको टिमले अध्ययन गरिरहेको छ ।
‘सरकारलाई आगमी आर्थिक वर्ष स्रोत व्यवस्थापन गर्न निकै चुनौति देखिएपछि नेपाल भित्रिने विलासी वस्तुमाथि भन्सार थप्ने मनस्थितिमा अर्थमन्त्री देखिनु हुन्छ,’ अर्थका एक अधिकृतले भने, ‘अहिले बजेट निर्माणमा जुटेको टिमले त्यस्ता वस्तुको पहिचान गरिरहेको छ । अहिले कुन कुन वस्तुमा कति भन्सार लिइरहेको छ । अब ती वस्तुमा कति भन्सार बढाउन सकिन्छ भन्नेमा अध्ययन भइरहेको छ ।’
स्रोतका अनुसार गाडी, विद्युतीय गाडी, सुन, इलेक्ट्रोनिक्स आइटमलगायतमा भन्सार बढाउने मनस्थितिमा अर्थमन्त्री खतिवडा पुगेका छन । अर्थमन्त्री खतिवडा खर्च कटौतीमा निर्मम हुन नसक्ने अवस्था आएपछि भन्सार बढाउने मनस्थितिमा पुगेको अर्थ स्रोतले जानकारी दिएको छ ।
सार्वजनिक खर्च पुनरावलोकन आयोगले दिएको सुझावलाई अहिले नै अक्षरस पालना गर्न नसकिने भएपछि खतिवडाको आखा राजस्वतिर अघि बढेको देखिएको छ । आयोगले ४ खर्ब रुपैयाँ खर्च कटौती गर्न सकिने सुझाव सरकारलाई दिएको थियो ।
आर्थिक गतिविधि ठप्प, आयातमा कमी र रेमिट्यान्स आप्रवाहमा पनि संकुचन आउन थालिसकेकाले आगामी वर्ष राजस्व धेरै कम हुने भएकाले स्रोत जुटाउने विभिन्न उपाय खोज्दा राजस्व बढाउनेतिर अर्थमन्त्री खतिवडाको ध्यान गएको ती अधिकारीले जानकारी दिए । आगामी वर्ष ८ देखि ९ खर्ब रुपैयाँ भन्दा बढी राजस्व उठ्ने सम्भावना छैन । यो वर्ष २० प्रतिशत राजश्व संकलनको लक्ष्य राख्ने अनुमान गरिएको छ ।
राजस्वपछिको अर्को स्रोत आन्तरिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बढीमा ५ प्रतिशत उठाउने हो भने २५० अर्ब रुपैयाँसम्म हुन्छ । वैदेशिक ऋण २९९ अर्ब पोहोर कल्पना गरिएको थियो, अहिले संशोधन गरेर २१० अर्ब रुपैयाँमा झारिएको छ । आउँदो वर्षलाई पनि भनेअनुसार वैदेशिक ऋण नआउने देखेपछि अर्थमन्त्रीले राजस्वमै आँखा लगाएको अर्थका अधिकारी बताउँछन् ।
चालु आर्थिक वर्षका फागुनसम्म राजश्व संकलन वृद्धि १२ प्रतिशत मात्र थियो । कोरोना भाइरस महामारीले रोक्न मुलक बन्दाबन्दी (लकडाउन) मा गएपछि राजश्व संकलन प्राय ठप्प छ ।